काठमाडौं । जेन–जी आन्दोलनपछि अन्तरिम सरकार गठन भएसँगै मुलुक सामान्यतर्फ फर्कँदै गएको छ । यस क्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सुशासनयुक्त नवनेपाल निर्माणमा सरकारसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
सिबिफिनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अत्यासलाग्दो मानवीय एवं भौतिक क्षतिका बाबजुद सुशासनयुक्त नवनेपाल निर्माणको नयाँ चरणमा प्रवेशका लागि स्पष्ट सन्देश दिएको र प्रस्थान विन्दु बनेको यस आन्दोलनको जगमा उभिएर युवा पुस्ताको आवाज र आकांक्षाहरुलाई प्रतिनिधित्व गरेर नवगठित सरकारसँग हातेमालो गर्दै शान्त, सुशासित एवं समुन्नत राष्ट्र निर्माणको अभियानमा एकाकार भई अगाडी बढ्न बैंक तथा वित्तीय क्षेत्र र यस क्षेत्रको छाता संस्था सिबिफिन सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’
अकल्पनीय आक्रमण र क्षतिबाट विक्षिप्त बनेको निजी क्षेत्रलाई शान्ति र सुरक्षाको प्रत्याभूतिसहित मुलुकभित्रै लगानी गर्ने, पेशा, व्यवसाय एवं रोजगार गर्न पाउने उपयुक्त नीति एवं वातावरणको सृजना गरी समग्र निजी क्षेत्रमा आशा, ऊर्जा एवं उत्साह भर्नका लागि नवगठित नेपाल सरकारले कुनै कसर बाँकी नराख्न समेत सिबिफिनले माग गरेको छ ।
गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पुर्याउने तत्त्वहरूसँग सजग हुँदै अर्थतन्त्रको आधार स्तम्भ र दिगो आर्थिक विकासको संवाहकको रूपमा रहेका सबल र जिम्मेवार बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना बैंकिङ सेवाहरू सहजरूपमा संचालन गर्ने गराउने कार्यमा सहयोग गरिदिन समेत सिबिफिन अनुरोध गरेको छ ।
विगतको महाभूकम्प एवं कोरोनाकालको जर्जर अवस्थाबाट तङ्ग्रिँदै गरेको थियो । अर्थतन्त्रले गति लिँदै गर्दाको आन्दोलनको क्रममा भएको मानवीय र निहित स्वार्थ प्रेरित आक्रमणबाट देशैभरि सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपूरणीय क्षतिप्रति सिबिफिनले दुःख प्रकट गरेको छ ।
Leave a Reply