रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा रुपन्देही जिल्ला समितिले रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनका लागि आकांक्षी उम्मेदवार सिफारिस गरेको ५२ दिनपछि केन्द्रीय समितिले आन्तरिक प्रारम्भिक निर्वाचन गरी उम्मेदवार छान्ने निर्णय गरेपछि विवाद सृजना भएको छ ।
प्रदेश समिति र रुपन्देही जिल्ला समितिकै मुख्य जिम्मेवारीमा रहेका नेता कार्यकर्ताले केन्द्रीय समितिको यो प्रक्रिया गलत भएको जनाएका छन् भने कतिपय नेता कार्यकर्ताहरूले बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
असार २९ गते नै जिल्ला समितिले रुपन्देही ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राप्रपाले जिल्ला तथा क्षेत्रीय कार्यसमितिबाट ६ जनाको नाम सिफारिस गरिसकेको छ ।
केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवार सिफारिस भएका ४ जना आकांक्षीसँग सामूहिक छलफल गरी जसले टिकट पाए पनि एकअर्कालाई सहयोग गरेर जाने सहमति पत्रमा हस्ताक्षरसमेत गराइसकेका थिए तर, मङ्गलवार संसदीय समिति बैठक राखेर प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने निर्णय सार्वजनिक गरेपछि पार्टी भित्रैबाट यसको विरोध भएको छ ।
अध्यक्ष लिङ्देन पक्ष प्राइमरी इलेक्सनको पक्षमा उभिँदा विक्रम पाण्डे र धवल शमशेर लगायतको संस्थापन इतर पक्ष भने विरोधमा देखिएको हो । अध्यक्ष लिङ्देनले विधान विपरीत संसदीय समिति बैठकको अध्यक्षता गरेर प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गर्ने निर्णय गरेको भन्दै विरोध भएको हो ।
विधानले भनेअनुसार संसदीय समितिमा रहने सबैलाई जानकारीसमेत नदिई अध्यक्ष लिङ्देनले प्राइमरी इलेक्सनमा जाने निर्णय गरेको आरोप संस्थापनइतर पक्षले लगाएको छ । राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले यो विधि नराम्रो नभए पनि अहिले समय अनुकूल नभएकोले सम्भव नभएको नेपाल प्रेसलाई जनाए ।
‘विधि नराम्रो होइन, समय मिलेन, यसै त आकांक्षीहरुकै समस्या छ, जिल्लाले सिफारिस गरेको यति धेरै दिन भयो, पारिवारिक विवाद छ उम्मेदवारबीच नै, यो प्राइमरी इलेक्सनले तल्लो तहसम्म विभाजन हुन्छ पार्टीलाई समस्या हुन्छ भन्ने प्रदेश र जिल्लामा रहेका नेता कार्यकर्ताको चिन्ता हो’ उनले भने ‘तल्लो कमिटीको भावना नबुझी केन्द्रले यस्तो निर्णय गरेकोजस्तो लायो, केन्द्रले भन्दा जिल्ला र स्थानीय तहमा रहेका नेताले अवस्था बुझेका छन्, ती कमिटीको सल्लाहमा अघि बढ्नु जरुरी हुन्छ ।’
संसदीय समितिमा पदेन सदस्य रहेका उदयले सामाजिक सञ्जालमै लिङ्देनको अध्यक्षतामा संसदीय समिति बैठक विधानअनुसार बस्न नसक्ने र कुनै निर्णय लिन नसक्ने उल्लेख गरेका छन् । प्राइमरी इलेक्सनबाट उम्मेदवार तय गर्न लागेपछि राप्राभित्रैबाट यसलाई बहिस्कार गर्ने चेतावनीसहित विज्ञप्तिहरू जारी हुन थालेको छ ।
राप्रपा ओमसतिया २ रुपन्देहीका अध्यक्ष तथा जिल्ला सदस्य ज्ञानेश श्रेष्ठले मङ्गलवार विज्ञप्ति जारी गर्दै प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्ने तयारीको विरोध गरेका छन् । श्रेष्ठले राप्रपाको विधि र विधानमा प्राइमरी इलेक्सन गर्ने व्यवस्था नै नरहेको जनाए । रुपन्देही ३ (२) का राप्रपा अध्यक्ष प्रेमबहादुर कुँवरले पनि विज्ञप्ति निकालेर पार्टीले गर्ने भनेको प्राइमरी इलेक्सन बहिस्कार गर्ने चेतावनी दिएका छन् । क्षेत्र नम्बर ३ क्षेत्रीय कार्यसमितिका सचिव शंकर कार्कीले विज्ञप्ति निकालेर प्राइमरी इलेक्सनको नाममा क्षेत्रीय समितिमा विभाजन ल्याउन खोजिएको भन्दै विरोध गरे ।
क्षेत्रीले क्षेत्र नं. ३ राप्रपाका नेता दीपक बोहराको विरासत भएको क्षेत्र भएकोले प्राइमरी इलेक्सनका नाममा विरासत भत्काउने प्रयत्न भएको भन्दै जिल्ला पार्टीलाई उक्त कुरा स्वीकार्य नहुने बताए । यसअघि साउनको पहिलो साता नै पार्टी केन्द्रबाट भने बमोजिम ६ जना आकाङ्क्षीहरुको नाम सिफारिस गरेर पठाएको उल्लेख गर्दै पहिले पठाएका नामहरूबाटै उम्मेदवार छनोट गर्नुपर्ने जनाए ।
राप्रपाले रुपन्देहीबाट पार्टीका केन्द्रीय सदस्यद्वय स्वाती थापा र वसन्तविक्रम शाही, रुपन्देही अध्यक्ष सागरप्रताप राणा, स्व. दीपक बोहराका छोराहरू गौरव बोहरा, प्रज्ज्वल बोहरा र जिल्ला नेता दिलीप मल्लिकको नाम सिफारिस गरेको छ । यसै गरी रुपन्देही क्षेत्र नं ३ को क्षेत्रीय कमिटीले पनि प्राइमरी इलेक्सनमा भाग नलिने जनाएको छ ।
राप्रपा रुपन्देहीका सहसचिव शंकर क्षेत्रीले प्राइमरी इलेक्सन सम्भव नभएको भन्दै राप्रपा रुपन्देही जिल्ला कमिटीले बहिस्कार गर्ने निर्णय गरेको बताए। रुपन्देहीको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दीपक बोहराको गएको चैत्र १९ गते निधन भएपछि रिक्त रहेको उक्त क्षेत्रमा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।
प्राइमरी इलेक्सन गर्ने निर्णय गरेलगत्तै राप्रपा नेता प्रोज्ज्वल बोहोराले रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। बोहोराले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले उम्मेदवारी दिने निर्णयमा पुगेको जानकारी दिएका हुन्।
उनले लेखेका छन् ‘मेरो पूजनीय बुबा स्व. दीपक बोहराज्यूको दुःखद निधनपछि उहाँले अपुरो छोड्नु भएको सपना र जनताप्रतिको समर्पणलाई निरन्तरता दिनका लागि आफूले उम्मेदवारी दिन निर्णय गरेको छु।’ प्रोज्ज्वल दीपक बोहोराका कान्छा छोरा हुन्। बोहोराले अगाडि लेखेका छन्- ‘समग्र क्षेत्रबासीको आग्रहलाई स्वीकार गर्दै, मैले उम्मेदवारी दिने निर्णय गरेको छु। क्षेत्रको विकास र समृद्धिको साझा लक्ष्य पूरा गर्न, तपाईहरूको अमूल्य साथ, माया र सहयोगको अपेक्षा गर्दछु। कोही पनि विचलित नभई सत्यको पक्षमा उभिन हार्दिक अपिल गर्दछु।’
प्रज्वलले भने पार्टीले अगाडि बढ्न भनेकोले आफूले उम्मेदवारी घोषणा गरेको बताए। ‘मलाई जिल्लाले सिफारिस गरेको छ केन्द्रले पनि मलाई संकेत गरेपछि अगाडि बढेको हु’ प्राइमरी इलेक्सन हुँदा पनि मलाई नै मत आउँछ भन्ने लाग्छ’ उनले भनेका छन् ।
राप्रपा केन्द्रको निर्णयअनुसार प्राइमरी इलेक्सन भएमा रुपन्देही-३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले मतदान गर्न पाउनेछन्। यस्तै, रुपन्देही-३ अन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही-३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाउँपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले मतदान गर्न पाउनेछन्।
रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, त्यहाँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरू, २०८२ भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही–३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरू र २०८२ भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही-३ अन्तर्गतका सक्रिय सदस्यहरू मतदाताका रूपमा रहनेछन्।
राप्रपाले उपनिर्वाचनका लागि वरिष्ठ नेता रहेका उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा निरञ्जन थापा, प्रदीप उदय, ताहिर अली सदस्य रहेका छन् । प्रधान नवलपरासीका हुन् भने थापा, उदय र अली रुपन्देहीकै हुन् । ०७९ मा नेकपा एमालेको साथ पाएर निर्वाचन जितेको राप्रपा समानुपातिक मतमा भने चौथो स्थानमा रहेको थियो ।
प्राइमरी इलेक्सनको विवाद भएपछि राप्रपाले आज जिल्ला, क्षेत्रमा रहेका कमिटीको धारणा बुझ्न निर्वाचन परिचालन कमिटीलाई रुपन्देही पठाएको छ । संयोजक ध्रुवबहादुर प्रधानको नेतृत्वमा गठित उपनिर्वाचन परिचालन समितिले क्षेत्र, जिल्ला र प्रदेशको नेतृत्वसँग यसबारे धारणा बुझेर केन्द्रमा छलफल गरेपछि मात्रै यो प्रक्रियामा जाने वा नजाने निधो हुने प्रदेश अध्यक्ष प्रदीप उदयले जानकारी दिए । ‘आज निर्वाचन परिचालन कमिटीका संयोजक सहितको टोली जिल्लामा पुगेको छ, स्थानीय कमिटीको धारणापछि मात्रै यसबारे निधो हुन्छ,’ उनले भने ।

Leave a Reply