विराटनगर । सुनसरीको झुम्कास्थित कारागारमा तीन जना कैदी बन्दीको मृत्यु भएको छ । कारागारमा फैलिएको उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणको रोगका कारण तीन जनाको मृत्यु भएको हो ।
कारागारमा दर्जन बढी यस्तै लक्षण भएका बिरामी छन् । कारागारमा रहेका १९ जनालाई उपचारका लागि बीपी प्रतिष्ठानमा भर्ना गरिएको छ । कारागार प्रशासनले सुरुमा ६ जनालाई उपचारका लागि पठाएकोमा स्वास्थ्यकर्मीको टोलीले बुधवार राति थप १३ जनालाई प्रतिष्ठान पठाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरी, राजविराज ८ का ४६ वर्षीय जलेश्वर यादव, सुनसरीको गढी गाउँपालिका ६ का ४८ वर्षीय रामदेव उराँव र धरान १० का २४ वर्षीय सागर राईको सोही रोगबाट मृत्यु भएको हो । उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको सजाय भोगिरहेका थिए भने राई लागु औषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए ।
बुधवार दिउँसो स्वास्थ्य अवस्था बिग्रिएर बेहोस भएपछि यादवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। सोमवार उराँव र राईको मृत्यु भएको थियो ।
उराँवलाई शनिवार राति श्वासप्रश्वासमा समस्या देखिएपछि बीपी प्रतिष्ठान लगिएको थियो । राईलाई बान्ता हुने र शरीर नचल्ने समस्या आएपछि अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा सोमबार उनीहरूको मृत्यु भएको हो ।
तीन कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा कारागारमा स्वास्थ्य सञ्चालन गरिएको थियो । बुधवार रातिदेखि जारी शिविरमा दुवै ब्लकका कैदीहरूको स्वास्थ्य परीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । उनले भने, ‘अहिले सम्म ५५३ कैदीको स्वास्थ्य परीक्षण भएको छ । चिकित्सकको टोलीले स्वास्थ्य प्रशिक्षण गरिरहेको छ ।
जिल्ला अस्पताल इनरुवा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर कारागारभित्र स्वास्थ्य चेकजाँच पनि भइरहेको प्रशासनले जनाएको छ । चिकित्सकको टोली भाइरल ज्वरोको प्रकोप फैलिएको निष्कर्ष निकालेको प्रजिअ मिश्रले जानकारी दिए । झुम्का कारागारका १ हजार ७९४ जना कैदी बन्दी रहेका छन् ।

Leave a Reply