पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी क्षेत्रमा ठगी गर्नेहरूप्रति संकेत गर्दै सहकारी क्षेत्रमा लागेका कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएको आरोप लगाएका छन्।
नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले शक्तिशाली प्राधिकरणमार्फत ठगहरूलाई कारबाही गर्न खोज्यौँ, तर सरकार ढालियो। त्यसैले त्यो काम अघि बढ्न सकेन।’
माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा रहेको जिकिर गरे। उनले थपे, ‘हामी मध्यम वर्गकै प्रतिनिधि हौँ। ऋण मिनाहा, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो।’
संविधान निर्माणको प्रक्रिया कठिन भए पनि अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा माओवादीको भूमिका निर्णायक रहेको जिकिर गरे। माओवादीले उठाएको सबै उद्देश्य प्राप्त नगरे पनि बाध्यात्मक सम्झौतामार्फत ऐतिहासिक उपलब्धि हासिल गरेको सुनाए।
उनले अझै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा संरचनात्मक परिवर्तन नआएको स्वीकार गर्दै भने, ‘उही नियम, उही परम्परा चलिरहेको छ। परिवर्तनको लडाइँ अझै बाँकी छ।’
पछिल्लो समयमा माओवादी घटक र इमानदार कम्युनिस्टबीच एकता र सहकार्य बढ्दै गएको प्रचण्डले बताए । ‘नपत्याउने गरी जनमत बढिरहेको छ। नसोचेका ठाउँमा पनि हामी जितिरहेका छौँ। जनताले बुझ्न थालेका छन्, माओवादी केन्द्र नै जनताको पक्षमा काम गर्ने शक्ति हो’ उनले भने।

Leave a Reply