काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रको समग्र विकासका लागि माओवादी केन्द्र र त्यस अनुगामी संगठन अखिल नेपाल खेलकुद महासंघले आक्रामक ढंगले हस्तक्षेप गर्न आवश्यक रहेको बताएका छन् ।
अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खेल क्षेत्रको रूपान्तरण पार्टीको प्रभावकारी हस्तक्षेप बिना सम्भव नरहेको स्पष्ट बताए ।
उनले भने, ‘अखिल नेपाल खेलकुद महासंघको हस्तक्षेप बिना, हाम्रो एकता र गति बिना यो क्षेत्रमा क्रान्तिकारी रूपान्तरण सम्भव छैन । विगतमा पार्टीको नेतृत्वमा खेलकुद मन्त्रालय तथा परिषद् रहेका बेला खेल क्षेत्रमा गुणात्मक सुधार देखिएको उदाहरण छ ।’
हालको सरकार खेलकुद विकासप्रति उदासीन रहेको आरोप लगाए। वर्तमान सरकारले पूर्वनिर्धारित राष्ट्रिय खेलकुद कार्यक्रमहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा अवरुद्ध गर्दै आएको पनि उनको आरोप थियो ।
खेलकुद क्षेत्रमा लगानी, जीवनको ग्यारेन्टी, र पेशागत वातावरण तयार गरिएमा यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउन सक्ने धारणा व्यक्त गरे ।
क्रिकेट रंगशालाहरूको निर्माण तथा तिनीहरूलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय माओवादी नेतृत्वको सरकारले गरेको उल्लेख गर्दै उनले जबजब माओवादी केन्द्रले खेलकुद मन्त्रालय सम्हाल्ने मौका पायो, तबतब खेल क्षेत्र र पूर्वाधारको विकासमा उल्लेखनीय प्रगति भएको बताए ।
उनले थपे, ‘जतिजति बेला माओवादी केन्द्रको नेतृत्वमा खेलकुद मन्त्रालय र परिषद् हुन्छ, त्यतिबेला खेल क्षेत्रमा गुणात्मक प्रगति भएको पाइन्छ । त्यसकारण, यस क्षेत्रको प्रगतिका लागि पार्टीको हिसाबले माओवादी केन्द्र र संगठनको हिसाबले अखिल नेपाल खेलकुद महासंघले मिहिनेत र हस्तक्षेप गर्नुपर्ने अवस्था छ ।’

Leave a Reply