पोखरा । पाताले छाँगो ४० वर्षका लागि निजी कम्पनीलाई पोखरा महानगरको निर्णय कार्यान्वयन गर्न खोज्दा पुनः विवाद सिर्जना भएको छ ।
सिसाको पुल लगायत पूर्वाधार निर्माण गर्ने र सञ्चालन पनि गर्ने गरी जिम्मा पाएको सेती क्यानोनिङ प्रालिले काम सुरु गर्न खोज्दा स्थानीयले अवरोध गरेका हुन् ।
कम्पनीले आज संरचना निर्माण गर्न सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो । तर, स्थानीयले त्यसलाई बिल्थोल्न खोजेपनि थप विवाद हुन पुग्यो । स्थानीय तथा पार्टीका नेताले लगातार नाराबाजी गरेपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कार्यक्रममा नबोली निस्किए । कम्पनीले केहि दिनअघि पनि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो ।
त्यसपछि पनि स्थानीयले नाराबाजी र विरोध गरिरहे । विवाद बढ्दै जाँदा विद्यार्थी नेता निर्दोष पौडेलमाथि खुकुरी प्रहार हुन पुग्यो । खुकुरी प्रहार गर्ने बंशसिंह खवासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
२०३४ देखि छोरेपाटन माध्यमिक विद्यालयले भोगचलन गर्दै आएको पाताले छाँगो महानगरले ४० वर्षका लागि निजी कम्पनीलाई दिने सम्झौता गरेसँगै स्थानीयहरुले विरोध गर्दै आएका छन् । छोरेपाटन माविको आम्दानीको स्रोत बन्द हुने चिन्तामा उनीहरु विरोधमा उत्रिएका हुन् ।
तत्कालीन नगर योजना समिति (पोखरा उपत्यका नगर विकास समिति) ले २०३४ चैत ३१ गते छाँगोको गेट, रेलिङ र भर्याङको सुधार गरी रेखदेख गर्ने गरी छोरेपाटन माविलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । त्यसयता त्यसको रेखदेखदेखि भोगचलन छोरेपाटन माविले गर्दै आएको थियो ।
तर, महानगनरका तत्कालिन मेयर मानबहादुर जिसीले सेती क्यान्योन प्रालिलाई २०७८ साउन १४ गते छाँगोमा सिसाको पुल निर्माण र अन्य पूर्वाधार विकास आयोजना सञ्चालनका लागि ४० वर्षका लागि जिम्मा दिने सम्झौता गरेपछि यो विवाद सिर्जना भएको हो । वर्तमान मेयर धनराज आचार्यले पनि उक्त निर्णयलाई स्विकृत दिएका थिए । महानगरको १७औं कार्यपालिका बैठकले पुरानो निर्णयलाई सदर गरेर ठेक्का दिने निर्णय गरेका थियो ।

Leave a Reply