इन्टरनेट व्यवसायी भन्छन्- सरकारको निर्णय पालना गर्छौं

काठमाडौं । इन्टरनेट सेवा प्रदायक एशोसियसनका अध्यक्ष सुधीर पराजुलीले सरकारको निर्णय भएकाले बन्द गर्न भनिएका सामाजिक सञ्जाल आधिकारिक पत्र आएपछि बैठक बसेर बन्द गर्ने बताएका छन् ।

नेपाल प्रेससँगको कुराकानीमा पराजुलीले आधिकारिक पत्र आएपछि डोमेन नाम प्रणाली (डीएनएस) बाट तत्काल बन्द गर्ने बताए ।

उनले फेसबुक, युट्यूवलगायतका सामाजिक सञ्जाल बन्द भएपछि व्यवसायमा चरम प्रभाव पर्ने जिकिर गरे ।

उनले भने, ‘सरकारको निर्णय मान्नै पर्‍यो । यसले मानिसको जीवनमा त प्रभाव पार्ने स्वाभाविक कुरा हो । यसले व्यवसाय क्षेत्रमा पनि प्रभाव पार्छ । अहिले इन्टरनेटको जमानामा सबै सामाजिक सञ्जालमै निर्भर छन् । सबै काम अनलाइनबाट भइरहेको हुन्छ।’

सामाजिक सञ्जालमा खर्चिरहेको समय अब ऊर्जाशील भएर उत्पादनमूलक काममा लगाउनुपर्ने उनको भनाइ छ ।

‘सामाजिक सञ्जाल भन्ने बित्तिकै २४ घण्टा नै त्यसमा झुण्डिएर बस्नुपर्दैन । जसरी समयलाई सामाजिक सञ्जालमा खर्चिरहेका थियौँ अब त्यसलाई उर्जाशिल भएर क्रियटिभ काममा लगाउनुपर्‍यो।’ उनले भने ।

सञ्चार मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई पत्राचार गर्दा पनि कुनै प्रतिक्रिया नआएपछि बन्द गर्ने प्रक्रिया अगाडि बढाएको उनको तर्क छ । टिकटक पनि एकचोटि बन्द गरेको र प्रक्रिया पूरा भएपछि प्रतिबन्ध फुकुवा गरेको उल्लेख गर्दै उनले पछि फुकुवा गर्ने सरकारको निर्णयपछि पुनः सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

सर्वोच्च अदालतको पटक-पटकको आदेश र मन्त्रिपरिषद् बैठकको निर्णय तथा पटक-पटकका सूचनाहरूका आधारमा दर्ता हुन नमानेका प्लेटफर्महरू निष्क्रिय पार्न सरकारले आजै निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अदालतको आदेश र सरकारको निर्णयबमोजिम आजै बन्द गर्नेगरी सामाजिक सञ्जालहरू सूचीसहितको सूचना जारी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *