चलमलाउन थाल्यो चलचित्र क्षेत्र, ‘जारी २’ पछि हटेपछि असोज ३ मा ‘अभिमन्यु’ आउन सक्ने

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन जीहरुको आन्दोलनका कारण ठप्प भएको चलचित्र क्षेत्रले चलमलाउन सुरु गरेको छ । आज मात्रै चलचित्र संघ र वितरकबीच बसेको बैठकले भोलिबाट हलहरु पुनः सुचारु गर्ने निर्णय गर्यो । चलचित्र संघको यो निर्णय चलचित्र क्षेत्र पुरानै लयमा फर्किन सुरु गरेको संकेत पनि हो ।

आन्दोलनका कारण बन्द भएका चलचित्र हलहरु अब भोलिबाट खुल्नेछन् । हलहरु खुल्ने भएपछि प्रदर्शन मिति तय गरिएका चलचित्रका निर्माण टिमले प्रसारप्रसार सुरु गर्ने तयारी गरेका छन् । ‘माइतीघर’, ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’जस्ता ठूला बजेटका चलचित्रहरु निर्धारित मिति फूलपातिमै प्रदर्शन हुने भएका छन् ।

‘माइतीघर’का निर्माता रोहित अधिकारीले फूलपातिभन्दा तलमाथि नहुने बताए । उनले भने, ‘यो बीचमा हामीले निकै विषम परिस्थितिको सामना गर्नुपर्यो । हामी सबै चलचित्रकर्मी जेन जीको आन्दोलनमा होमियौं । ऐतिहासिक परिवर्तन पनि भयो । अब भने हामी आ–आफ्नै पेशामा फर्किनुको विकल्प छैन । हाम्रो चलचित्र ‘माइतीघर’ निर्धारित मितिभन्दा तलमाथि हुँदैन ।’

यही हप्ता नै चलचित्रको ट्रृेलर पनि सार्वजनिक गर्ने तयारीमा रहेको रोहितले बताए । त्यस्तै फुलपातिमै प्रदर्शन हुने चलचित्र ‘बलिदान’का निर्माता तथा निर्देशक सन्तोष सेनले पनि अब प्रचारप्रसारमा लाग्ने तयारीमा रहेको बताए । उनले भने, ‘देशमा ठूलो परिवर्तन भयो । अब अन्यायमा परेकालाई न्याय दिने, देश बनाउने काममा सरकार लाग्नुपर्छ । व्यापार व्यवसाय गर्नेहरु पनि अब मैदानमा उत्रनैपर्यो । एक्येबद्धता जनाउँदै हामी पनि आन्दोलनमा होमियौं । अब चाहिँ हामी सबै आ–आफ्नो पेशामा फर्किँदै हामीले ‘बलिदान’लाई फुलपातिमै प्रदर्शन गर्ने निर्णय गरेका छौं ।’

भोलिसम्ममा चलचित्रको शीर्ष गीत सार्वजनिक गर्दै दुईचार दिनभित्र ट्रेलर समेत सार्वजनिक गर्ने सेनले बताए । फुलपातिमै प्रदर्शनमा आउने चलचित्र ‘हरिबहादुरको जुत्ता’को निर्माण टिम भने हाम्रो सम्पर्कमा आएनन् । यो चलचित्र निर्धारित मितिमै प्रदर्शन हुन्छ या हुँदैन, आधिकारिक रुपमा निर्माण पक्षले जानकारी दिएको छैन ।

अर्कातिर यही भदौ २७ गते प्रदर्शन मिति तय गरिएको चलचित्र ‘अभिमन्यु’ जेन जीको आन्दोलनका कारण रोकियो भने असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शन मिति तय गरिएको ‘जारी २’ निर्धारित मितिमा प्रदर्शन हुने भएको छ । निर्देशक उपेन्द्र सुब्बाका कारण देशको माहौलका कारण ‘जारी २’को प्रदर्शन पछाडि धकेलिएको हो । यो चलचित्र अब कहिले प्रदर्शन गर्ने भन्नेबारे छलफल भइरहेको सुब्बाले बताए ।

‘जारी २’ पछाडि हटेपछि ‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्माता विनोद पौडेलले ‘अभिमन्यु’लाई असोज ३ मा प्रदर्शन गर्ने गृहकार्य अगाडि बढाएका छन् । उनले भने, ‘मैले २०/२५ लाख रुपैयाँ प्रचारप्रसारमा खर्च गरिसकेको छु । हाम्रो चलचित्र तयारी अवस्थामा छ । अब ढिला गर्नुहुन्न ।’

उनले थप भने, ‘असोज ३ मा चलचित्र प्रदर्शन गर्नेबारे सोचिरहेको छु । तर, देशमा यति ठूलो आन्दोलन भएको छ । यति धेरै भाइबहिनीले शहादत प्राप्त गर्नुभएको छ । यस्तो अवस्थामा चलचित्र प्रदर्शन गर्दा दर्शकहरुले के भन्नुहोला भन्ने ठूलो डर छ । यद्यपि म बलिको बाख्रा हुन चाहिँ तयार छु ।’

यदि असोज ३ मा चलचित्र प्रदर्शन नभएको खण्डमा विजयदशमीको दिन नै ‘अभिमन्यु’ प्रदर्शन गर्ने मनस्थितिमा छन् पौडेल । दशैंभन्दा पछाडि चाहिँ नलैजाने सुरमा छन् ।

जे होस्, जेन जीको आन्दोलनले रोकिएको चलचित्र क्षेत्र पुनः सुचारु हुने तरखरमा देखिन्छ । आन्दोलनका क्रममा चलचित्र हलहरुमा १७ करोडको क्षति भएको चलचित्र संघले बताएको थियो । विराटनगरस्थित भाटभटेनीको क्युएफएक्समा पूर्णतया क्षतिग्रस्त भएपछि त्यहाँ मात्रै १५ करोडको क्षति भएको थियो । त्यस्तै गोंगबुस्थिति ल्होत्से मलको भूइँतलामा रहेको आईएनआई मल्टिप्लेक्सको टिकट काउन्टरको बुथमा आगजनी र तोडफोड भएको थियो ।

तर, आन्दोलनमा भने सिंगो चलचित्र क्षेत्रले नै एक्येबद्धता जनाएको थियो । कतिपय चलचित्रकर्मी मैदानमा उत्रिएर आन्दोलनमा सहभागी भएका थिए भने कतिपयले नैतिक समर्थन जनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *