सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयको प्रभाव : ‘बलिदान’को ‘आमा’ गीत आज रिलिज नहुने

काठमाडौं । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालहरू निष्क्रिय गर्ने सरकारको निर्णयको असर चलचित्र क्षेत्रमा समेत परेको छ । आउँदो दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बलिदान’को ‘आमा’ शीर्षकको गीत आज दिउँसो पाँच बजे सार्वजनिक हुँदै थियो ।

निर्माता तथा निर्देशक सन्तोष सेनले हिजो गीतको पोस्टर समेत सार्वजनिक गरेका थिए । तर, सरकारले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णय गरेपछि अहिले फेसबुक, ह्वाट्सएप लगायत प्ल्याटफर्म आंशिक रूपमा मात्रै चलिरहेका छन् । यही कारण ‘बलिदान’ टिमले ‘आमा’को रिलिज अनिश्चितकालसम्मका लागि पोस्टपोन्ड गरेको छ ।

यस विषयमा सेनले भने, ‘सामाजिक सञ्जालमै समस्या आएपछि हामीले क्यान्सिल नै गर्नुपर्ने अवस्था आयो । अब सबै परिस्थिति अनुकूल भएपछि मात्रै सार्वजनिक गर्छौँ । तैपनि यस विषयमा हामीले टिमसँग बसेर छलफल गरिरहेका छौँ ।’

अहिलेलाई गीत रिलिज कार्यक्रम पोस्टपोन्ड भए पनि चलचित्र भने निर्धारित मितिमै प्रदर्शन हुने सेनले बताए । उनले भने, ‘बलिदान हेर्नलाई दर्शकहरू प्रतीक्षा गरेर बसिरहनुभएको छ । उहाँहरूकै लागि भौतिक रूपमा प्रचारप्रसार गरेर भए पनि चलचित्र फूलपातीमै रिलिज गर्छौँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *