केएमसीमा पहिलोपटक मनोविज्ञान गोष्ठी सम्पन्न

काठमाडौं । काठमाडौं मोडल कलेज (केएमसी) बागबजारमा पहिलोपटक मनोविज्ञान गोष्ठी (मनोविज्ञान सिम्पोजयम) सम्पन्न भएको छ ।

‘नयाँ युगमा सुस्वास्थ्य र समृद्धिका लागि मनोविज्ञान (साइकोलोजी फर वेलबिङ एण्ड प्रस्पेरिटी इन अ न्यू एरा)’ नारासहित सम्पन्न उक्त गोष्ठीमा मनोविज्ञानका करिअर क्षेत्र, चुनौती, मानसिक स्वास्थ्यसम्बन्धी भ्रम एवम् अन्य क्षेत्रमा कसरी मनोविज्ञानको प्रयोग हुन सक्छ भन्ने बहस भएको थियो ।

उपत्यकाका करिब दशभन्दा बढी कलेजहरुको सहभागितामा सम्पन्न सिम्पोजियममा समूहगत छलफल, अनुसन्धान पत्र प्रस्तुति, किनोट स्पीच तथा विज्ञहरुको अनुभवका सेसनहरु रहेका थिए ।

दुई दिन सम्पन्न सिम्पोजियमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी सामाजिक विज्ञानका सहायड डीन प्रा. डा. वामदेव अधिकारीले मनोविज्ञानको आवश्यकता दर्शाएका थिए । उनले जीवनमा प्राप्त गरिने सफलता र असफलतालाई कसरी लिने जस्ता विषयमा आफ्नो मानसिकता कस्तो बनाउने भन्नेबारे जानकारी हुनुपर्ने र यसमा यस्ता कार्यक्रममा भूमिका खेल्ने बताउँदै आफ्ना उदाहरणसमेत प्रस्तुत गरेका थिए ।

त्यस्तै, प्रमुख वक्ता प्रा. डा. उषा किरण सुब्बाले नेपालमा मनोविज्ञानको विकास, चुनौती, अवसर र आफ्ना अनुभव शेयर गरेकी थिइन् ।

त्यस्तै, कार्यक्रमका सभापति एवम् केएमसी कलेज प्रमुख सुरेन्द्र सुवेदीले मनोविज्ञानले मानिसलाई हिल गर्न सघाउने र त्यसतर्फ हामीले ध्यान दिन सकेको खण्डमा मानिस पूर्णरुपमा स्वस्थ हुने बताउँदै सिम्पोजियमले यसका लागि व्यवहारिक ज्ञान प्रदान गर्ने बताए । साथै उनले सहभागीलाई धन्यवाद दिँदै पाएको ज्ञानलाई व्यवहारमा उतार्न पनि आग्रह गरे ।

केएमसीका आईक्यूएसी हेड ध्रुव प्रसाद तिमल्सिनाले कार्यक्रममा स्वागत र समापन मन्तव्य राख्दै मनोविज्ञानले जीवनका बहुआयामिक पक्षलाई प्रभाव पार्ने बताउँदै यसको समुचित प्रयोगले चौतर्फी फाइदा पुग्ने र यस्ता कार्यले उक्त उद्देश्यका लागि सहयोग गर्ने बताए ।

केएमसीको बीए र बीबीएस कार्यक्रमका हेड एलिस राजोपाध्यायले विद्यार्थीहरुलाई मनोविज्ञान पढेपछिका क्षेत्रहरु र यसले आफ्नो व्यवहारिक समस्या समाधानमा सघाउने के कस्ता विधि र प्रक्रिया अपनाउने भन्ने विषयलाई अभिमूखीकरण होस् भन्ने उद्देश्यले सिम्पोजियम आयोजना गरिएको उल्लेख गरे ।

वक्ता क्लिनिकल साइकोलोजिस्ट रामपुकार शाहले हाम्रो सोचाइको तहलाई कसरी बदल्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर प्रस्तुति दिएका थिए ।

त्यसैगरी अर्का वक्ता काउन्सिेलिङ साइकोलोजिस्ट कपील शर्माले भावनात्मक बुद्धिमताबारे प्रस्तुति दिएका थिए भने स्पिरिचुअल हिलर बाल कृष्ण दासा चौधरीले माइण्डफुलनेसको सेसन सञ्चालन गरेका थिए । सिम्पोजियममा केही अनुसन्धान पत्रहरु प्रस्तुत भएका थिए ।

करिब ७० जना सहभागी कार्यक्रममा केएमसी, सेन्ट जेभियर्स, के एण्ड के, गोल्डेन गेट, थेम्स, समृद्धि, आदिम, आदि कलेजहरुबाट विद्यार्थी एवम अध्यापकहरुको उपस्थिति रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *