रुपन्देही । पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका-हार्थोकस्थित हिरापोखरामा जन्मेका कृष्णबहादुर दर्नाल आफू साक्षर मात्रै हुन् तर उनले छोराछोरीलाई डक्टर, नर्स र सिए पढाएर समाजमा नमुना बनेका छन् ।
२०१५ सालमा बुबा खुमलाल र आमा देवकुमारी दर्नालका पाँच सन्तानमध्ये माइलो सन्तानका रूपमा जन्मिएका कृष्णबहादुरले आफूले पढ्न नपाएका कारण गाउँ समाजमा भोग्नुपरेको समस्या सन्ततिलाई नदिन जसरी पनि पढाउने संकल्प गरेका थिए ।
बाल्यकाल गाउँमै बुवाआमालाई सघाएर बिताएका थिए उनले तर पढ्ने कुनै वातावरण पनि थिएन र घरमा त्यो स्रोत पनि थिए । न त आर्थिक हैसियत राम्रो थियो, न पढाइमा निरन्तरताको सम्भव थियो त्यही भएकै कारण उनी गाउँबाट रोजगारी खोज्नुको विकल्प थिएन । दैनिकी गुजाराका उनी ०३० सालमा १५ वर्षको उमेरमै गाउँ छाडेर बुटवल पसेर भविष्य खोज्ने निधो गरेका हुन् ।
पाल्पाबाट बुटवल आएका दर्नालले सुरुमै सिलाई पेशालाई रोज्ने निधो गरे पनि त्यसको कुनै आइडिया भने थिएन । यो उनले गाउँमा देखेका र सुनेका थिए । त्यो बेला न त तालिम केन्द्र थिए, न त औपचारिक प्रशिक्षण लिने सुविधा नै । उनले कपडा पसलको छेउमै मेसिन राखेर सिलाई सिक्न थाले । मेहनती थिए, धैर्यशील पनि । सीपमा निखार आउँदै गयो । एकपछि अर्को काम सिक्दै उनी आत्मनिर्भर बन्न थाले । यो सिलाई पेशा नै पछि उनको जीवन बदल्ने आधार बन्यो । र अहिलेसम्म यसैलाई उनले अंगालेका छन् ।
२१ वर्षको उमेरमा वि.सं.२०३६ सालमा कमला दर्नालसँग विवाह गरेपछि दर्नाल पारिवारिक जिम्मेवारीमा पनि बाँधिएका हुन् । दुई छोरा र चार छोरीको बाबु बनेका उनले आफूले त्यो समयमा पढ्न नपाएकाले भोग्नुपरेको समस्यालाई देखेर आफ्नो पहिलो उद्देश्य नै सन्तानको शिक्षालाई दिएको बताउँछन् । ‘आफूले नपाएको शिक्षा आफ्ना सन्तानलाई दिलाउने सपना देखेको थिएँ, पूरा भएको छ ।’ उनी भन्छन् ।
सिलाईबाटै कमाएको पैसाले उनले सबै छोराछोरीलाई नर्सरीदेखि नै बोर्डिङ स्कुलसम्म पढाए । नेपाली समाजमा सम्पन्नले मात्रै पढाउने भनिन्छ बोर्डिङ स्कुललाई सरकारी स्कुल कमजोर बनाइएका कारण पनि यस्तो भाष्य बनेको छ । पारिवारिक जीवन र व्यवसाय सँगसँगै अघि बढिरहेका दर्नालले वि.सं. २०४३ सालमा छोराको नाममा “दिनेश टेलर्स“ खोल्दै व्यवसायलाई थप व्यवस्थित रूपमा अघि बढाए । एक जना कालिगढ र एउटा मेसिनबाट सुरु भएको व्यवसाय बिस्तार हुँदै गयो । सिलाई पेशामै रहेर उनले आफ्नो जेठो छोरा डाक्टर बनाउने सपना पनि पूरा गरे ।
उनका जेठो छोरा डा. दिनेश दर्नालले वि.सं. २०७३ सालमा चितवनको पुरानो मेडिकल कलेजबाट एमडी क्लिनिकल माइक्रोबायोलोजी विषयमा अध्ययन पूरा गरे । उनले युनिभर्सल मेडिकल कलेज भैरहवा र हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिसकेका छन् । हाल उनी देवदह मेडिकल कलेजमा कार्यरत छन् । डाक्टर बनाउँदा लागेको खर्चबारे बोल्दै डा. दिनेश भन्छन्, “बुबाआमाको कडा मेहनत र त्याग नहुँदो हो त म आज यो स्थानमा पुग्दैनथेँ । त्यसबेलै ५० लाख जति खर्च भयो होला ।” उनकी श्रीमती अनिता सुन्दास दर्नाल पनि सरकारी विद्यालयकी शिक्षिका हुन् ।
उनी तिलोत्तमा नगरपालिका- १७ स्थित बरबलिया माविमा स्थायी शिक्षिकाका रूपमा कार्यरत छन् । दर्नालकी जेठी छोरी निर्मला दर्नाल ल्याब टेक्निसियनको अध्ययन गरी केही समय बुटवलमै काम गरिन्, अहिले काठमाडौंमा कार्यरत छन् । कान्छो छोरा सुरेन्द्र दर्नाल चाटर्ड एकाउन्टेण्ट (सिए) को परीक्षापछि राजधानीमै छन् । सबै सन्तानलाई राम्रो शिक्षा दिनु र त्यसका लागि सिलाई पेशामै टेकेर त्यो सम्भव पार्नु कृष्णबहादुरको लगनशीलताको जिउँदो उदाहरण हो । सामान्य सिलाई पेशाबाट सुरु भएको उनको संघर्ष आज प्रेरणादायी कथामा परिणत भएको छ ।
‘हामी साना जात भनिन्थ्यो । समाजमा अवसर पनि कम थियो । तर, मसँग सपना थियो । छोराछोरीलाई राम्रो बनाउने । आफूले नपाएको शिक्षा उनीहरूलाई दिनुपर्छ भन्ने अठोटले कहिल्यै पछि हटिनँ,’ कृष्णबहादुर सम्झिन्छन् । सामान्य तलब र आम्दानी भएको सिलाई पेशाबाट घर चलाउनु, सन्तानको पढाइ जोहो गर्नु सजिलो थिएन । सुरुमा कपडा बिक्री नभएर ग्राहकले ल्याएका कपडा मात्र सिलाउने समय थियो । ‘दिनदिनै खर्च धान्दै छोराछोरीलाई डाक्टर, शिक्षक र सीए बनाउने काम आफैँमा साहसिक थियो । अहिले उनका सन्तानको सफलता देख्दा त्यो बेलाको उनले भोगेको दुःखको सार्थकता महसुस भएको देखिन्छ, सम्पन्न परिवारका छोराछोरीले उचित तरिकाले पढ्न नसकेको धेरै उदाहरण आइरहेको बेला यो निकै उदाहरणीय सन्देश बनेको छ’ दर्नालका आफन्त कृष्ण रणपाल भन्छन् ।
त्यो त दर्नालले यो बीचमा आफू मात्र होइन धेरैलाई रोजगारीको बाटो देखाएका छन् । दर्नालले आफू मात्र होइन, अरूलाई पनि सशक्त बनाउने काम गरेका छन् । उनका अनुसार उनले अहिलेसम्म करिब १ सय ३० जनालाई सिलाई पेशाको सीप सिकाएका छन् । तीमध्ये १० जनाले त बुटवल र काठमाडौंमै आफ्ना पसल सञ्चालन गरेका छन् । नारायण रणपालले थापाथलीमा ‘पाल्पाली टेलर्स’, रामबहादुर परियारले बुटवलको देवीनगरमा ‘गुल्मेली टेलर्स’, कृष्ण रणपालले बुटवलको अमरपथमा ‘कुमारी टेलर्स’ सञ्चालन गरेका छन् ।
त्यस्तै सिताराम रणपालले बुटवलको तिनकुनेमा ‘न्यू सगरमाथा टेलर्स’, शालिकराम दर्नालले बुटवलको दीपनगरमा ‘न्यू मोर्डन टेलर्स’, राजु परियारले होराइजनचोकमा ‘श्री जी टेलर्स एण्ड बुटिक’ र रमेश आब्जुले ‘जनसेवा टेलर्स’ सञ्चालन गर्दै आएका छन् । महेन्द्र दर्नाल र विनोद दर्नालजस्ता कारीगढले ‘दिनेश टेलर्स’ बाट सीप लिएर आफ्नै व्यवसाय सुरु गरेका छन् ।
दर्नालको तालिमले उनीहरू मात्र होइन, उनीहरूका कामदार र परिवारहरू पनि जीवनयापन गर्न सक्षम भएका छन् । सिलाई पेशालाई कर्मभूमि बनाएका दर्नाल अहिले पनि उस्तै उत्साहका साथ सक्रिय छन् । ६५ वर्ष उमेर पुगे पनि उनी बिहान ४ बजे उठ्छन्, मर्निङवाक जान्छन्, र ७ बजे पसल खोल्छन् । पसलमा अहिले उनी आफैँ कपडा काट्छन्, नाप मिलाउँछन् र सिलाउँछन् । ‘पहिले १५ जना कारीगढले एकैपटक काम गर्थे, अहिले त एक्लै चलाइरहेको छु,’ उनी भन्छन् । सीप सिकेर धेरैजसो कारीगढ आफ्नै व्यवसायमा लागे, कोही विदेशिए । अहिलेको पुस्ता सीप लिएपछि पनि स्थायित्वमा बस्न चाहँदैन भन्ने उनको अनुभव छ ।
समय बदलिएको छ । व्यापारमा प्रतिस्पर्धा बढेको छ । ‘हिजो दिनेश टेलर्स भनेपछि ग्राहकको ताती लाग्थ्यो, चिन्ने नचिन्ने सबै आउँथे । अहिले व्यापार पहिलाजस्तो छैन,’ दर्नाल भन्छन् । यद्यपि, व्यवसायमा चिन्ताभन्दा सन्तुष्टि बढी छ उनको अनुहारमा । ‘सबैले भन्छन्, अब त रिटायर्ड हुने बेला भयो, छोराछोरी कमाउँछन् । तर म भन्छु, आफ्नो कमाइ आफैँ गर्नुपर्छ, सक्दासम्म काम गरिरहनु पर्छ ।’ उनी थप्छन्, ‘आफ्नो श्रमबाट कमाएकोमा नै आनन्द छ ।’
उनका दाजुभाइ पनि यही सिलाई पेशामा छन् । दर्नालको सोचमा काम, श्रम, अनुशासन र इमान्दारी सबैभन्दा ठूलो पूँजी हो । दर्नालको जीवनले देखाएको छ- सीप, श्रम र निष्ठाले मानिसलाई आत्मनिर्भर मात्र होइन, अरूका लागि प्रेरणाको पात्र पनि बनाउँछ । एउटा सिलाई पसलबाट सुरु भएको जीवनको यात्रा अहिले बुटवलको एउटा ‘ब्रान्डेड कथा’ बनेको छ, जसमा संघर्ष, सपना र सफलता छ ।
आफूले सानोमा पढ्न नपाए पनि छोराछोरीको उच्चशिक्षाका लागि जीवनभर संघर्ष गरेका कृष्णबहादुर दर्नाल र उनलाई सधैँ साथ दिने उनकी श्रीमती कमला तथा बुवाआमाको संघर्षलाई बुझेर पारिवारिक अवस्थालाई देखेर कडोर मेहनतका साथ अध्ययनपछि सेवामा लागेका छोराछोरीहरू समाजका उदाहरणीय पात्र बनेका छन् ।

Leave a Reply