काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज आफ्नो मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना झिनो देखिएको छ । अहिलेसम्म शीतल निवासमा मन्त्रीहरूलाई शपथ खुवाउने कुनै पनि सुरसार छैन ।
प्रधानमन्त्री कार्की बहालीलगत्तै विभिन्न प्रशासनिक काममा व्यस्त रहेको तथा उनले मन्त्रीहरूको नियुक्तबारे कुनै सोधखोज नगरेको स्रोतले बतायो ।
‘आज मन्त्रीपरिषद विस्तारको सम्भावना क्षीण छ,’ स्रोतले भन्यो ।
प्रधानमन्त्री कार्यालय स्रोतको भनाइलाई राष्ट्रपतिको सचिवालयले पनि पुष्टि गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीकाले आज यतिबेलै प्रधानमन्त्रीले मन्त्रीहरुको नाम सिफारिस गर्दा पनि शपथको सम्भावना नरहेको बताए । त्यसमाथि सिफारिस नै आएको छैन ।
मन्त्रीहरुको शपथ गराउने हल आगलागीले ध्वस्त छ । पानी पर्ने मौसम भएका कारण टेन्ट टाँग्दा पनि समस्या हुने स्थिति छ । राष्ट्रपति कार्यालयका विभिन्न कोठामध्ये कतै शपथ हुन त सक्ने भए पनि तयारीको लागि समय चाहिने कार्की बताउँछन् ।
‘प्रधानमन्त्रीज्यूले नाम पठाइहाल्नु भएछ भने पनि आजको आजै शपथ गराउने स्थिति छैन’, उनले भने ।
राष्ट्रपति कार्यालयजत्तिकै बिजोग छ, सिंहदरबारमा । शपथ लिएपछि मन्त्रालयमा बहाली हुनुपर्ने सबै मन्त्रीका कार्यालय दुरुस्त छैनन् । आगलागी नभएका मन्त्रालयमा पनि केही न केही क्षति भएको छ । सबै जनशक्तिलाई नवनिर्मित गृह मन्त्रालयको भवनमा प्रधानमन्त्री कार्यालय स्थापनाका लागि खटाइँदा अन्य मन्त्रालयको सरसफाई हुन सकेको छैन ।
सरसफाई शुरु भए पनि सकिन अझै केही दिन लाग्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
तर, प्रधानमन्त्री एक्लैबाट सबै कार्यसम्पादन सम्भव नहुने कारण केही सीमित संख्यामा भए पनि मन्त्री नियुक्त गर्नुपर्ने दबाब छ ।
स्रोत भन्छ, ‘शायद बेलुकीसम्म २-३ जना भए पनि मन्त्रीको नाम सिफारिस गर्नुहुन्छ कि ?
Leave a Reply