काठमाडौं । भोलि अर्थात भाद्र २४ मा थापाथलीस्थित माइतीघरमा हुने जेन जेडको स्वतस्फुर्त आन्दोलनमा चलचित्र निर्देशक निश्चल बस्नेत पनि सहभागी हुने भएका छन् । टिकटकमा एक भिडियो सार्वजनिक गर्दै उनले आफू पनि सहभागी हुने बताएका हुन् ।
भिडियोमा बोल्दै उनले अहिलेको जेन जी पुस्ता एकदमै फ्रस्टेड भएपछि आन्दोलनको योजना बनाएको र यसले नीति निर्माताहरुका घैंटोमा घाम लाग्नुपर्ने बताएका छन् । उनले बालिकालाई ठक्कर दिएर भागेका मन्त्री रामबहादुर मगरको प्रसंग उप्काउँदै भनेका छन्, ‘सत्ता र शक्तिको मात लागिसकेपछि सायद मान्छेहरु सुन्न पनि छाड्छन् । त्यही भएर जे मन लाग्यो, त्यही नियम बनाइरहेका छन् । कानुन त भूइँमान्छेहरुलाई मात्रै लागिरहेको छ।’
यस्ता अनेक हर्कतले देशमा उकुसमुकुस भइरहेको र जनताले बोल्ने ठाउँ सामाजिक संजाल पनि खुम्च्याइदिएपछि आजित भएर जेन जेड पुस्ताले भ्रष्ट्राचारको कुरा उठाएको निश्कलको निक्र्यौल छ ।
‘देशमा बसिरहेका युवाहरु हुर्कँदैछन् । उनीहरुलाई भविष्यको चिन्ता छ । यो उनीहरुले आफ्नो भविष्यका लागि गरिरहेका हुन्,’ निश्चलले भनेका छन्, ‘प्रहरी दाजुभाइहरुलाई मेरो सानो अनुरोध पनि छ,, यो आन्दोलन तपाईंहरुको पनि भविष्यका लागि हो । तपाईंहरुको छोराछोरीका लागि हो । त्यही भएर कुनै अप्रिय घटना हुनबाट जोगाइदिनुहोला । किनभने भिड अनियन्त्रित हुनसाथ जे पनि हुनसक्ने सम्भावना हुन्छ ।’
निश्चलले भोलि आफू पनि त्यहाँ हुने बताएका छन् । उनले थप भनेका छन्, ‘मलाई थाहा छैन, नतिजा के आउँछ । तर, हामी त्यहाँ बलियो हुनेछौं। भोलि त्यहीँ भेटौंला । हामीले भ्रष्ट्राचारको विरुद्धमा बोल्नैपर्छ । पर्यो भने भिड्नैपर्छ।’
भोलिको जेन जेडको आन्दोलनलाई गायकद्धय शिव परियार, एकदेव लिम्बु र अन्य केही कलाकारहरुले पनि समर्थन गरिरहेका छन् ।

Leave a Reply