काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन केहीबेरमा उद्घाटन हुँदै छ । तीन दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशनका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पुगिसकेका छन् ।
महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना २ हजार ३ सय ४१ जना सहभागी हुने पार्टी प्रचार विभागका सदस्य राजेन्द्र गौतमले बताए ।
महाधिवेशन स्थलमा पुग्ने सातदोबाटोदेखि गोदावरी सम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ । एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ ।
गौतमका अनुसार उद्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगबाट हुनेछ । महाधिवेशन स्थललाई झकिझकाउ बनाउन प्रवेश द्वारबाट महाधिवेशन हल छिर्दासाथ दायाँतिर प्रधानमन्त्री ओलीको पूर्ण कदसहित हात उठाएको तस्बिर, दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ ।

पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलिरहेका हुनेछन् । महाधिवेशन स्थल परिसरमा नेकपा संस्थापक पुष्पलाल, पूर्व प्रधानमन्त्री मनमोहन र जननेता मदन भण्डारीका पूर्ण कदका तस्बिर छन् । यसैगरी कार्लमाक्र्स, फ्रेडरिक एंगेल्स र लेनिनका पनि पूर्ण कदका तस्बिरहरू राखिएका छन् ।
उद्घाटन समारोहमा सभा हलभित्र धुन बजिरहँदा बाहिर मिडिया सेन्टरमा कलाकारहरूले आर्ट बनाउने र त्यसको लाइभ भित्र हलमा पनि गरिने उनले बताए। झाँकीहरू हल बाहिर नै प्रदर्शनको व्यवस्था गरिएको छ ।
उद्घाटनपछि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
यस्तै, निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै पेश गरिने उनले बताए ।
आज भएका प्रस्तावहरूमा भोलि नौ वटा समूहमा छलफल हुने र पर्सी समूहले पेश गरेका प्रतिवेदन प्रस्तुतिसहित अध्यक्ष ओलीले सम्बोधन गरेर महाधिवेशन सकिने उनले बताए ।








Leave a Reply