एमाले निर्वाचन आयोगको प्रतिवेदन- प्रेस चौतारीको महाधिवेशन ‘थाहा पाएनौं’

गोदावरी (ललितपुर) । नेकपा एमालेको निर्वाचन आयोगले पार्टीनिकट पत्रकारको जनवर्गीय संगठन प्रेस चौतारी नेपालको महाधिवेशनबारे जानकारी नभएको जनाएको छ ।

गोदावरीको सनराइज हलमा जारी विधान महाधिवेशनमा आयोगका संयोजक डा. विजय सुब्बाले पेश गरेको प्रतिवेदनमा उक्त विषय लिखितरूपमा उल्लेख गरेका छन् । प्रतिवेदन पेश गर्ने क्रममा सुब्बाले चौतारीले महाधिवेशन गर्दा आयोगसँग कुनै समन्वय नगरेको भन्दै ‘बजारबाट थाहा पाएको’ बताएका छन् ।

प्रतिवेदनको १२ नम्बर बुँदामा भनिएको छ, ‘नेकपा एमालेको जनसंगठन प्रेस चौतारी नेपालको १०औँ केन्द्रीय महाधिवेशन, २०८१ चैत्र १०-१२, विराटनगरमा सम्पन्न भएको भएता पनि आयोजक कमिटीले उक्त अधिवेशनको सहजीकरण वा निर्वाचन सम्पन्न गर्नका लागि कुनै पत्र केन्द्रीय निर्वाचन आयोगमा प्राप्त हुन नआएको ।’

सुब्बाले प्रतिवेदनमा चैत १५-१६ मा सम्पन्न रिटर्नी फेडेरेसनको महाधिवेशनको विषय पनि उठाएका छन् ।

फेडेरेसनको महाधिवेशनमा निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम प्रकाशित गरेकोमा मनोनयन प्रारम्भ नहुँदै अध्यक्ष मण्डलले कमिटीको नाम बन्दसत्रमा घोषणा गरी घोषित नामहरूको मात्र मनोनयन दर्ता गराउन लगाइएको उल्लेख छ ।

निर्वाचन कमिटीसमक्ष तिनै घोषणा गरिएका नामको मात्र मनोनयन दर्ता गराएर निर्वाचन कमिटीले परिणाम घोषणा गरेको आयोगको प्रतिवेदनमा लेखिएको छ ।

यसैबीच चौतारीका अध्यक्ष गणेण पाण्डेले संगठनको आफ्नै निर्वाचन समिति हुने सोही समितिबाट महाधिवेशन गराइएको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *