काठमाडौं । हिमालयन टी प्रोड्युसर्स को-अपरेटिभ लिमिटेड (हिम्पोक) नेपालले चीनमा आयाेजना हुने एक कार्यक्रमका सन्दर्भमा भन्दै यही भदौ १२ गते आफ्ना सदस्यलाई एउटा ‘शंकास्पद’ पत्र पठाएकाे छ । साे पत्र बाहिर लिक भएसँगै अन्य चिया उत्पादक र कृषकहरुले आश्चर्य व्यक्त गरेका छन् ।
पत्रमा कराेडाैँ पुरस्कार राशीकाे उल्लेख हुनु तर कार्यक्रम आयाेजककाे टुंगो नहुनुले आशंका जन्माएको हो । आउँदो अक्टोबरको अन्तिम साता आयोजना हुने ‘चीन-नेपाल चिया अन्तर्राष्ट्रिय व्यापार मेला २०२५’ मा भाग लिन चाहने इच्छुक उत्पादकलाई पासपाेर्टकाे कपिसहित एक साताभित्र नाम पठाउन भनिएकाे छ । तर कार्यक्रमकाे आयाेजक चाहिँ काे हाे भन्ने खुलाइएकाे छैन ।
अध्यक्ष उदय चापागाईँद्वारा प्रेषित पत्रमा सहभागी जनाउने उत्पादक हिम्पोकको सदस्य हुनुपर्ने, अर्ग्यानिक प्रमाणित उत्पादकलाई प्राथमिकता दिइने, प्रत्येक उत्पादकबाट एकजना हुने र सेवा शुल्क बाँकी रहेका सहभागी हुन नपाउने जस्ता शर्तहरु उल्लेख छन् ।
मेलामा प्रत्येक सहभागीका लागि छुट्टै स्टलको व्यवस्था हुने र हवाई भाडासहित सम्पूर्ण खर्च आयोजकले बेहोर्ने जनाइएकाे छ । चिनियाँ विज्ञले चियाको परीक्षण गर्ने र मूल्याङ्कनअनुसार विजेतालाई चिनियाँ युआन ५ लाख, ३ लाख र १ लाखको नगद पुरस्कार दिइने भनिएकाे छ । नेपाली मुद्रामा यो रकम करिब ९८ लाख, ५९ लाख र १९ लाख हुन्छ ।
मन्त्रीस्तरको भेटघाट पनि हुने हिम्पोकको पत्रमा उल्लेख छ ।

मेलासम्बन्धीको यो पत्राचारले व्यवसायीलाई उत्साहित बनाएको र नेपाली चियालाई विश्व बजारमा थप सशक्त ढंगले प्रवर्द्धन गर्ने ऐतिहासिक अवसर भएपनि पारदर्शीतामा भने प्रश्न उठाइएको छ । अन्य चियासम्बन्धी संघसंस्थाले पनि यस विषयमा अनभिज्ञता प्रकट गरेका छन् ।
‘सबै उत्पादकहरूको सहभागिता सुनिश्चित गरिनुपर्थ्यो तर यत्रो ठूलो इभेन्टबारे आधिकारिक जानकारी नपाउनु र हामीलाई बेवास्ता गरिनु अन्यायपूर्ण भयो । यसको जवाफदेही सम्बन्धित पक्ष नै बन्नुपर्छ’, एक उद्यमीले असन्तुष्टि जनाए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले हिम्पोकले मेलासम्बन्धी प्रस्ताव तयार गर्दै गरेको जानकारी दिएपनि पुरस्कार राशी साथै कहाँ, कहिले, कसरी हुने भन्ने केही थाहा नभएको बताए । बोर्डका निर्देशक दीपक खनालले पनि मेलाबारे अफिसियल्ली थाहा नभएको बताए ।
‘बोर्डले इनिसियसन लिएको कार्यक्रम हो भने सबै उद्योगी समेटिन्थे । हेम्पोकको बारे केही थाहा भएन । उहाँहरूले एक्लै केही गर्न खोज्नुभएको हो कि !’, खनालले भने ।
उद्योग, व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र मेला शाखाका प्रमुख मीनबहादुर कुँवरले पनि चीनमा हुने चिया मेलाबारे अनभिज्ञता प्रकट गरे । उनले नेपाल प्रेससँग भने, ‘यस विषयमा हामीलाई अहिलेसम्म केही थाहा छैन ।’
हिम्पोककै केही पदाधिकारीले समेत कार्यक्रमबारे ठोस जानकारी प्राप्त नभएको बताएका छन् । हिम्पोककी अन्तर्राष्ट्रिय व्यापार तथा बजार प्रमिता बज्रचार्यसँग जिज्ञसा राख्दा पनि उनले प्रेसलाई जानकारी नै नदिएको कुरा कसरी थाहा भयो भनी ? प्रतिप्रश्न गरेकी छन् । उनले योबारे अध्यक्षसँग बुझ्न सुझाइन् ।
अध्यक्ष उदय चापागाईँसँग थप बुझ्दा उनले पनि मेलाबारे प्रष्टरूपमा भन्न सकेनन् ।
‘भेन्यू र आयोजकबारे मेरो कुरा भइरहेको छ । अहिले यो विषय म मिडियामा बोल्न चाहन्नँ’, चापागाईँले भने ।
भारी पुरस्कार राशी उल्लेखसहित आधिकारिकरूपमा केको आधारमा पत्राचार गर्नुभयो त ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘मैले मेरा मेम्बरहरूलाई पत्राचार गर्न पाइहाल्छु नि ! तर, आयोजकको खोजी हुँदैछ ।’
आयोजक नै प्रष्ट नभई गलत प्रचार भएन र ? भनी सोध्दा उनले पछि सबै कुरा टुंगो लागेपछि आफैँ थाहा दिने बताए ।

Leave a Reply