सबै धर्मले दिने सन्देश सत्य, न्याय र सद्भाव नै हो : प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सबै धर्मको सन्देश सत्य, न्याय, करुणा र सद्भावको पक्षमा रहेको बताएका छन्।

कैलालीको गोदावरीमा आयोजित पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्मजयन्ती (ईद–ए–मिलाद–उन–नबी) को शुभकामना कार्यक्रममा प्रदेश प्रमुख मियाँले घृणा अन्त्य गर्दै शान्तिको पक्षमा उभिनु नै धर्मको अर्थ रहेको बताएका थिए।

‘सबै धर्मको सन्देश घृणा, अन्याय र विभाजन अन्त्य गर्दै सत्य, न्याय, करुणा र सद्भावको संरक्षण गर्नु हो। धर्मले हामीलाई जोडेको छ, धर्मको नाममा विभाजित हुनु हुँदैन,’ प्रदेश प्रमुख मियाँले भने।

पैगम्बर मोहम्मदको ५७० ईस्वी तिर साउदी अरबको मक्का शहरमा जन्म भएको थियो। असमानता, अन्याय र क्रूरताविरुद्ध लड्न शिक्षा दिएको भन्दै रजा जामा मस्जिदले शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा प्रदेश प्रमुख मियाँले पैगम्बर मोहम्मदको शिक्षाले मानव समाजलाई शान्ति, सद्भाव र न्यायका मूल्य–मान्यताप्रति प्रेरित गरिरहेको बताएका थिए।

‘उहाँले देखाउनुभएको सहिष्णुता र दयाको मार्गले हाम्रो जीवनलाई सकारात्मक रूपमा अगाडि बढाउँछ, समाजमा मेलमिलाप र एकताको भावना विकास गर्छ,’ प्रदेश प्रमुख मियाँले भने, ‘ती उपदेशहरू आज अझै धेरै सान्दर्भिक भएका छन्। हामीले ती अंगाल्नु पर्छ।’

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले सबै धर्म मान्नेहरू मिलेर बसिरहेको भन्दै विश्वलाई नेपाले सुन्दर सन्देश दिएको बताएका थिए। विशेषाधिकार सभापति तुलसी देवकोटाले मस्जिद नहुँदा समस्या भइरहेको बताउँदै आफूले त्यसमा पहल गर्ने प्रतिवद्धता जनाएकी थिइन्।

गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष गोपालदत्त भट्टले स्थानीय स्तरसम्म एकले अर्काको धर्मलाई सम्मान गर्नुपर्ने बताए।
रजा जामा मस्जिदका अध्यक्ष मोहम्मद नैमुद्दिन भाटले संकटमा मस्जिद स्थापना गरिएको भन्दै यसलाई जोगाउनुपर्ने बताएका थिए।

प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले कार्यक्रम सञ्चालन गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *