नेपालगन्जस्थित १२ हजार बचतकर्ताको सहकारी घोटाला : ३७ करोड हिनामिना आरोपमा अध्यक्षसहित तीन जना पक्राउ

रुपन्देही । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तीय विकास संस्थामा ३७ करोड बढी रकम हिनामिनाको अभियोगमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीसहित सिद्धिकुमार महर्जन र सुरत खटिक रहेका छन् । अदालतको फैसला कार्यान्वयन टोलीले उनीहरुलाई पक्राउ गरेको हो । बाँके जिल्ला अदालतका सूचना अधिकारी तिर्थराज आचार्यले उनीहरु पक्राउ परेको जनाएका छन् ।

अध्यक्ष चौधरीलाई अदालतले ५ वर्ष कैद र ५० हजार जरिवाना तोकेको छ । उनी यसअघि एक वर्ष कैद बसेर २५ लाख धरौटीमा छुटेका थिए । जिल्ला अदालतको फैसलालाई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सदर गरेपछि चौधरी, महर्जन र खटिक पक्राउ परेका हुन् ।

अदालतले सहकारी घोटालामा १९ जनालाई कसुरदार ठहर गरेको छ । तीमध्ये सात जनाले कैद र जरिवाना भुक्तान गरिसकेका छन् भने अरु फरार रहेका छन् । कैद र जरिवाना काटेकाहरूसँग पनि बिगो उठाउन बाँकी रहेको अदालतले जनाएको छ ।

२०७६ असोज २८ गते जिल्ला अदालतमा सहकारी ऐन, ठगी र संगठित अपराधमा मुद्दा दायर भएको थियो। २०८० पुस २६ गते जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले ४१ जनामध्ये १९ जनालाई कसुरदार ठहर गरेको थियो ।

त्यसपछि २०८२ जेठ १४ गते उच्च अदालतले जिल्लाको फैसलालाई सदर गर्दै जिल्ला प्रशासनको नेतृत्वमा पीडित पक्ष ५ जनासहित विभिन्न निकायका प्रतिनिधि रहने गरी सहकारी सञ्चालक टोली बनाउन आदेश दिएको छ ।

जिल्लाको ठूला सहकारीमध्ये एक मानिने यस संस्थामा ११ हजार ८ सय ४ जना बचतकर्ता रहेका छन् । त्यसमध्ये १ हजार ५ सय ६ जनाले जिल्ला प्रहरी कार्यालयमा सनाखत गरेका छन् । अध्यक्ष चौधरीसहितका तीनै जना मधेस केन्द्रीत विभिन्न दलबाट राजनीति गरेका पात्र हुन् ।

अदालतको पक्राउ आदेश भएपनि उनीहरु बजार क्षेत्रमै रहेका थिए । स्थानीयका अनुसार लामो समय बचतकर्ताले यहाँ रहेको रकम अहिलेसम्म फिर्ता पाउन सकेका छैनन् । यसअघि अध्यक्ष चौधरीले आफ्नो सम्पति बेचेर भएपनि तिर्नेगरी कागज गरेर केही समय सहकारी संचालन गरेका थिए तर पुनः मुद्धा परेपछि बचतकर्ताको रकम थप अन्यौलमा परेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *