काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले ‘जेन जी’ को शान्तिपूर्ण आन्दोलनलाई नरसंहारमा परिणत गर्नेगरी भएको सरकारी दमनप्रति गहिरो दुःख व्यक्त गर्दै घोर निन्दा गरेको छ । संगठले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै गृह प्रशासनले विद्यार्थीमाथि गरेको निर्मम आक्रमणलाई ‘अवोध सन्तानमाथिको आततायी कदम’ भएको जनाएको हो ।
संगठनका अध्यक्ष सुजन कडरियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै जिम्मेवार निकायको राजीनामा सहित उच्चस्तरीय छानबिन समिति गठन गरी अवोध बालबालिकाको हत्या गर्ने सबैलाई निर्मम कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
अनेरास्ववियुले घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क उपचार सुनिश्चित गर्न माग गरेको छ ।
यस घटनाप्रति विरोधस्वरूप अनेरास्ववियुले आफ्नो झण्डा एक हप्तासम्म झुकाउने निर्णय पनि गरेको छ। साथै विद्यार्थीहरूको पक्षमा निर्बाध रूपमा आन्दोलन गर्ने स्पष्ट सन्देश दिएको छ ।


Leave a Reply