विराटनगर । चालू आर्थिक वर्षको बजेट ल्याउन नसकेको धरान उपमहानगरपालिकामा बजेट निर्माणका विषयमा भएको विवाद टुङ्गो लाग्ने अवस्थामा पुगेको छ ।
हिजो बसेको नगर कार्यपालिकाको बैठकमा उपमहानगरको सिलिङको सीमा घटाउने सहमति भएपछि बजेट पास हुने अवस्थामा पुगेको थियो । यसअघि धरानका मेयर हर्क साम्पाङले एमालेका बहुमत जनप्रतिनिधिहरुको बहिस्कारका बाबजुद पनि बजेटको सिलिङ पास भएको दाबी गरेका थिए ।
उनलाई नेपाली काँग्रेस र माओवादीका जनप्रतिनिधिहरुको समेत सहमति थियो । कार्यपालिकामा बहुमत रहेको एमालेले विरोध गरेपछि हिजो बसेको कार्यपालिका बैठकले चालू खर्च बाहेक पुँजीगत खर्चका हरेक शीर्षकमा १० प्रतिशत घटाउने सहमति भएको छ । सो सहमतिमा एमालेले पनि सहमति गरेको धरान उपमहानगर संसदीय दलका नेता साबित्रा परियारले बताइन् ।
उनले उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट सिलिङ संशोधनसहित कार्यपालिका बैठकले पारित गर्ने निर्णय गरेको बताइन् । उनले शुक्रवार बसेको कार्यपालिका बैठकले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले निर्धारण गरेको बजेटबाट चालु खर्च बाहेक पुँजीगततर्फको कुल बजेटबाट १० प्रतिशत घटाएर कार्यान्वयन गर्ने निर्णय भएको बताइन् ।
बैठकमा सिलिङ पास गर्न मेयर साम्पाङले एजेन्डा राखेपछि एमालेको तर्फबाट कार्यपालिका सदस्य सावित्री परियारले १० प्रतिशत घटाउने संशोधन प्रस्ताव गरेकी थिइन् । उनको प्रस्तावलाई कार्यपालिका बैठकले सहमति जनाउँदै सर्वसम्मतता पारित गरेको हो ।
यसअघि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले २ अर्ब २० करोड ७४ लाख ५९ हजारको सिलिङ कार्यपालिकामा पेस गरेको थियो । सो सिलिङमा एमालेको असहमति हुँदा हदै पनि मेयर साम्पाङले अल्पमतबाटै पारित गरेको दाबी गरेका थिए । हिजो भएको संशोधनबाट अव धरानको बजेट १ अर्ब ९८ करोड हाराहारीमा आउने परियारले बताइन् ।
एमालेले घाटा बजेट बनाउनु हुँदैन भन्ने अडान राखेको थियो । यसैगरी एमालेलेले कर वृद्धिमा समेत असहमति जनाएको छ । एमालेले राखेको करको दरमा पुनरावलोकन हुने निर्णय भएको छ ।
बैठकले मेयर र उपमेयर भिजन भनेर विनियोजन गरिएको योजनाहरूको नाम परिवर्तन गरेर नगर भिजन राख्ने निर्णय पनि भएको छ । बैठकमा मेयर साम्पाङले मेयर र उपमेयर भिजनको नाम परिवर्तन गरेर नगर भिजन राख्ने प्रस्ताव गरेका थिए ।
उक्त प्रस्तावमा उपमेयर अइन्द्रबिक्रम बेघाले भने आपत्ति प्रकट गरेका थिए । उनले मेयर र उपमेयर भिजनको बजेट ब्रेक डाउन माग गरेबमोजिम ब्रेक डाउन गरेर दिए पनि नाममा असहमति जनाएर परिवर्तन गरेकोमा एमालेका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूप्रति चर्को असन्तुष्टि जनाए ।
धरानमा विवादका बाबजुद चालू वर्ष सुरु हुँदा समेत बजेट आउन सकेको छैन । बजेट नआउँदा धरानमा बजेट होलिडे छ । बजेट होलिडे भइरहेको धरानमा हिजो बसेको कार्यपालिका बैठकमा भने दलका बिचमा सहमति भएपछि बजेट आउने सुनिश्चित भएको उप मेयर आइन्द्रबिक्रम बेघाले बताए । उनले भदौ २६ गतेका लागि नगर सभा डाकिएको बताए । सो सभाबाट धरानको बजेट पारित हुने बेघाले विश्वास गरे ।

Leave a Reply