काठमाडौं । सत्तारुढ दल निकटसहितका १७ वटा विद्यार्थी संगठन सामाजिक सञ्जाल बन्दको बिरोध जनाएका छन् ।
भदौ १९ गते मध्यरातदेखि नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति उनीहरुले गम्भीर ध्यानाकर्षण भएको भन्दै संयुक्त विद्यार्थी संगठनले आइतबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सङ्कुचित बनाएको बताएका हुन् ।
‘सामाजिक सञ्जाल र सञ्चारका माध्यम बन्द हुँदा सहज सञ्चारमा अवरोध उत्पन्न भएको छ, जसले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सङ्कुचित बनाउँदै विद्यार्थीको अध्ययन, अनुसन्धान र अन्वेषणमा समेत गम्भीर असर पारेको छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी, पछिल्लो तथ्यांकअनुसार नेपालमा करिब सत्तरी प्रतिशत साना तथा मझौला व्यवसायहरू सामाजिक सञ्जालमार्फत बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर छन् ।’
सामाजिक सञ्जाल बन्दले रोजगारी गुम्ने र व्यवसाय धराशायी हुने गम्भीर खतरा उत्पन्न भएको भन्दै १७ वटा विद्यार्थी संगठनको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनरावलोकन गर्न, सामाजिक सञ्जाल तत्काल पुनः सञ्चालन गर्न, अभिव्यक्ति स्वतन्त्रता, शिक्षा, रोजगारी र आर्थिक अवसरमाथि खतरा उत्पन्न गर्ने नीति तुरुन्त फिर्ता लिँदै विद्यार्थी, डिजिटल सामग्री निर्माता, व्यवसायी तथा अन्य सरोकारवालासँग तत्काल संवाद गरी उपयुक्त विकल्प अवलम्बन गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ ।’
सामाजिक सञ्जालका प्लेटफर्मलाई सूचीकरणका लागि आउन पनि संगठनले आग्रह समेत गरेका छन् ।


Leave a Reply