काठमाडाैं । चलचित्र निर्माता संघले सन्तोष सेन र रोहित अधिकारीबीच भइरहेको आरोप-प्रत्यारोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
दुई पक्षबीच सार्वजनिक रुपमा अशिष्ट अभिव्यक्ति आदान–प्रदान हुँदै गएको, आपसी आरोप–प्रत्यारोप र विवादले अनावश्यक रूपमा व्यक्तिगत तहसम्म प्रवेश गरेको सम्बन्धमा नेपाल चलचित्र निर्माता संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञाप्तिमा भनिएको छ, ‘यस प्रकारको अव्यावसायिक र अमर्यादित परिस्थितिले केवल सम्बन्धित पक्षलाई मात्र नभई चलचित्र क्षेत्रको मर्यादा, शिष्टाचार र स्वस्थ वातावरणमा साङ्गोपाङ्गो असर पुर्यासएको छ ।’
संघले सन्तोष र रोहितलाई संयमित रहेर स्वास्थ वार्ता र संवादको बाटोबाट विवाद समाधान गर्न समेत अनुरोध गरेको छ । विज्ञाप्तिमा भनिएको छ, ‘तपाईँहरू बीचको व्यक्तिगत असन्तुष्टिलाई सार्वजनिक स्तरमा विवादका रूपमा प्रस्तुत गर्नु भनेको चलचित्र उद्योगकै लागि प्रतिउत्पादक हुनु हो । त्यसैले, निर्माता संघ सम्बन्धित पक्षलाई चाँडै आपसी छलफल गरी विगतका तिक्ततालाई अन्त्य गरी मित्रवत वातावरण सिर्जना गर्न तयार रहन विशेष आग्रह गर्दछ।’
साथै यस प्रक्रियामा सहजकर्ता तथा संयोजनकारी भूमिकामा गर्न निर्माता संघ तयार रहेको समेत उल्लेख गरिएको छ । केही दिनयता ‘माइतीघर’का निर्माता रोहित र ‘बलिदान’का निर्माता तथा निर्देशक सन्तोषबीच सामाजिक संजालमा आरोप–प्रत्यारोप चलिरहेको छ । दुवै चलचित्र आउँदो दशैंको फुलपातिमा प्रदर्शनमा आउँदेछन् ।


Leave a Reply