काठमाडौं । नेपाल प्रहरीका ३१ औं आईजी दीपक थापाले भोलिदेखि बहाल हुने ३२ औं आईजी चन्द्रकुबेर खापुङलाई चार्ज बुझाउँदै बिदा भएका छन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच आईजी थापासहित एआईजीहरु टेकबहादुर तामाङ र सुदीप गिरीको बिदाई भएको हो । उनीहरूले प्रहरी सेवाको ३० वर्षे कार्यकाल पूरा गरेका कारण आज राति १२ बजेदेखि अवकाश लागु हुँदैछ ।
नेपाल सरकारले भोलि १९ गतेदेखि कार्यकाल लागु हुने गरी एआईजी खापुङलाई ३२ औं आईजी नियुक्त गर्ने निर्णय गरिसकेको छ । भोलि आइतबार कार्यालय समयको पहिलो प्रहरमा गृह सचिव गोकर्णमणि दुवाडीबाट दर्ज्यानी चिह्न लगाएपछि उनी प्रहरी प्रधान कार्यालयमा हाजिर हुँदैछन् ।
उनको स्वागतका लागि प्रधान कार्यालयले विशेष कार्यक्रमको आयोजना गर्दैछ । उनी अमर प्रहरी स्तम्भमा माल्यार्पण गर्दै आईजीका रुपमा बहाली हुनेछन् ।
विद्यमान प्रहरी नियमावलीअनुसार उनी पनि कात्तिक २७ गते ३० वर्षे अवधि पूरा गरी अवकाश हुन्छन् ।


Leave a Reply