माइतीघरमा ‘भ्रष्टाचारविरूद्ध कार्यक्रम गर्न’ भन्दै दुई युवाले लिए जिप्रकाबाट अनुमति

काठमाडौं । सरकारले फेसबुक लगायतका २६ वटा सामाजिक सञ्जाललाई नेपालमा चल्न नदिनेगरी निश्क्रिय गरेसँगै त्यसको विरोधमा भाेलि जेन जी पुस्ताकाे स्वतस्फूर्त प्रदर्शन माइतीघरमा हुँदैछ । जेन जीका प्रतिनिधि विद्यार्थिले बिहान ८ बजेदेखि आन्दोलन गर्न जिल्ला प्रशासन काठमाडौंबाट अनुमति लिएका छन् ।

प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी आइसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छबी रिजालले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘सामाजिक सञ्जाल निस्क्रिय गर्ने सरकारको निर्णयविरुद्ध भोलि बिहान ८ बजेदेखि ११ बजेसम्म माइतिघरदेखि नयाँ बानेश्वरको एभरेष्ट होटलसम्म प्रदर्शन गर्न लागेको जानकारी आएको छ । विद्यार्थीले जेनजीको समन्वयमा शान्तिपुर्ण रुपमा निषेधित क्षेत्रलाई मध्यनजर गरेर प्रदर्शन गर्ने जानकारी गराउनुभएको छ ।’

अनुमतिका लागि दुई जना युवा विद्यार्थि सबल गाैतम र पुरूषाेत्तम यादवका नाममा जिप्रकामा अनुमति दिइएकाे थियाे । उनीहरूकाे थप परिचय खुलाइएकाे छैन । निवेदनमा `स्वतन्त्र नेपाली युवाहरूकाे आयाेजनामा भ्रष्टाचारकाे विरूद्धमा कार्यक्रम गरिने´ उल्लेख छ । जेन जी शब्द प्रयाेग गरिएकाे छैन । युवाहरूकाे स्वतन्त्र सहभागिता रहने भन्दै शान्ति सुरक्षाकाे व्यवस्थाका लागि अनुराेध गरिएकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *