सहकारीलाई नयाँ निर्देशन– सदस्यलाई भत्ता दिन नपाइने, साधारण सभामा गैर सदस्यलाई प्रवेश ‘निषेध’

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई कडाइ गर्ने उद्देश्यले नयाँ निर्देशन जारी गरेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको साधारण सभा सञ्चालन सम्बन्धी नयाँ निर्देशन जारी गरिएको हो ।

प्राधिकरणले जारी गरेको निर्देशनअनुसार सहकारी संस्थाले सदस्यलाई भत्ता, यातायात खर्च, बैठक भत्ता, उपहार, भोजभतेर जस्ता खर्च गर्न नपाउने व्यवस्था गरिएको छ । ‘बचतकर्ताको हितलाई मध्यनजर गरी संस्थामा मितव्ययिता कायम गर्न साधारण सभामा उद्घाटन, अतिथि सत्कार, यातायात खर्च, सहभागिता भत्ता, अतिथि उपहार, भोजभतेर जस्ता क्रियाकलापमा फजुल खर्च नगर्ने नगराउने’, जारी निर्देशनमा भनिएको छ ।

त्यस्तै, साधारण सभामा गैर–सदस्यलाई प्रवेश गर्न रोक लगाइएको छ । गैर सदस्य कर्मचारी वा पदाधिकारीले साधारण सभामा सहभागी हुने, मतदान गर्ने वा निर्णय प्रक्रियामा प्रभाव पार्ने कार्यलाई स्वार्थको द्वन्द्व मानिने स्पष्ट गरिएको छ ।

निर्देशनले साधारण सभामा सदस्यले मात्रै प्रत्यक्ष रूपमा सहभागी हुन पाउने व्यवस्था गरेको छ । आवश्यकता अनुसार सदस्य शिक्षा दिने उद्देश्यले मात्र गैर सदस्य प्रतिनिधि वा विज्ञलाई आमन्त्रण गर्न सकिने प्रावधान गरिएको छ ।

साधारण सभामा नयाँ पदाधिकारी चयन गर्दा निर्वाचन समितिको उपस्थितिमा मात्र निर्वाचन सम्पन्न गर्नुपर्ने र सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउनुपर्ने पनि प्राधिकरणले निर्देशन दिएको छ ।

निर्देशनको पालना नगर्ने सहकारीलाई प्रचलित कानुन बमोजिम कारबाही हुने समेत प्राधिकरणका कार्यकारी निर्देशक शोषनारायण पौडेलले जानकारी दिएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *