आलोचना दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गर्‍यो, अदालतको आदेशको समेत अपव्याख्या गर्दैछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल नियन्त्रण नभई उचित नियमनको पक्षमा अडिग रहेको बताएका छन् । संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको आरोप लगाए ।

प्रचण्डले भनेका छन्, ‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने र आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ ।’

सरकारको यो कदम संविधान विरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र नभई सामाजिक सञ्जाल प्रकाशन/प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या समेत गरेको दाबी गरे।

‘यस निर्णयले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, देशको अर्थतन्त्रलाई निरन्तर टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क तथा सञ्चारलाई समेत जटिल र असहज बनाएको छ’ प्रचण्डले भनेका छन्, ‘हाम्रो पार्टी सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमनको पक्षमा अडिग छ ।’

संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम भएको बताए।

उनले भनेका छन्, ‘अतः, म संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, यस निर्णय तत्काल खारेज गर्न जोडदार माग गर्दछु ।’

Comments

2 responses to “आलोचना दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गर्‍यो, अदालतको आदेशको समेत अपव्याख्या गर्दैछ : प्रचण्ड”

  1. समिर Avatar
    समिर

    टिकटक कसले बन्द गरेको हो ? जे बोलेपनि हुने है नेपालका नेतालाई

  2. ksp pyl Avatar
    ksp pyl

    कम्तिमा प्रचण्डलाई चाहिँ यसो भन्न लाज लाग्नुपर्ने हो । टिकटक बन्द गराउने अनि लाजशरम पचाएर विरोध गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *