काठमाडौं । बेइजिङमा आयोजित ८०औँ ‘भिक्ट्री डे’ सैन्य परेडमा चीनले ऐतिहासिक विजयलाई स्मरण गर्दै आधुनिक सैन्य शक्ति प्रदर्शन मात्र गरेन, विश्वका प्रभावशाली नेता र देशहरु आफूसँग रहेको सन्देश समेत दिन खोज्यो ।
राष्ट्रपति सी जिनपिङको आतिथ्यमा रुस, उत्तर कोरिया, नेपाल, भियतनाम, क्युबा, लाओस, इन्डोनेसिया, मलेसियालगायत समाजवादी र सहयोगी मुलुकका नेताहरूको उपस्थिति थियो ।
परेडमा राष्ट्रपति सी जिनपिङले चीन र सहभागी राष्ट्रबीचको ऐतिहासिक मित्रता र नयाँ बहु ध्रुवीय विश्व व्यवस्था निर्माणको सन्देश दिए।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उन, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित भियतनाम, लाओस, क्यूबा र अन्य एससीओ/ब्रिक्स मुलुकका नेताहरू उपस्थित रहे। उनीहरूको सहभागिता चीनले अघि सारेको ‘Global Initiatives’ – विकास, सुरक्षा र सभ्यता-प्रति समर्थनको संकेत मानिएको छ।
परेडमा अत्याधुनिक मिसाइल, ड्रोन, लडाकु विमान र साइबर क्षमतासहित चीनको सैन्य शक्ति देखाइयो। यसले चीनलाई केवल ऐतिहासिक स्मृतिमा होइन, भविष्यको विश्वव्यवस्थामा प्रमुख शक्ति बनाउन खोजिएको स्पष्ट गर्यो।
चीनको यो परेडले इतिहास सम्झाउँदै वर्तमान भू–राजनीतिक प्रतिस्पर्धामा चीनको भूमिकालाई अझै प्रष्ट पारेको छ । सहभागी नेताहरूको उपस्थिति चीनको नेतृत्वमा बहु ध्रुवीय विश्वव्यवस्थाको समर्थनको रूपमै बुझिएको अन्तर्राष्ट्रिय मिडिया विश्लेषणहरू आइरहेका छन् ।
सहभागी नेताहरू
यस परेडमा चीनका राष्ट्रपति सी जिनपिङ स्वयं प्रमुख आयोजकका रूपमा उपस्थित थिए। उनीसँगै विश्वभरका प्रभावशाली नेताहरू उपस्थित भए, जसले परेडलाई केवल चीनकै नभई समाजवादी र वैकल्पिक विश्वव्यवस्थाको ऐक्यबद्धताको प्रदर्शनमा परिणत गराएको विश्लेषण भइरहेको छ ।
किनकि परेडमा सहभागी अधिकांश नेता कम्युनिस्ट विचारधारा, समाजवादी वा राष्ट्रवादी विचार पृष्ठभूमिका थिए ।
किम जोङ उनले चीन–उत्तर कोरिया सम्बन्ध अझै मजबुत भएको सन्देश दिए भने भ्लादिमिर पुटिनले आफ्नो ‘रणनीतिक साझेदारी’ चीनसँग पुनः पुष्टि गरेको देखाए । त्यस्तै केपी शर्मा ओलीले एससीओ सम्मेलन र परेड दुवै कार्यक्रममा सहभागी भएर नेपाललाई चीन–भारतबिचको भूराजनीतिक बहसमा सन्तुलन खोज्ने अवसर बनाएका छन्।
भियतनाम, लाओस र क्यूबाका कम्युनिस्ट नेताहरू भने समाजवादी एकताको प्रतीकका रूपमा सहभागी भएका थिए । केही अन्य एससीओ र ब्रिक्स मुलुकका नेताहरूले पनि उपस्थिति जनाए, जसले चीनले निर्माण गर्न खोजेको बहु ध्रुवीय विश्वव्यवस्थालाई बलियो आधार दिएको देखिन्छ।
चीनको भिक्ट्री परेडमा सहभागी विश्वका शीर्षस्थ नेता सबै कम्युनिस्ट हुन् ? अवश्य पनि होइनन् । परेडमा चीन, उत्तर कोरिया, भियतनाम, लाओस, क्यूबा जस्ता कम्युनिस्ट/समाजवादी विचारधारा अपनाएका मुलुकका नेता उपस्थित थिए।
तर त्यहाँ रुसका सर्वकालीक नेता पुटिन पनि थिए ।
रुस आजको दिनमा सोभियतकालीन कम्युनिस्ट शासन नभएर राष्ट्रवादी–केन्द्रित शासनमा छ । यद्यपि पुटिन सोभियत विचारधाराबाट प्रभावित नेता हुन् उनी साम्यवादी शासनका पक्षधर थिए । हालै पुटिनले स्टालिनको सालिक मस्कोमा पुनर्स्थापित गरेर विश्वलाई नयाँ सन्देश दिएका छन् कि उनी कम्युनिस्ट पार्टीका नेता होइनन् तर त्यो विचार र विरासतबाट टाढा पनि छैनन् ।
परेडमा सहभागी नेपालका प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट पार्टीका अध्यक्ष हुन् तर नेपाल कम्युनिस्टको एकल सत्ताको अभ्यासमा भने छैन । अन्य केही मुलुकका गैर–कम्युनिस्ट नेताहरू पनि सहभागी भएका थिए परेडमा ।
चीनले यस परेडलाई वैश्विक शक्ति प्रदर्शन र ऐतिहासिक स्मरणको रुपमा प्रस्तुत गरेको हुँदा विभिन्न राजनीतिक पृष्ठभूमिका नेताहरू निमन्त्रणा स्वीकारेर आएका थिए।
परेडमा सहभागी २६ देशका शीर्षस्थ नेतामध्ये ७ जना कम्युनिस्ट थिए भने अन्यमा राष्ट्रवादी,समाजवादी र मिश्रित लोकतन्त्र मान्ने तथा अधिनायकवादी पनि थिए । चिनियाँ मिडियाहरुलाई निम्न नेतालाई वामपन्थी र कम्युनिस्ट भनेका छन् ।
१. सी जिनपिङ चीन (चिनियाँ) कम्युनिस्ट पार्टी
२. किम जोङ उन (उत्तर कोरिया) वर्कर्स पार्टी
३. तोम लम (भियतनाम) कम्युनिस्ट पार्टी
४. थोंगलुन सिसौलिथ (लाओस) कम्युनिस्ट पार्टी
५. मिगुएल डियास कानेल (क्यूबा) कम्युनिस्ट पार्टी
६. केपी शर्मा ओली (नेपाल) कम्युनिस्ट पार्टी (एमाले)
७. भ्लादिमिर पुटिन (रूसी) केन्द्रीकृत राष्ट्रवादी शासन (गैर–समाजवादी, तर सोभियत परम्पराको प्रभाव)
यसर्थ, सहभागी सबै नेता कम्युनिस्ट वा समाजवादी होइनन्, तर कम्युनिस्ट परम्परासँग नजिक मुलुकका नेताहरूको उपस्थिति बढी थियो।

Leave a Reply