ओलीविरुद्ध ज्यानमुद्दा हाल्ने प्रयासमा कांग्रेस नेता साह, जाहेरी बुझाउने ठाउँ नपाएको गुनासो

काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा ज्यान मुद्दाको जाहेरी भाइरल बनिरहेको छ । त्यसमा कपिलवस्तुका कांग्रेस नेता अभिषेकप्रताप साहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ज्यान मुद्दामा जाहेरी लेखेको देखिन्छ । प्रहरीको नयाँ बानेश्वर वृत्तलाई सम्बोधन गरिएको छ ।

गत भदौ २३ गतेको जेनजी आन्दोलनमा प्रहरीको गोली लागि मृत्यु भएको घटनासँग जोडेर तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध यो जाहेरी लेखिएको हो ।

नेपाल प्रेसले यसबारे प्रहरी वृत्त, नयाँ बानेश्वरका डीएसपी हरि खतिवडालाई सोध्यो । उनको जवाफ छ, ‘हाम्रो कार्यालय नै छैन, कहाँ दर्ता गर्नु रु जाहेरी आएको पनि छैन ।’

कांग्रेस नेता साहले जाहेरी आफैँले लेखेको, तर बुझाउने ठाउँ नपाएको बताए । यसबारे नेपाल प्रेसले सोध्दा उनले भने, ‘नयाँ बानेश्वरमा पुलिस अफिस नै रहेनछ, अनि मैले जिल्ला प्रहरी भद्रकालीको इमेल आइडीमा मेल गरेको छु ।’

उनले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत नेपाल सरकार, गृह मन्त्रालयले पाउने गरी पनि पठाएको बताए । ‘मैले होस् हवास र सुझबुझयुक्त रूपमै जाहेरी दिएको हो’, उनले भने ।

अभिषेकप्रताप कांग्रेसका निवर्तमान सांसद हुन् । उनले २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट कपिलवस्तु ३ मा चुनाव जितेका थिए । ७० सालको चुनावमा पनि फोरमबाटै जिते । २०७४ सालमा भने कांग्रेस प्रवेश गरेर फेरि त्यही क्षेत्रबाट जिते । तर, ७९ को चुनावमा भने एमालेसँग हारेका थिए । भारतसँग सीमा जोडिएको कपिलवस्तुको कृष्णनगरमा उनको घर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *