डोटी । लामो समयदेखि ठेकेदारले काम नगरी सडक अलपत्र पारेको विरोधमा कैलालीको गोदावरी नगरपालिकाका चार वटा वडाले सडकबाटै कार्यालय राखी सेवा प्रवाह सुरु गरेका छन् ।
चौकी–ओलानी–फल्टुडे सडक निर्माणको कार्य निर्माण व्यवसायीले विगत ६ वर्षदेखि अलपत्र पारेको भन्दै त्यस क्षेत्रका चार वडा कार्यालयहरू आन्दोलित भएका हुन् ।
आन्दोलन स्वरूप गोदावरी नगरपालिकाका वडा नं. ३, १०, ११ र १२ ले बिहीबारदेखि सडकबाटै कार्यालय खडा गरी सेवा प्रवाह दिन थालेका छन् । सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको वडाध्यक्षहरूको आरोप छ ।
सो को विरोध गर्दै चारै वडाध्यक्षहरूले सोही सडक खण्डको चाक्लेखोला भन्ने ठाउँमा सडकबाटै वडा कार्यालय सञ्चालन गरेका हुन् ।
सडक निर्माणका लागि पटक पटक आवाज उठाउँदा पनि ठेकेदारले लापरबाही गरेका कारण सम्बन्धित पक्षलाई दबाब दिन सडकबाटै वडा कार्यालय सञ्चालन गर्नु परेको वडा नं. १० का वडाध्यक्ष रवीन्द्र शाही बताउँछन् ।
सडक समयमै निर्माण नहुँदा स्थानीयवासीले ६ वर्षेदेखि सास्ती खेप्नु परेको उनको भनाइ छ । उनले सडक निर्माणमा भइरहेको लापरबाही रोक्न र सडक निर्माण गर्न पटक पटक पहलकदमी गरे पनि ठेकेदारले अटेरी गर्दा बाध्य भएर सडकमा उत्रिनु परेको बताए ।
सुदूरपश्चिम प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि बढाइएको यो सडकलाई सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा यातायात गर्ने वैकल्पिक सडकमा रूपमा हेरिएको थियो । भिमदत्त राजमार्गको विकल्पका रूपमा रहेको उक्त सडक गोदावरी नगरपालिकाको चौकी डाडाँदेखि चुरे गाउँपालिकाको फल्टुडे जोड्ने सडक हो ।
एक वर्षभित्रै सडक निर्माणको लागि मालाखेती सेतो पुलदेखि पूर्वाधार विकास कार्यालय धनगढीले २०७७ भदौ १८ गते एडभेन्चर, थेगिङ, सनलाइट जेभीसँग ठेक्का सम्झौता गरेको थियो । गोदावरी नगरपालिका–१० को कार्यालयसम्म अढाई किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरिए पनि सो सडक अलपत्र छ ।
पाँच करोड ८४ लाखमा ठेक्का सम्झौता भएको सो सडक निर्माणका लागि पटक–पटक म्याद थप्दा पनि ठेकेदारले हालसम्म नाली निर्माणको काम पनि पूरा गर्न नसकेको स्थानीयको भनाइ छ ।
यो खण्डको कार्य निर्माण व्यवसायीले अलपत्र पारेकै बेला पूर्वाधार विकास कार्यालयले वडा १० नं. वडा कार्यालयदेखि बान्द्रेखालसम्म ३ किलोमिटर कालोपत्रे गर्न २०७९ चैत १८ गते निर्माण कम्पनी तेडी निर्माण सेवासँग ठेक्का सम्झौता गर्यो । १८ महिनाभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने काम अझै भएन । उक्त ठेक्का सम्झौताको रकम पाँच करोड ७६ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply