रुपन्देही । रुपन्देही ३ को उपनिर्वाचनमा मधेसी मोर्चाको बलियो साग पाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशम चौधरीले पर्सी मङ्गलवार बिहान उम्मेदवार घोषणा गर्ने भएका छन् ।
निर्वाचन आयोगमा दल दर्ताको क्रममा कागजपत्र कम पेश भएपछि अयोग्य भएको नाउपामा पनि अध्यक्ष रन्जिता श्रेष्ठ र रेशम पक्ष कसको उम्मेदवारलाई आधिकारिक मान्ने भन्ने अन्यौलताकाबीच यसअघि नै मोर्चाको बैठक बसेर पहिले सम्झौताकै चरणमा रेशमसँग भएकाले उनैले अघि सारेको उम्मेदवारलाई पूर्ण समर्थन गर्ने निर्णय मोर्चाले गरेको छ । यो निर्णयसँगै रेशम बलियो त भए तर अध्यक्ष रन्जिता पक्षले यस विषयमा अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।
रेशमको तर्फबाट डा. उमाशंकर चौधरी, प्रदेश समितिका अध्यक्ष डा। सरोज चौधरी, केन्द्रीय सदस्य रहेकी नन्दा चौधरी, जिल्ला अध्यक्ष तुलसी थारु प्रमुख दाबेदारका रूपमा रहेका छन् । डा. उमाशंकर निजामतीबाट अवकाश भएर थारु आयोगको सदस्य बनिसकेका हुन् भने डा. सरोज पार्टीको प्रदेश अध्यक्ष र भैरहवाकै स्थानीय तथा डेन्टल चिकित्सक हुन् । नन्दा र तुलसी पार्टीको सुरुवाती चरणबाटै काम गरेका नेताहरू हुन् ।
यसअघि नाउपाबाटै आकांक्षी रहेका पार्टी केन्द्रीय सदस्य धनिराम चौधरी मधेसी मोर्चामै रहेको तर यो उपनिर्वाचनमा फरक मत राखेको जनमतमा प्रवेश गरेर उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा पुगिसकेका छन् ।
नाउपा नेता रेशम चौधरीले नेपाल प्रेससँग कुरा गर्दै मङ्गलवार बिहान मौर्या होटलमा पत्रकार सम्मेलन गरेर उम्मेदवार सार्वजनिक गर्ने जनाए । ‘म अहिले काठमाडौंमा आएको छु, पर्सी मङ्गलवार बिहान भैरहवामा उम्मेदवार घोषणा हुन्छ, चार आकांक्षीमध्ये एक जनाको नाम घोषणा हुनेछ’ उनले भने ‘मोर्चा आबद्ध विभिन्न दलका नेताहरू पनि त्यहाँ आउनुहुन्छ, यसअघिको जनसभामा पनि यसैगरी आउनुभएको थियो, यो निर्वाचन नाउपाले मोर्चाको साथमा लड्ने हो ।’
मोर्चामा साथ पाएको तपाईँको उम्मेदवारलाई आफ्नै पार्टीको साथ रहन्छ कि रहँदैन भन्ने प्रश्नमा उनले पार्टीबाट एकै उम्मेदवार हुने विश्वास रहेको जनाए । ‘हामी मोर्चामा रहेका छौँ, पार्टीभित्र अन्तर्विरोध, बहस हुनु ठिकै हो, अरू पार्टीको उम्मेदवारसँग मैदानमा जाने विषयमा फरक हुनुहुँदैन भन्ने मलाई लागेको छ,त्यसमाथि मोर्चाको सदस्य भएकाले मोर्चाको निर्णय त सबैले मान्नुपर्यो नि, रन्जिताजी मोर्चाको बैठकमा आउनुभएको छ, समस्या हुन्छ भन्ने मलाई लागेको छैन ।’
उनले रुपन्देही ३ मा स्थानीय नै उम्मेदवार बनाउन लागेको र सोही क्षेत्रमा मतदाता रहेकै व्यक्ति उम्मेदवार बन्ने विषयमा मोर्चाका साथीहरूलाई आफूले प्रष्ट पारेको जनाए । उनले उम्मेदवार घोषणा सभामा मोर्चासँग असहमत रहेको जनमतका केन्द्रीय उपाध्यक्ष ई. दीपक शाह, कोषाध्यक्ष प्रमोद शाह पनि आउने जनाए । ‘जनमतमा पनि मोर्चाको निर्णय पालना गरेर जानुपर्छ भन्ने जनमत बढेको छ, मोर्चा एउटा उद्देश्यलाई मात्र बनेको होइन, सकेसम्म साथीहरूलाई बुझाउने प्रयासमा छौँ’ रेशमले भने ।
उपनिर्वाचनका विषयमा अध्ययन गर्न,आकांक्षी उम्मेदवारका विषयमा सामाजिक परीक्षण गर्न यो बीचमा आफू धेरैपटक रुपन्देही पुगेको र त्यहाँ रहेका नेता कार्यकर्ताको धारणा लिएर आएको उनले जनाए ।
यसअघि रेशम निकटस्थहरूले डा. उमाशंकरलाई अघि सारेको बताए पनि रेशम आफैले त्यो विषय मङ्गलवार नै सार्वजनिक गर्ने भएकाले अहिले चारैजना आकांक्षी रहेका दाबी गरे ।
यो क्षेत्रबाट २०७९ सालको उपनिर्वाचनमा मधेश केन्द्रित दलहरूमध्ये नाउपाका उम्मेदवारले धेरै मत पाएको र समानुपातिकमा पनि उसैको धेरै मत आएकाले त्यसले अगाडि सार्ने उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका थिए ।
मोर्चाको बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, नाउपा अध्यक्ष रंजिता श्रेष्ठ, नेता रेशम चौधरी तथा मधेश केन्द्रित दलका नेताहरू राजेन्द्र महतो, हृदयेश त्रिपाठी, रामकुमार शर्मा, डा. शिवजी यादव, केशव झाले हस्ताक्षर गरेका थिए ।
यो क्षेत्रमा २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले ६ हजार दश र जसपाले ५ हजार २९१ मत, लोसपाले ५ हजार ०५३, जनमत पार्टीले ३ हजार ७३२, माओवादी केन्द्रले २ हजार ६ सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी लौरोले १ हजार ३४७ र नेकपा एसले ७८१ मत पाएका थिए ।
त्यसैगरी पहिलो बनेको नेपाली कांग्रेसले २० हजार २७८, दोस्रो बनेको एमालेले १६ हजार ९८६, तेस्रो बनेको रास्वपाले १४ हजार १५४ र चौथो बनेको राप्रपाले ९ हजार १८३ मत पाएको थियो । यस आधारमा पनि मधेश केन्द्रीत दलको मत जोड्दा र उनीहरुबीच सहमति कार्यान्वयन भएमा बलियो शक्ति बन्न सक्ने आंकलन गर्न सकिन्छ तर दलबाट बन्ने उम्मेदवार कस्तो छनौट हुने र कतिबाट ? भन्ने विषय प्रमुख रहने मोर्चामा रहेका दलका नेताहरूको भनाइ छ ।

Leave a Reply