हेटौँडा । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले मुख्यमन्त्री र सबै मन्त्रीलाई फिर्ता बोलाएको छ ।
जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेश यादवले पार्टी प्रदेश सरकारबाट फिर्ता हुने निर्णयमा पुगेको भन्दै प्रदेश प्रमुखलाई पत्राचार गरेका छन् । उनले सरकारलाई दिइएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री र मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी सहितको पत्र प्रदेश प्रमुख कहाँ पठाएका हुन् ।
यसअघि दिउँसो मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अहिलेको भाँडभैलोमा फेरि सरकार बनाउने र गिराउने खेल हुने भएकाले कुनै ठोस निकास नभएसम्म काम गर्नु पर्ने भएकाले राजीनामा नदिने बताएका थिए । उनले नेपालप्रेससँग भनेका थिए, ‘संसद विघटनसँगै प्रदेश सरकार पनि विघटन भएको छैन, केही सम्बोधन भएन, मैले राजीनामा दिँदा फेरि सरकार बनाउने र भत्काउने खेल हुन्छ, मधेश बनाउनु पर्ने मात्रै होइन, एउटा पनि मन्त्रालयको भवनमा बसेर काम गर्न सक्ने अवस्था नभएकाले पहिलो सरकार चलाउने भवन बनाउनु पर्ने चुनौती छ, म काम गर्न चाहन्छु ।’
उनले आफ्नो फेसबुक पेजमा पनि लामो सन्देश लेख्दै भनेका छन्, ‘जनताको ज्यानभन्दा ठुलो पद होइन, राजीनामाले जनताको जीवन रक्षा र सम्पत्तिको क्षति रोक्न मदत पुग्छ भने सचिवालयमार्फत सामाजिक सञ्जालमा गरिएको राजीनामाको जानकारी सत्य हो नत्र संविधान र सङ्घीयताको रक्षार्थ म हरेक बाटो रोज्न तयार छु, तर सङ्घीयताको आत्मा मधेशलाई नेतृत्वविहीन बनाई अरूको खेल मैदान बनाउन दिने कुनैपनि प्रयास स्वीकार्य हुने छैन ।’
उनले भने ‘सहमतिबाट नयाँ मुख्यमन्त्री चयन गर्ने बेला तत्काल राजीनामा दिन तयार छु र अहिलेलाई सबै मिलेर प्रदेशका संरचना पुनः साविक अवस्थामा फर्काऔँ, अझ मजबुत र जनमुखी बनाऔँ, सङ्घीयताको रक्षा गर्ने बाटो बनाऔँ ।’
Leave a Reply