जेनजी आन्दोलनमा गोली खाएका युवाले प्रधानमन्त्रीसँग राखे प्रदेश खारेजीको माग

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदबहाली गर्नु अगावै आज जेनजी आन्दोलनमा घाइते भएर उपचाररत युवाहरूलाई भेटेकी छन् । देशको नयाँ कार्यकारीलाई आफू अगाडि पाउँदा घाइते युवाहरूको अनुहार उज्यालिएको थियो ।

प्रधानमन्त्री कार्की वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल लगायतमा पुगेर घाइतेहरूलाई हौसला र सान्त्वना दिइन् । ट्रमा सेन्टरमा एक घाइते युवकले बेडबाटै प्रधानमन्त्रीलाई शुभकामना दिए । तर, कार्कीले आफूलाई बधाई नदिन आग्रह गरिन् ।

‘मलाई अहिले कसैले पनि बधाई नदिनुहोला । मेरो कार्यकाल सफल भयो भने बधाई दिँदा हुन्छ,’ उनले भनिन् ।

ट्रमा सेन्टरको ४३१ नम्बर बेडमा रहेका घाइते युवाले भने, ‘जुन जिम्मेवारी पाउनुभएको छ, त्यो पुरा गरेर सुनौला अक्षरले नाम लेखियोस् ।’

कार्कीले जवाफ फर्काइन्, ‘मलाई कसैले बधाई नभनोस् । मेरो कार्यकाल सकिएको भोलिपल्ट मात्रै भनोस् । गर्न सकिएन भने केको बधाई ।’

युवाले ३ करोड नेपालीको आमाको रूपमा लिएको बताए । कार्कीले पनि भनिन्, ‘तपाईँ पनि मेरो एउटा छोरा हो ।’

अर्का घाइते युवाले संघीयता खारेजीका लागि प्रधानमन्त्री कार्कीसँग माग गरे । ती युवाले बेडबाट उठ्न खोज्दै नमस्कार गरेपछि कार्कीले सोधिन् घर कहाँ हो ? युवकले भने सिन्धुपाल्चोक ।

कार्कीले नाम सोधेपछि उनले भने- मदन कार्की ।

‘ए… कुन कार्की ?’ आफू पनि कार्की भएकीले प्रधानमन्त्री जिज्ञासा राखिन् । युवकले भने– सुतार कार्की ।

‘के पढ्ने ?’ प्रधानमन्त्रीको अर्को जिज्ञासा ।

युवाले जवाफ दिए, ‘पढ्दै भन्दा पनि काम गर्दै हो । तर, देशका लागि लडेँ । भोलि देश केही राम्रो होला कि भनेर हो ।’

‘हामीले नसके अब तपाईँहरूले गर्नुपर्छ’ कार्कीले भनिन् ।

युवाले भने- ‘तपाईँले त हामीलाई आमाले जस्तो सल्लाह दिने हो । बाटोमा लगाउने हो । मेरो माग भनेको प्रदेश सरकार खारेज हुनुपर्‍यो । अनि कार्यकारी राष्ट्रप्रमुख हुनुपर्‍यो । ४८ सालदेखि सरकारी पद धारणा गरेकाहरुको सम्पत्ति शुद्धीकरण र राष्ट्रियकरण हुनुपर्‍यो ।

कार्कीले ध्यान दिएर सुने पनि कुनै जवाफ फर्काइनन् । मुन्टो मात्रै हल्लाइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *