काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ।
आज बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता प्रकाश ज्वालाले यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन नमिल्ने बताए।
जेन जी पुस्ताका युवाहरूको आन्दोलनबारे उनले भने, ‘सामाजिक सञ्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारको अभिव्यक्ति स्वतन्त्रता विरोधी गलत निर्णयको निन्दा र विरोध गर्दछौ। नव युवाहरू (जेन जी) को आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनका जायज मागहरूको समर्थन गर्दछौँ ।’
सामाजिक सञ्जाल बन्द गरिएपछि युवाहरूमा उत्पन्न असन्तुष्टि र आक्रोश भ्रष्टाचार र कुशासन विरोधि आन्दोलनको रूपमा अघि बढेको कुरा जायज रहेको बताए।
उनले भने, ‘सरकार हिंसात्मक दमनमा उत्रिएको छ। कुशासन र बेरोजगारीका लागि सडकमा आवाज उठ्नु स्वाभाविक हो र त्यसको सम्मान गर्दै अब राज्य जनतालाई सुशासन र रोजगारी दिने दायित्वबाट भाग्न पाउँदैन। आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ लगेर आन्दोलनको गरिमा र यसले प्राप्त गरेको जनसमर्थन दुरुपयोग हुन नदिन आन्दोलनकारी युवाहरूलाई अपिल गर्दछौँ ।’
अहिले नै तत्कालै आन्दोलनकारीका माग सम्बोधन गरी सामाजिक सञ्जाल खुलाउन माग गरेको छ।

Leave a Reply