दशैंका लागि सुकिला नोट साट्न सुरु, छैन सर्वसाधारणमा उत्साह (तस्बिरहरु)

काठमाडौं । नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाहरूले आइतबारदेखि नयाँ नोट सटही शुरु गरेका छन् । नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै सुकिला नोट सटही शुरु गरिएको हो ।

राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले राष्ट्र बैंक लगायत बैंक तथा वित्तीय संस्थाहरूले आजदेखि सुकिला नोट सटहीको सुविधा उपलब्ध गराएको जानकारी दिए ।

उनले नेपालप्रेससँग भने, ‘दशैंलाई लक्षित गर्दै हामीले आजदेखि सर्वसाधारणलाई सुकिला नोट सटहीको सुविधा उपलब्ध गराएका छौँ । राष्ट्र बैंकसहित बैंकहरुले तोकेको कार्यालयमा गएर नोट साट्न सकिन्छ ।’

बैंकहरूले गत वर्षदेखि नयाँ नोट सटही गरेका छैनन् । गत वर्षको दशैंमा पनि सुकिला नोट मात्रै सटही गरिएको थियो । यस पटक पनि सुकिला नोट सटहीको व्यवस्था गरिएको हो ।

दशैंका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले नोट सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।

आजदेखि सुकिला नोट सटहीको सुविधा उपलब्ध गराएका बैंकहरुले असोज १० गतेसम्म सटही सुविधा उपलब्ध गराउने भएका छन् । तर, नयाँ नोट सहटी शुरु गरिएको पहिलो दिन भने सर्वसाधारणमा खासै उत्साह देखिएको छैन ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीमा फाट्टफुट्ट सर्वसाधारण मात्रै नोट सटहीका लागि पुगेका छन् । यसअघिका वर्षहरूमा भने पहिलो दिन नै सर्वसाधारणको भिड लाग्ने गरेको थियो । यस वर्ष भने आन्दोलनका कारण नोट सहटी गर्न सर्वसाधारणको आकर्षण घटेको हुनसक्ने सूचना अधिकारी सुमन न्यौपानेले बताए ।

‘आन्दोलनका कारण नोट सटहीमा सर्वसाधारणले कम चासो देखाएका हुन् की जस्तो देखिन्छ’, उनले भने, ‘आज पहिलो दिन पनि हो । भोलिदेखि बढ्न पनि सक्छन् ।’

उनका अनुसार बैंकहरुले प्रतिव्यक्ति ५ रुपैयाँदेखि एक सय रुपैयाँ दरसम्मका सुकिला नोट प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिएको छ । जसमा ५ रुपैयाँ दरका नोट भने नयाँ दिइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *