एमालेमा भाँडभैलो पर्खिनेहरू हेरेको हेर्‍यै

राजनीतिक इतिहासमा निर्णायक मोड लिने अवसर केही घटनाले सिर्जना गर्छन् । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन त्यस्तै एक ऐतिहासिक अवसरको संघारमा पुगेको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित गोदावरीमा हुने यो महाधिवेशन केवल पार्टीको सांगठनिक परिवर्तनको कार्यक्रम होइन, यो विचार निर्माण, कार्यदिशा पुनर्संरचना र भविष्यको रणनीति तय गर्ने महत्त्वपूर्ण थलो हो ।

नेपालमा वाम आन्दोलनको इतिहास लामो छ, उतारचढावले भरिएको छ । यति लामो समयसम्म टिक्न सक्नुको मूल कारण एमालेले मार्क्सवाद–लेनिनवाद र त्यसको नेपाली मार्ग, अर्थात् जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक बनाएर पार्टीलाई जनतामाझ स्थापित राख्न सकेको हो । यही सिद्धान्तको धरातलमा उभिएर यो विधान महाधिवेशनले अबको एमाले कस्तो हुनेछ भन्ने बाटो कोर्न गइरहेको छ ।

एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हो, जसले मार्क्सवादी समाजवादको लक्ष्यलाई शान्तिपूर्ण, लोकतान्त्रिक र प्रतिस्पर्धात्मक माध्यमबाट प्राप्त गर्ने बाटो देखाउँछ । जबजको मर्म भनेको सशक्त संगठन, वैचारिक स्पष्टता र जनताको विश्वासको बलमा समाजवादतर्फको यात्रा गर्नु हो ।

आजको सन्दर्भमा यो विचारधारालाई व्यवहारमा उतार्ने विषय झन् सान्दर्भिक बनेको छ । किनकि समाजमा बहुलता छ, वर्गीय विभाजन मात्र होइन, जातीय, भाषिक, भौगोलिक र लिङ्गीय भिन्नता पनि छन् । त्यसैले जबजले विकास गरेको बहुलताको सम्मान र सहभागितामूलक राजनीतिक प्रणाली नेपालको लागि उपयुक्त मार्ग हो भन्ने कुरा विधान महाधिवेशनले पुनः पुष्टि गर्नुपर्छ ।

२०७९ को निर्वाचनमा नै एमालेमुक्त नेपाल र केपी ओली मुक्त एमाले बनाउने मिसनका साथ एमाले विरुद्ध महागठबन्धन गरियो, एमालेलाई टर्चलाईट बालेर खोज्नु पर्ने बनाउँछौ भन्नेहरू आफैँ सूर्यको तेजको सामु तिलमिलाउन पुगे । यसबीचमा एमालेलाई कमजोर बनाउन धेरैथरिका पटकथाहरू रचिए । धेरै स्वादका स्क्रिप्टहरूका प्रहसन भए र त्यो क्रम नयाँ नयाँ स्वरूपमा अहिले पनि जारी देखिन्छ ।

वर्तमान महाधिवेशनले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’ भन्ने संकल्प अघि सारेको छ । यसको व्यावहारिक अर्थ हो- आगामी २०८४ सालको निर्वाचनमा नेकपा एमालेले एकल बहुमत प्राप्त गरेर सरकार निर्माण गर्ने जनमत बटुल्नुपर्ने हुन्छ ।

मिसन ८४ भनेको केवल निर्वाचन जित्ने लक्ष्य मात्रै होइन, यो व्यापक राष्ट्रिय समृद्धिको लक्ष्यतर्फको रणनीतिक कदम हो । यस्तो लक्ष्य प्राप्तिका लागि केवल नाराले पुग्दैन, गहिरो संगठन, ठोस नीति र जनतामाझ विश्वसनीयता कायम गर्नु अपरिहार्य हुन्छ ।

संगठनको सुदृढीकरण र अनुशासन र एकता पार्टीको मिसन हुनुपर्छ । त्यस्तै एक शक्तिशाली संगठन नै कुनै पनि पार्टीको मेरुदण्ड हो । एमालेजस्तो ठूलो पार्टीभित्र आन्तरिक बहस, मतभेद, गुनासाहरू स्वाभाविक हुन्छन्, तर ती गुनासालाई संवादमार्फत समाधान गरेर पार्टीभित्र एकता कायम गर्नु अहिलेको सबैभन्दा आवश्यक कार्य हो ।

पार्टीभित्र भाँडभैलोको अपेक्षा गर्नेहरूलाई यो विधान महाधिवेशनले स्पष्ट सन्देश दिनुपर्छ-एमाले एकजुट छ, अनुशासित छ र जनताको मुद्दामा समर्पित छ ।

महाधिवेशन सत्यको पक्षमा उभिने अठोट गर्नु पर्दछ । आजको राजनीतिक वातावरणमा एमालेमाथि संगठित रूपमा आक्षेप, भ्रम, र दुष्प्रचार गर्ने अभियान सञ्चालन भइरहेको छ । यस अभियानको मूल लक्ष्य पार्टी नेतृत्वलाई कमजोर पार्नु र राष्ट्रिय स्वाभिमानमाथि प्रहार गर्नु हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथिको निरन्तर हमला कुनै व्यक्तिगत कारणले होइन, राष्ट्रियताको अडान, आत्मनिर्भरता र समृद्धिको मोडलप्रति उनको अटल प्रतिबद्धता हो । यही कुरा विरोधीलाई खट्किएको हो ।

विधान महाधिवेशनले यस्तो भ्रमको राजनीति, आन्तरिक अवसरवाद र बाह्य हस्तक्षेपविरुद्ध एक स्पष्ट प्रतिवाद गर्दै एमालेलाई सत्यको पक्षमा उभिने साहसिक पार्टीको रूपमा पुनः स्थापित गर्नुपर्छ ।

एमाले मार्क्सवादी-लेनिनवादी पार्टी हो । मार्क्सवाद-लेनिनवादले भनेको छ-ठोस परिस्थितिको ठोस विश्लेषण गर, अनि मात्र नीति बनाऊ । न त परिस्थितिभन्दा धेरै अघि दौड, न त सुस्त भएर यथास्थितिवादी बन ।

नेपालको विशिष्ट सन्दर्भलाई बुझेर नीति निर्माण गर्ने क्षमता एमालेमा छ । समाजवादको नेपाली मार्ग तय गर्दा गम्भीर वैचारिक अनुशासन र व्यवहारिक समझदारी आवश्यक हुन्छ । अहिलेको विधान महाधिवेशनले यही बाटोलाई सुदृढ गर्दै जनतामाझ जबजको सामाजिकीकरण र प्रयोगलाई अझ स्पष्ट र प्रभावकारी बनाउनुपर्छ ।

राजनीति केवल चुनाव जित्ने यन्त्र होइन, यो जनतासँग सम्बन्ध बनाउने र जनताको समस्याको समाधान दिने प्रक्रिया हो । एमालेले सत्तामा रहँदा गरेका विकासका कार्यहरू, राष्ट्रिय स्वाभिमानको संरक्षणका प्रयासहरू, जनकल्याणकारी कार्यक्रमहरूलाई जनसमक्ष पुर्‍याउने, जनतासँग सम्बन्ध पुन:स्थापना गर्ने र आलोचना भएको ठाउँमा आत्म समीक्षा गर्दै सुधार गर्ने बाटो लिनुपर्छ ।

पार्टी नेतृत्वको आलोचना हुने स्वाभाविक हो, तर आलोचनालाई आत्म समीक्षा र सुधारको माध्यम बनाउनु पार्टीको दीर्घकालीन हितमा हुन्छ ।

दोस्रो विधान महाधिवेशन एमालेको भविष्य कोर्ने मोड हो । यो महाधिवेशनले विचारमा निष्ठा, संगठनमा अनुशासन, कार्यनीतिमा स्पष्टता, र जनतासँगको सम्बन्धमा इमानदारी देखाउनु पर्छ ।

यदि एमालेले जबजको आधारमा अगाडि बढ्ने प्रतिबद्धता, मिसन ८४ को रणनीतिक तयारी, र आन्तरिक एकता कायम गर्न सक्यो भने- ‘समृद्ध नेपाल, सुखी नेपाली’ केवल सपना होइन, हासिल हुने गन्तव्य बन्न सक्छ ।

विधान महाधिवेशन केवल कागजमा नीति बनाउने थलो होइन, यो एउटा ऐतिहासिक संकल्प हो- जसले एमालेलाई नयाँ ऊर्जासहित भविष्यतर्फ डोहोर्‍याउनेछ ।

अहिले देशमा नेकपा एमालेको नेतृत्वमा सरकार छ । सरकार र पार्टीको मूल नेतृत्वविरुद्ध जसरी चौतर्फी घेराबन्दी र हमलाका प्रयासहरू भइराखेका छन् त्यसको खास कारणको पहिचान गर्नु आजको अनिवार्य आवश्यकता बनिसकेको छ ।

कुप्रचार र दुष्प्रचारको सहारा लिएर हजार पटक भन्यो भने झूटलाई पनि सत्य साबित गर्न सकिन्छ भन्ने गोयवल्स शैलीका सेनामेनाहरू एमालेको मूल नेतृत्वको तेजोवध गर्नका लागी प्रतिगामी र प्रतिक्रियावादीका हेडक्वाटरबाट तैनाथ गरिएका छन् । यी सब चिजहरू कसले, किन र कुन उद्देश्यका लागि गरिरहेको छ ? यसका पछाडिको स्वार्थ के हो ? भन्ने कुरा स्पष्ट हुन जरुरी छ ।

कुरा प्रस्टै छ, ती देशी हुन् की विदेशी जो नेपाललाई सधैँ अस्थिरताको भूमरीमा फसाएर आफ्नो स्वार्थको रोटी सेक्न चाहन्छन् तीनिहरूले नेकपा एमाले पार्टी र यसको नेतृत्वलाई कमजोर नबनाई आफ्नो सपना पूरा हुन सक्दैन भन्ने राम्रोसँग बुझेका छन् । नेपाललाई विकास र प्रगतिको बाटोमा जान नदिने , स्वाभिमान र समृद्धिका सत्रुहरू नै एमाले कमजोर बनाउने मिसनमा मिथ्या प्रचारका मिसाइल चलाइरहेका छन् । यो कुरा एमालेका कार्यकर्ताहरूले मात्रै होइन हरेक सचेत देशभक्त नेपालीहरूले बुझ्न जरुरी छ ।

संगठनको सुदृढीकरण र अनुशासन र एकता पार्टीको मिसन हुनुपर्छ । त्यस्तै एक शक्तिशाली संगठन नै कुनै पनि पार्टीको मेरुदण्ड हो । एमालेजस्तो ठूलो पार्टीभित्र आन्तरिक बहस, मतभेद, गुनासाहरू स्वाभाविक हुन्छन्, तर ती गुनासालाई संवादमार्फत समाधान गरेर पार्टीभित्र एकता कायम गर्नु अहिलेको सबैभन्दा आवश्यक कार्य हो ।

स्वाभिमान र समृद्धिका पर्याय , सत्य सँग नलड्ने र  शक्ति सँग नझुक्ने अविचलित अठोटकै कारण सम्माननीय प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हमला भइरहेको कुरा घाम झैँ छर्लङ्गै छ । राजावादीदेखि माओवादीसम्म अनि विरोधकै भरमा विकल्प बन्न तम्सिएका लोकप्रियतावादी भनौँ या स्वतन्त्रको बर्को ओढेका अनेकवादीहरू ती सबैका न त कुनै विचार, दर्शन या दृष्टिकोण नै मिल्छ केपी ओलीविरुद्ध कसरी एक ढिक्का, एक कित्ता हुन्छन् देखिएकै छ । यसको चुरो विश्लेषण गर्दा कुरो एउटै आउँछ केपी ओलीको राष्ट्रियता र स्वाभिमान प्रतिको अडान र विकास र समृद्धि तर्फको उडान । अरु कुनै कारण नै होइन ।

२०७९ को निर्वाचनमा नै एमालेमुक्त नेपाल र केपी ओली मुक्त एमाले बनाउने मिसनका साथ एमाले विरुद्ध महागठबन्धन गरियो, एमालेलाई टर्चलाईट बालेर खोज्नु पर्ने बनाउँछौ भन्नेहरू आफैँ सूर्यको तेजको सामु तिलमिलाउन पुगे । यसबीचमा एमालेलाई कमजोर बनाउन धेरैथरिका पटकथाहरू रचिए । धेरै स्वादका स्क्रिप्टहरूका प्रहसन भए र त्यो क्रम नयाँ नयाँ स्वरूपमा अहिले पनि जारी देखिन्छ ।

आफ्नै घर जलाएर खरानीको व्यापार गर्न हिँडेकाहरू खरानीको व्यापारमा पनि टाट पल्टिए पछि कहिले मूल घरतर्फ धारे हात लगाउने त कहिले आफ्नै पुर्पुरो बजार्ने गरिनैरहेका छन् । पार्टीलाई कमजोर बनाउन पार्टीभित्रै पनि मौका कुरेर बसेकाहरू सलबलाउन खोजेका छन् । ती सबै निरर्थक प्रयत्नहरू पानीको फोका जसरी फुटेर जानेछन् ।

पार्टीभित्रका जायज चासोहरू संवादका माध्यमबाट हल गर्दै चुनौतीलाई अवसरमा रूपान्तरण गरी आन्तरिक एकता अझै मजबुत, विश्वासिलो र फराकिलो बनाउनु आजको आवश्यकता हो । आँखा तेजिलो र कान चनाखो बनाएर एमालेतिर हेरिरहेका विरोधीहरूका अगाडी अभूतपूर्व एकता प्रदर्शन गर्दै दोस्रो विधान महाधिवेशन भव्यताका साथ सम्पन्न गर्नु नै अहिलेको अपरिहार्यता हो ।

विधान महाधिवेशन सम्पन्न गरेर गोदावरीबाट फर्कँदै गर्दा विचारमा ‘निष्ठा गन्तव्यमा स्पष्टता’, ‘मिसन ८४’ मा आधार, एमालेको एकल बहुमतको सरकार’ यही अर्जुन दृष्टि बोकेर प्रतिनिधिहरू आ-आफ्नो क्षेत्र फर्कनु पर्नेछ ।

यत्ति चाहिँ किटानीका साथ भन्न सकिन्छ कि एमाले मुक्त नेपाल र केपी ओली मुक्त एमालेको सपना देखेर बसेकाहरूको सपना फेरी पनि हुरीले उडाउने छ । एमालेमा भाँडभैलोको प्रतीक्षा गरिरहेकाहरूको हालत दुर्गेश थापाको गीतले भनेझैँ हुनेछ, दुस्मन हेरेको हेर्‍यै ।

(लेखक प्रेस चौतारी नेपालका महासचिव हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *