काठमाडौं । नेकपा एकीकृत समाजवादीले जेन जी पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गरेको आरोप लगाएको छ।
महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको अविवेकी निर्णयबाट नौजवान युवाहरू (जेन–जी पुस्ता) मा उत्पन्न असन्तुष्टिले भ्रष्टाचार तथा कुशासन विरोधी आन्दोलनको रूप लिएको छ । अर्को तर्फ सरकार हिंसात्मक दमन तर्फ उत्रिएको छ ।’
सुशासन र रोजगारी लागि लामो समयदेखि जनताले गरेको अपेक्षाका विपरीत सरकार तथा राजनीतिक नेतृत्वले देखाएको नालायकीका सन्दर्भमा सडकमा यस्ता आवाज देखा पर्नु स्वाभाविक भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी आन्दोलन माथि सरकारको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गर्दछ । साथै, युवाहरूको भ्रष्टाचार तथा कुशासन विरुद्धको जागरणलाई सम्मान गर्दै उनीहरूका जायज माग सम्बोधन गर्न र उनीहरूमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न सरकारसँग जोडदार माग गर्दछ ।’
आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ मोडेर यस आन्दोलनको गरिमा र यसले पाएको जनसमर्थनलाई दुरुपयोग गर्ने कुनै पनि प्रयासबाट सतर्क रहन देशभरिका आन्दोलनकारीहरूलाई आह्वान पनि गरेको छ।

Leave a Reply