‘पाका जेनजी’ को तमासा- जंगीअड्डा बाहिर ब्याण्डेज हातले कुटे, रिपोटर्स क्लबमा कुटिए

काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङले जेनजी आन्दोलनका सहिद परिवारसँगै उभिएर आयोजना गरेको पत्रकार सम्मेलनमा रडाको भएको छ । रिपोर्टस् क्लबमा आएको पत्रकार सम्मेलनमा होहल्ला मात्र होइन, कुटपिट समेत भयो ।

गुरुङ बोल्दाबोल्दै बाहिरबाट घुसपैठ गरेका केही व्यक्ति प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको मुद्दा छोडेकोदेखि संसद विघटनसम्मको विषयलाई लिएर उत्तेजितरुपमा प्रस्तुत भएका थिए । गुरुङ पनि आवेशमा चिच्याए । पत्रकार सम्मेलन भाँडियो । गुरुङले पोडियम छाडे ।

तर, प्रेस मिट सकिए पनि लफडा भने सकिएन, बरु झन् चर्कियो । भित्र कोलाहलपूर्ण बनेको स्थिति बाहिर झनै असामान्य बनेर गयो । लामो कपाल पालेका एक व्यक्तिलाई पार्टीको झोले भन्दै आक्रमण हुन थाल्यो । उनलाई युवाहरुले लछारपछार गर्दै भकुरे । उनी भूइँमा भक्लक्कै ढले ।

केही युट्युबर पनि मिसिएर ती व्यक्तिमाथि कुटपिट भइरहेको सार्वजनिक भएका भिडिओमा देखिन्छ । ती लामो कपालधारीले पनि प्रतिकार गर्न खोजे । तर, भिडसँग नसकेपछि भागे ।

यसरी कुटाइ खाने व्यक्तिको नाम प्रेम लामा रहेको खुलेको छ । उनी कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौंको स्थायी बासिन्दा हुन् । आरआर क्याम्पसमा पढेका उनी अहिले पनि आरआरतिरै भेटिने गरेका छन् । एमाले निकट लामा अखिलका विद्यार्थी नेताहरुसँग हिँड्ने गर्छन । एमाले महासचिव शंकर पोखरेलसँग लामाले खिचेको फोटो पनि अहिले सामाजिक संजालमा भेटिन्छन् ।

जेन जीको आन्दोलनमा उनी सुरुवातदेखि नै देखिएका थिए । आन्दोलनकै क्रममा हातमा चोट लागेको लामाको दाबी छ । हातमा ब्यान्डेज पनि लगाएका छन् । ब्याण्डेज लगाएरै उनी जंगीअड्डा अघि पनि पुगेका थिए ।

जतिवेला जेन जीका प्रतिनिधिहरुसँग नेपाल आर्मीले छलफल गरिरहेको थियो । जंगी अड्डाबाहिर भने ठूलो भिड तैनाथ हुने गरेको थियो । जुन भिडमा लामा पनि सहभागी हुने गरेका थिए ।

त्यसवेलाका भिडियोहरुमा उनी देखिएका छन् । एउटा भिडियोमा उनले जेन जीका प्रतिनिधिहरुलाई प्रश्न गरिरहेका छन् । जेन जीले वास्तविक जेनजी नभएको बताएपछि लामा बम्किँदै सोध्छन्, ‘तैंले पाल्छस् मलाई ? तँ जेनजी होइन ? मलाई जिन्दगीभरि पालेर देखा !’

लामा यतिमै रोकिँदैनन् । उनी थप प्रश्न गर्छन्, ‘आन्दोलनमा बुढापाकाहरु मरेका छन् । आइमाइहरु मरेका छन् । तैंले भनेर हुन्छ ? धेरै नबोल्, अहिले पड्काइदिन्छु । जिन्दगीभर गोली बोकेर बस्ने म हो । अहिले पनि मेरो औंला चल्दैन । तैंले मलाई पाल्छस् ?’

यसपछि यिनै प्रेम लामाको अर्को भिडियो पनि सार्वजनिक भएको छ । चार दिनअघिको भिडियोमा प्रेम लामाले त्यही ब्याण्डेज गरिएको हातले एक जेनजी युवालाई भ्वाक्क मुक्काले हान्छन् । अनि ती युवालाई लखेट्छन् ।

जेनजीलाई पिट्ने तिनै घाइते प्रेम लामाले आज रिपोर्टस् क्लब बाहिर पिटाइ खाएका हुन् । लामा जेन जीको प्रतिनिधि बनेका सुधन गुरुङलाई डिस्टर्व गर्न उनी रिपोर्टस् क्लबमा पुगेको बुझिएको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *