काठमाडौं । कर्णालीको माटोबाट उब्जिएको एउटा जागरण गीतले अहिले सरकारले बन्द गर्छु भनेको फेसबुकमा तहल्का पिटिरहेको छ । प्रसिद्ध हास्यकलाकार मनोज गजुरेलको वालमै यो गीतलाई ३ दिनमा ४२ लाखपटक भन्दा बढि हेरिसकियो ।
खासमा यो रेकर्डेड गीत भने होइन । एउटा कार्यक्रममा गाइएको हो । गीतको आधिकारिक म्युजिक भिडिओ पनि बनेको छैन । काठमाडौंमा दुई साताअघि आयोजित ‘जुरुक्क कर्णाली’ कार्यक्रममा दिइएको एउटा प्रस्तुतिलाई गजुरेलले च्वाट्ट काटेर आफ्नो फेसबुकमा लोड गरेका थिए । तुरुन्तै भाइरल भइहाल्यो ।
गीतलाई अति नै रुचाइएको छ । अनगिन्ति प्रतिक्रयाहरु आइरहेका छन् । आफ्नो फेसबुकबाटै यो गीत १० हजारभन्दा बढी सेयर भएको देखेर छक्क परेका छन् गजुरेल । गीतले ‘जुरुक्कै उठाएको’ र ‘गुजबम्प आएको’ (आङ सिरिङ्ग हुनुलाई अंग्रजीमा गुजबम्प भनिँदो रहेछ भन्ने पनि धेरैले थाहा पाए) अधिकांशको प्रतिक्रिया छ । सरकारले फेसबुक फ्याट्ट बन्द गरेन भने भ्यूजको रफ्तार केही दिन घट्ने वा रोकिनेवाला छैन ।

जुम्लामा जन्मे/हुर्केका जनस्वास्थ्यकर्मी माधव चौलागाईँले यो गीतको रचना गरेका हुन् । गीतको लिरिक्स नै दामी छ । थुप्रै शब्द कठिन र सहजै नबुझिने खालका भए पनि कर्णप्रिय लाग्छन् । मैले कतिपय शब्दका अर्थ खोज्न शब्दकोष नै पल्टाउनुपर्यो ।
गीतमा केही क्लीस्ट शब्दहरू भएकाले यसको भाव सबैले राम्ररी बुझेका छैनन् । आज गीतकार चौंलागाईंसँगको छलफलपश्चात मैले यसको भावहरूलाई अर्थ्याउने यत्न गरेको छु :
माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु
छ आँत तप्त अग्नि झैँ म अग्नि भर्भराउँछु
अर्थस् ‘माण्ठ’ कर्णाली क्षेत्रमा प्रयोग हुने शब्द हो, जसले सामान्य अर्थ हो मान्छे । गहिरो रुपमा यो शब्दले शक्तिशाली, वीर वा जागृत व्यक्तिलाई बुझाउँछ। यहाँ गीतकारले आफूलाई त्यही कर्णालीको शक्तिशाली व्यक्तीको रूपमा प्रस्तुत गर्दै भनेका छन्, ‘म त्यो महान् आत्मा हुँ र म अब फेरि जाग्दैछु, जुर्मुराउँदैछु। मेरो आँतमा (भित्री स्पन्दनमा) तातो आगो जस्तै आँट छ र म त्यही आगो बनेर दन्किरहेको छु।’
अनन्त अन्धकारमा अवोध त्यो प्रवाहमा
अमोक्षमा जुनी–जुनी बिते नि दुष्ट राजमा
यहाँ कर्णालीले भोगेको ऐतिहासिक उपेक्षा र कठिन समयलाई ‘अनन्त अन्धकार’ र ‘अवोध प्रवाह’ भनिएको छ। ‘अमोक्ष’ को अर्थ हो मुक्ति नपाएको अवस्था। यसको भाव हो, ‘लामो समयसम्म अन्धकार र बेवास्ताको प्रवाहमा बग्नुपरे पनि, कैयौँ जुनीसम्म दुष्ट र खराब शासनमा मुक्ति नपाई बस्नुपरे पनि।’
तथापि ज्यूँछु जिन्दगी म हौसला हुँ जोस हुँ
शिखर म चुम्छु दुर्गको म पाइला हुँ खोज हुँ
‘त्यति धेरै कठिनाइका बाबजुद पनि मेरो अस्तित्व मेटिएको छैन। म आज पनि जीवित छु । म हौसला र जोसको प्रतीक हुँ। म कठिन किल्लाको शिखर चुम्ने साहस हुँ । म आफैँ एउटा यात्रा हुँ र आफैँ एउटा खोज हुँ।’ यसले कर्णालीको कहिल्यै नहार्ने आत्मविश्वास झल्काउन खोजेको छ ।
नमेटिने ननासिने अभेद्य हुँ अजेय हुँ
अपाडराज भूमि हुँ सपादलक्ष कर्नाली
यहाँ कर्णालीको आत्माले आफ्नो अमर र शक्तिशाली पहिचान बताउँछ। ‘म कहिल्यै नमेटिने, कहिल्यै नाश नहुने, कसैले तोड्न नसक्ने (अभेद्य) र जित्न नसक्ने (अजेय) शक्ति हुँ। म खस राजा ‘अपाडराज’ को भूमि हुँ, म त्यही महान् सपादलक्ष कर्णाली हुँ।’ सपादलक्षको अर्थ ‘सवा लाख’ हुन्छ, जुन खस साम्राज्यको नाम थियो।
अदम्य आँट ओज ली जुरुक्क उठ्छ कर्नाली
यो गीतको मूल सन्देश हो। ‘कसैले दबाउन नसक्ने (अदम्य) आँट र शक्ति (ओज) लिएर कर्णाली फेरि जुरुक्क उठ्दैछ ।’
सहस्र अश्वमा चढी म बन्छु विश्वगामिनी
पुगेँ गया पुगेँ गुगे कुमाउँदेखि त्रिशूली

यहाँ खस साम्राज्यको विशालता र शक्तिको वर्णन छ। ‘हजारौं घोडाहरूमा चढेर म विश्व विजय गर्न निस्कन्छु। मेरो साम्राज्य भारतको गया र तिब्बतको गुगेदेखि कुमाउँ (भारत) र त्रिशूली (नेपाल) सम्म फैलिएको थियो।’
डटेँ खटेँ लडेँ जितेँ सुकीर्ति फर्फराउँथ्यो
अपार आँटिलो थिएँ र बैरी थर्थराउँथ्यो
‘म मैदानमा डटेर लडेँ, कठोर मेहनत गरेँ र जितेँ, जसले गर्दा मेरो कीर्ति चारैतिर फैलियो । म यति धेरै आँटिलो थिएँ कि मेरो नाम सुन्नासाथ शत्रुहरू काँप्दथे।’
बतास बाज वेगमा खसानको कुना कुना
हिमालमा पहाडमा र भोटमा जहाँ तहाँ
यहाँ खस साम्राज्यको प्रभाव र फैलावटको कुरा गरिएको छ। ‘बतास र बाज चराको गतिमा म खसान (खसहरूको देश) को हरेक कुना-कुनामा पुगेको थिएँ। हिमाल, पहाड र भोट (तिब्बत) जताततै मेरो उपस्थिति थियो।’
म दुन्दुभी हुँ गुञ्जिने र मेघ हुँ म बर्सिने
म वीर पैकलो थलो सपादलक्ष कर्नाली
‘दुन्दुभी’ युद्धमा बजाइने ठूलो नगरा हो। ‘पैकलो’ खस साम्राज्यका वीर योद्धा÷हिरोहरूलाई भनिन्थ्यो। यसको भाव हो, ‘म युद्धको घोषणा गर्ने नगराको गुञ्जन हुँ र पानी परेर जीवन दिने बादल पनि हुँ। म वीर पैकलोहरूको भूमि हुँ, म त्यही सपादलक्ष कर्नाली हुँ।’
छ काख काँधको भरी अमूर्त मूर्त सम्पदा
म वासना हुँ कस्तुरी सुवास बन्छु सर्वदा
यहाँ कर्णालीको सांस्कृतिक र प्राकृतिक सम्पदाको वर्णन छ। ‘मेरो काख र काँधमा देखिने (मूर्त) र नदेखिने (अमूर्त) सम्पदा भरिपूर्ण छन्। म कहिल्यै नसिद्धिने कस्तुरीको बासना जस्तै हुँ, जसको सुगन्ध सधैँ फैलिरहन्छ।’
म रीति हुँ रिवाज हुँ म वाणी हुँ म अर्थ हुँ
समस्त दुःख बिर्सन म योग्य हुँ समर्थ छुँ
‘म यहाँको रीति, रिवाज, भाषा (वाणी) र त्यसको अर्थ हुँ । म मेरा सबै पुराना दुःखहरू बिर्सेर फेरि उठ्न सक्षम र योग्य छु।’
म बोल्दछु पडेलीमा, माडु मस्टो मैडोमा
म गीत भाव भावना सङ्गीत साध्य साधना
यहाँ कर्णालीको विशिष्ट संस्कृति र आस्थाको कुरा छ। ‘म यहाँको गीत, संगीत, भाव र साधना हुँ। म पडेली (स्थानीय लवज) मा बोल्छु। म यहाँका देवताहरू माडुु, मस्टो र मैडोको आस्थामा जीवित छु।’ मस्टो खसहरूको प्रमुख देवता मानिन्छन्।
म सूर न्याउल्या बनी म खेल्दो देउडा दरी
भुओ भैलो धारु घाँटु बिसुँवा चैतेली भरी
‘म न्याउली चराको सुर बनेर गाउँछु र यहाँको प्रसिद्ध देउडा नाच नाच्छु। यहाँ कर्णालीका विभिन्न लोक संस्कृति र पर्वहरूको उल्लेख छ। म भुओ, भैलो, धारु, घाँटु, बिसुवा र चैतेलीजस्ता सबै पर्व र संस्कृतिमा रमेको छु।’
म फुक्छु उच्च नाद यो तरङ्ग शङ्खनादको
म सभ्यता हुँ विश्वको सपादलक्ष कर्नाली
‘म शंख बजाएर एउटा नयाँ जागरणको शक्तिशाली ध्वनि फुक्छु। म केवल एउटा क्षेत्र मात्र होइन, विश्वकै एउटा महान सभ्यता हुँ, म त्यही सपादलक्ष कर्नाली हुँ।’
पक्कै पनि गीतले कर्णाली बोलेको छ । तर, यसमा कर्णालीको चित्कारमात्र छैन । दु:ख र गन्थनमात्र छैन । कर्णालीको गौरवगाथा पनि छ । वीरताको गुञ्जन छ । विविधताको वर्णन छ । कर्णालीबासीलाई यो गीतले हिनताबोधबाट बाहिर निकालेर गौरवबोधमा पुर्याउने सामर्थ्य लाग्छ । गीतले एकप्रकारको आत्मविश्वास र उत्प्रेरणा जगाइदिन्छ ।

गीतका शब्दहरुलाई सतप्रतिशत न्याय गरेको छ धिरेन्द्र प्रेमर्षीको संगीतले । ‘वीर रस’ र ‘रौद्र रस’ संयोजित संगीतले दर्शक÷स्रोतालाई जुरुक्क बनाउने सामथ्र्य राख्छ । शिव ताण्डव स्तोत्रको ‘भाइब्स’ पक्कै आउँछ । तर, यसको मिठास अलग र मौलिक छ ।
अर्को विशेष चर्चालायक पक्ष चाहिँ आस्था राउतको गायकी हो । गीतले दर्शक/स्रोतालाई यति धेरै तरंगित गर्नुमा उनको आवाज र भावभंगिमाको ठूलो हात छ । आस्थाले यो गीतमा आफूलाई चुर्लुम्मै डुबाएकी छन् । उनको उर्जा, आवाजको प्रवाह, आँखाको तेज, अनुहारको भाव सबै देख्दा लाग्छ, आस्थाले यो गीत गाएकी होइनन्, गीतमा तैरिएकी हुन् ।
यो गीत उनको शरीरमै चढेको प्रतित हुन्छ । साँच्चै भन्नुपर्दा गीतमा अभिनय र नृत्य गरेकी दिग्गज कलाकार मिथिला शर्माले भन्दा बढी आस्थाको एक्सप्रेसन हेर्नलायक छ । यस्तो लाग्छ कि यो गीतमा थप कलाकार नै आवश्यक थिएन, केवल आस्था काफी थिइन् ।
गीतका शब्दहरूको भावअनुसार आफूलाई बदलेकी छिन् आस्थाले । कहिले बघिनी झैँ आक्रामक बन्छिन् त कहिले नौनी झैं मुलायम । गीतले क्रोध जताइरहँदा त्यो उनको आवाजमा मात्र होइन, आँखामा पनि झल्किन्छ । आवाजमा उग्रता ल्याइरहँदा पनि लयलाई ‘कन्ट्रोल’ मा राखिराख्नु कम्ता चुनौतीको कुरा होइन । यसमा पनि उनी खरो उत्रिएकी छन् । अनि एकाएक मधूरतामा पनि ढालेकी छिन् । ‘म सूर न्याउला बनी, म खेल्दो देउडा दरी’ मा उनको स्वरमा आएको परिवर्तन गीतकै ‘हाइप्वाइन्ट’ हो । सामग्रमा भन्नुपर्दा, आस्थाले गीतलाई न्याय दिएकी मात्र होइन कि यसको असरलाई दोब्बर बनाइदिएकी छन् ।
यो गीतमा आस्थालाई गज्जब साथ दिएकी छन् स्मारिका फुयाँलले । आस्थाको ऊर्जासँग म्याच गर्न नसके पनि स्मारिकाको आवाजमा कुनै कमी खट्किँदैन । स्मारिका उदीयमान गायिका हुन्, जसले यो गीतबाट धेरै कुरा सिकेको हुनुपर्छ ।
आस्था राउतको कुरा गर्दा लामो समयदेखि संगीत क्षेत्रमा क्रियाशील रहे पनि उनको करिअरले ठूलो छलाङ मार्न सकेको छैन । उनी निरन्तर आफ्नै लय गतिमा हिँडिरहिन् । कहिल्यै भाइरल बन्ने चक्करमा लागेर आफ्नो स्तरबाट तल झरिनन् । हिट गीतको खडेरी नै पर्दा पनि लत्तो छोडिनन् । उनलाई खाँचो थियो, एउटा कालजयी गीतको । सायद कर्णाली तान्डवले त्यसको पूर्ति गर्न सक्छ । उनको करिअरमा एउटा नयाँ ट्वीस्ट आउन सक्छ ।
के भन्छिन् आस्था ?
गीतको लोकप्रियताबाट पुलकित छिन् आस्था । नहुन् पनि किन, अहिलेसम्म कहिल्यै नपाएको रेस्पोन्स उनलाई मिलिरहेको छ ।
मनोज गजुरेलले उनलाई ‘जुरक्क कर्णाली’ थिममा सिस्नुपानी नेपालले गर्न लागेको कार्यक्रममा गीत गाउने अफर गरेका थिए । गीतका शब्दहरू सुन्नासाथ उनी उत्साहित भइहालिन् । एक हप्ताको अभ्यासपछि उनले सो प्रस्तुति दिएकी हुन् ।
गीत अभ्यास गर्दा आस्थालाई प्रेसर फिल नभएको होइन । गीत कन्ठ गर्न कठिन र कतिपय शब्दहरु अप्ठेरा थिए ।
उनी भन्छिन्, ‘त्यत्रो बौद्धिक जमात आउने कार्यक्रम भनेपछि प्रेसर फिल त भइहाल्छ । त्यसमाथि गीतको बढी भार ममाथि थियो । हरेकपटक मैले नै उठाउनुपर्ने थियो । एउटा शब्द पनि तलमाथि हुँदा बिग्रिन सक्थ्यो । मलाई धेरैपछि यस्तो प्रेसर फिल भएको हो । बाल्यकालमै रेडियो नेपालको कम्पिटिसनमा गाउँदाखेरिको याद आएको थियो ।’
स्टेजमा आस्था मज्जाले धक फुकाएर फुकेर नाच्दै गाउने गर्छिन् । गीतको भावअनुसार आफूलाई प्रस्तुत गर्छिन् । त्यही भएर पनि हिट गीत कमै हुनुका बाबजुद उनी स्टेजमा सदैव डिमान्डेड छिन् ।
आस्था भन्छिन्, ‘म जुनसुकै गीत गाउँदा पनि डुबेरै गाउने प्रयास गर्छु । शब्दअनुसारको एक्सप्रेसन स्वत आउँछ । यो गीतमा चैँ एकदमै धेरै डुबेछु । नाच्ने गीत धेरै गाइयो, यो चाहिँ साँच्ने गीत हो ।’

Leave a Reply