को होला गुप्तचर प्रमुख ? राजनीतिक शून्यतासँगैको अन्यौलता

काठमाडौं । नेपालको एकमात्र गुप्तचरी संगठन राष्ट्रिय अनुसन्धान विभागको नेतृत्व राजनीतिक शून्यताबीच आइतबार खालि हुँदैछ । वर्तमान प्रमुख हुतराज थापा भोलि आइतबारदेखि अनिवार्य अवकाश हुँदैछन् ।

थापाको अवकाशपछि हालका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकहरू टेकेन्द्र कार्की र ओम जोशीबीच प्रमुख नियुक्तिका लागि प्रतिस्पर्धा छ । कार्की जुम्लाका बासिन्दा हुन् । उनीसँग यथेष्ट राजनीति पहुँच छैन । जोशी भने कांग्रेस सभापति शेरबहादुर देउवा र निवर्तमान सरकारका गृह मन्त्री रमेश लेखकका नातेदार हुन् ।

अहिले राजनीतिक अवस्था फेरिएको र सरकारले गर्नुपर्ने अनगिन्ती निर्णयका बीच विभाग प्रमुख को हुन्छ भन्नेमा निश्चित छैन । यद्यपि प्रशासनिक नेतृत्व सन्तुलित र गैरराजनीतिक पृष्ठभूमिको गुप्तचर प्रमुखको पक्षमा रहेको बुझिन्छ ।

विभागको हालको ऐन, नियमावली र कार्यविधिले नयाँ प्रमुख चयनका निम्ति ज्येष्ठतालाई आधार मानेको छैन । कार्यसम्पादन, कार्यक्षमता, प्राज्ञिक स्तरलाई आधार मानेको छ । त्यस आधारमा कार्की अगाडि भएको स्रोतले जनाएको छ ।

अर्थपूर्ण नियुक्ति

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखको नयाँ नियुक्ति दुई कारणले अर्थपूर्ण छ । पहिलो हो, यसभित्र जकडिएर रहेको राजनीति धङधङी अन्त्य नभएसम्म यो एउटा सरकारी अड्डाका नाममा बुख्याचा मात्र बन्छ । अर्को हो, पूर्ववर्ती सरकारले नागरिकका टेलिफोन संवादसहितका वैयक्तिक गोपनीयता संग्रहित गर्ने गरी तयार पारेका उपकरणको कुशलतापूर्वक व्यवस्थापन गर्ने विषय । राज्यले नागरिक अधिकार कुण्ठित गर्नुहुँदैन भन्ने मान्यताका बीच अनुसन्धान विभाग प्रमुखको भूमिका प्रतीक्षित छ ।

स्थापनाकालदेखि नै गृह मन्त्रालयको मातहतमा रहेको उक्त विभाग केपी शर्मा ओलीको दोस्रो प्रधानमन्त्रीकाल (२०७४-२०७८) देखि हालसम्म प्रधानमन्त्री कार्यालयमातहत राखिएको छ । फलतः यसको नियन्त्रण र रेखदेखमा समस्या आउँदा लक्षित उद्देश्य पूरा गर्न सकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *