रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी

रुपन्देही । जेनजी पुस्ताका नाममा युवाहरुले प्रदर्शनका क्रममा रुपन्देहीमा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको घर तोेडफोड गरेका छन् । बिहानैदेखि प्रदर्शनमा निस्केका जेनजी समूहले खाँणको घरमा ढुंंगामुढा गरेर तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीको ढुंगामुढाबाट खाँणको घरको मूल गेटमा क्षति पुगेको र घरका केही सिसाहरु फुटेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

बालकृष्णका भाई कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँडका अनुसार घरमा बालकृष्णकी आमा र श्रीमती मात्र रहेका थिए । ‘घरमा आमा र भाउजू मात्रै हुनुहुन्थ्यो, भैरहवामा अराजकता गरेर फर्केको टोलीले घरमा पुगेर तोडफोड गरे’ उनले भने ।

प्रदर्शनकारीले कांग्रेस रुपन्देही र एमाले रुपन्देहीको पार्टी कार्यालयमा तोडफोड गरेर ठूलो क्षति पुराएका छन् भने बुटवलमा रहेको एमाले प्रदेश कार्यालयमा समेत दुई घन्टा घेराउ गरेर ढुंगा प्रहार गरेका छन् ।

कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले कार्यालय परिसरमा रहेका दुई गाडी र चार मोटरसाइकलमा तोडफोड गर्नुका साथै चार वटा मोटरसाइकलका हेलमेट लुटेर लगेका छन् । उनीहरुले दिनभरजसो भैरहवामा प्रदर्शन गरेका छन् ।

एमाले जिल्ला कार्यालयमा पनि तोडफोड गरेको प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलले जनाए । यसपछि प्रदर्शनकारीको समूहले दिउसो बुटवलस्थित एमाले प्रदेश कार्यालय घेराउ गरेर ढुंगा प्रहार गरेका थिए । एमाले बुटवल अध्यक्ष शोभाखर पोखरेलका अनुसार दिउसो १ बजेदेखि २ घन्टा कार्यालय घेराउ गरी बाहिरबाट ढुंगा प्रहार गरेर सिसा फुटाएका छन् ।

‘दुई घन्टा कार्यालय घेराउ गरे, हामीले भित्रै बसेर खबरदारी गरिरहेका थियौं, ढुंगा हालेर केही सिसा फोरेका छन्, २ घन्टा घेराउ गरेपछि दुई तिरबाट सुरक्षाकर्मी आएको थाहा पाएपछि भागेका हुन्’, उनले भने ।

सोमबार बिहानदेखि सुरु गरेको आन्दोलन अराजक बन्दै गएपछि रुपन्देहीमा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार दिउसो ४ बजेदेखि राती १० बजेसम्म लाई कर्फ्यु आदेश जारी गरेको हो।

‘जेन जी पुस्ताको आह्वानमा गरिएको आन्दोलन नियन्त्रण बाहिर गएपछि नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जनाएका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेले आन्दोलनकारीहरूले राजनीतिक दलका नेताहरूका घर जलाउने भन्दै खोज्दै हिँड्न थालेपछि कर्फ्यु लगाउनुपरेको बताए।

जिल्ला प्रशासन कार्यालयले जेन जी आन्दोलन नियन्त्रण बाहिर गएपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका तथा मुख्य राजमार्ग आसपासका क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालयले बुटवल उपमहानगरपालिकाको पूर्वमा बुटवल धागो कारखाना, पश्चिममा बेलबास चोक, उत्तरमा चिडिया खोला, तिलोत्तमा नगरपालिकाको दक्षिणमा मङ्गलापुर, सिद्धार्थनगरमा पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्ध चोक र दक्षिणमा मेउडिहवा तथा बुटवल बेलहिया सडक खण्डको १ सय मिटर दायाँबायाँसम्म सीमा तोकेर कर्फ्यु आदेश जारी गरेको हो।

कर्फ्यु जारी गरिएका क्षेत्रमा आवतजावत नगर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, बैठक, घेराउ लगायतका कुनै पनि कार्य नगर्न निर्देशन गरेको छ।

Comments

4 responses to “रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी”

  1. ksp pyl Avatar
    ksp pyl

    देशमा सरकार छ भने व्यक्तिका र सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई हदैसम्मको सजाय हुनुपर्छ ।

  2. bipin Avatar
    bipin

    well done

  3. bipin Avatar
    bipin

    Yo Ksp Pyl feri aayo …kp ko jhole…yetra honhaar young ..marda ..yesko sambedena pani chaina …jato bau ustai chora ya chori …yesko ta ….gender pani tha chaina ….lol

  4. Nick Kashyap Avatar
    Nick Kashyap

    यस्तो तोडफोड गर्न सिकाएको पनि एमाले कांग्रेस र तिनका भातृ संगठनले नै हो। बिस्तारै भन्यो भने सुन्दै नसुन्ने बहिरो राज्यसत्ता जो छ। एमाले र कांग्रेसका कार्यकर्ताले तोडफोड गर्दा कारबाही नभएकाले र उल्टै ति दलका नेताले संरक्षण गरेकाले नया पुस्ताले पनि जे देखेका छन् त्यही सिक्ने भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *