मन्त्रीको सचिवालयको प्रष्टीकरण- गाडी दुरुपयोग भएको पत्रकारले भेटे प्रश्न उठ्छ भनेर चाबी मागेको हो, खोसेको हैन

विराटनगर । कोशीका उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगामको सचिवालयले सरुवा भएर पनि गाडी नबुझाएकाले सचिवसँग चाबी मागेको प्रष्टीकरण दिएको छ । निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा चाबी खोसेको भनेर आएका समाचारहरूमा ध्यानाकर्षण भएको उल्लेख छ ।

साउन २६ को संघीय मन्त्रिपरिषद्को निर्णयअनुसार सचिव डा. शरण पाण्डे कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएर गएकाले सरकारी सम्पत्तिको संरक्षणका लागि चालकसँग चाबी मागेको सचिवालयले दाबी गरेको छ । पाण्डे अहिले मन्त्रालयको सचिव नभएको समेत दाबी गरेको छ ।

राजीव मावाहोङ लिम्बूको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सचिव पाण्डे कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सह-सचिवको रूपमा काममाज गर्ने गरी साउन २८ गते यस मन्त्रालयको सिस्टममा रमाना आयो । त्यसपछि सचिवज्यू मन्त्रीज्यूको सम्पर्कमा रहनुभएन । तर, सचिवज्यू चढ्ने गाडी मन्त्रालयमा नियमित नदेखेपछि मन्त्रीज्यूले सचिवालयमार्फत जिन्सी शाखामा चासो राख्नुभयो । ‘

सचिवालयले सचिव पाण्डे सरुवा भएर गएको अवस्थामा सचिव चढ्ने गाडीको दुरुपयोग भएको जानकारी पत्रकारले फेला पारे अनियमितताको प्रश्न उठ्ने भएकोले तत्काल गाडी मन्त्रालयमा ल्याएर राख्न मन्त्रीले निर्देशन दिएको जनाएको छ ।

नेपाल सरकारले सह-सचिवलाई प्रदेश सचिवको रूपमा कामकाज गर्न सरुवा गरेर यस प्रदेशमा पठाउँदा मुख्यमन्त्री मन्त्रिपरिषद्को कार्यालयमा आउने कानुनी व्यवस्था रहेको भन्दै मुख्यमन्त्री पाण्डेको कोशी प्रदेशमै सरुवा भएको बारेमा थाहा नभएको विज्ञप्तिमा उल्लेख छ ।

यस मन्त्रालयमा सचिवको रूपमा पुनः आउने वा नआउने विषय मन्त्रिपरिषद्को निर्णयले हुने भन्दै यसबारे निर्णय नभएकोले पाण्डे उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सचिव नभएको सचिवालयको भनाइ छ ।

सचिव चढ्ने गाडीको चाबी २ दिनअघि मन्त्री हाङ्गामले खोसेपछि उनी विवादमा तानिएका थिए । सचिव पाण्डेको साउन २६ गते सरुवा भए पनि पुन: थमौती गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *