काठमाडौं । पछिल्लो समय नेपाली पुँजी बजारमा एकपछि अर्को गर्दै विभिन्न क्षेत्रका कम्पनीहरू साधारण शेयर (आईपीओ) जारी गर्ने होडमा छन् । राम्रा र सबल कम्पनीहरू मात्र नभई ‘जस्ता’ कम्पनीहरू पनि आईपीओ ल्याउने दौडमा सामेल हुन थालेका हुन् ।
नेपाली शेयर बजारमा आईपीओ ल्याउने लहर नै चलेको छ । बैंक तथा वित्तीय संस्था, बीमा, हाइड्रोपावर लगायत कम्पनीहरूको बजारमा अग्रसरता देखिएको भएपनि अब भने अन्य कम्पनीहरू पनि पुँजी बजारतर्फ आकर्षित भएका छन् । आईपीओ ल्याउने तरखर गरिरहेका धेरैजसो कम्पनीहरू पुँजी बजारबाट पैसा उठाउने रणनीतिमा छन् ।
‘बाजेको सेकुवा’ ले पनि आईपीओ निकाल्ने तयारी गरेको छ । असोज २ गतेका लागि साधारण सभा डोकेको बाजेको सेकुवाको विशेष प्रस्ताव नै आईपीओ निष्कासन गर्नेबारे छ । १६ औं वार्षिक साधारणसभाको विशेष प्रस्तावमा भनिएको छ, ‘सर्वसाधरणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने ।’
आईपीओ ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दर्ता भई स्वीकृतिका लागि अनुमति पर्खिरहेका कम्पनीहरूको लामै सूची छ । करिब ६ दर्जन कम्पनीहरु आईपीओ ल्याउने भन्दै सेबोनमा निवेदन दिएर अनुमति पर्खिरहेका छन् ।
नेपाल राष्ट्र बैंकबाट पटक-पटक कारबाहीमा परेको सालपा विकास बैंक आईपीओ निष्कासनको पाइपलाइनमा छन् । यस बैंकले १७ करोड २३ लाख ८८ हजार रूपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्काशन गर्दैछ । जबकी यो बैंक गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १.३९ लाख खुद नोक्सानीमा थियो ।
प्रतिफलको सुनिश्चित नभई होटलमा लगानी गरेकाहरू पनि पुँजी बजारबाट पैसा उठाउन केन्द्रित हुन थालेका छन् । अहिले पनि चार वटा होटल आईपीओ ‘ल्याउँछौँ’ भन्दै सेबोन पुगेका छन् । होटल फरेस्ट इन, अकामा होटल, वर्णवास म्युजियम होटल र माउन्टेन ग्लोरी आईपीओ निष्कासनमा पाइपलाइनमा रहेको सेबोनको तथ्यांकममा उल्लेख छ ।
यसबाहेक ३७ वटा हाइड्रोपावर कम्पनी पनि आईपीओ निष्काशनको पाइपलाइनमा छन् । पाइपलाइनमा रहेका केही कम्पनीहरुको वित्तीय अवस्था राम्रो भएपनि कतिपय नोक्सानीमा रहेको र क्षतिग्रस्त अवस्थासम्मका छन् ।
नेपाल ब्रोकास्टिङ च्यानल, ह्याम्स अस्पताल, छायादेवी कम्प्लेक्स, सोलार फार्म लगायत ७१ कम्पनीहरु आईपीओ ल्याउन अनुमति माग्दै सेबोन पुगेका छन् ।

केही वर्षयता नेपाली शेयर बजारमा लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ । डिम्याट खाता र मेरो शेयर प्रयोगकर्ताको संख्या उल्लेख्य छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार नेपालमा डिम्याट खाता हुनेहरुको संख्या ७० लाख नाघेको छ ।
भदौ १५ गते आइतबारसम्मको तथ्यांक अनुसार नेपालमा डिम्याटको संख्या ७० लाख ६१ हजार ५९२ पुगेको छ । यस्तै मेरो शेयर प्रयोगकर्ताको संख्या ६१ लाख ३५ हजार ३२५ रहेको छ ।
शेयर बजारप्रति लगानीकर्ताको आकर्षण बढिरहँदा त्यसको फाइदा उठाउँदै वित्तीय अवस्था कमजोर भएका तथा भविष्यको व्यापारिक सम्भावना स्पष्ट नभएका कम्पनीहरू पनि आईपीओको बजारमा होमिएका छन् ।
नेपाल खाद्य संस्थानको जमिन लिजमा लिएर सटर भाडामा लगाइरहेको ट्रेड टावरले समेत आईपीओ ल्यायो । ३० वर्षका लागि लिजमा लिएको ट्रेड टावरले १५ वर्षपछि सर्वसाधरण लगानीकर्ताबाट ३९ करोड ७१ लाख रूपैयाँ उठायो । सर्वसाधरणको यो पैसा ट्रेड टावरले बैंकको ऋण तिर्यो ।
यसरी प्रतिफल अनिश्चित भएका कम्पनीहरू समेत आईपीओ निष्काशन गरेर पैसा उठाइरहेका छन् । केही समय अगाडि जलविद्युत कम्पनीहरुले पनि आईपीओ निष्कासन अनुमति नपाउँदा ऋण तिर्न समस्या परेको भन्दै गुनासो गरेका थिए ।
कतिपय कम्पनीहरू आईपीओबाट रकम जुटाउने उद्देश्यमा केन्द्रित हुँदा लगानीकर्ताहरूका लागि ‘जोखिम’ बढेको विज्ञ बताउँछन् । राम्रो कम्पनीहरुलाई मात्रै हेरेर आईपीओ निष्कासन गर्न सेबोनले अनुमति दिनुपर्ने शेयर विश्लेषक छोटेलाल रौनियारको सुझाव छ ।
पुँजी बजारमा कम्पनीहरू आउनु सकारात्मक भएपनि जुनसुकै आएमा जोखिम थपिने बताउँदै विश्लेषक रौनियार भन्छन्, ‘एकपछि अर्को कम्पनी शेयर बजारमा आउनु राम्रै हो । तर, जो पनि आउनु भएन । सर्वसाधारण फस्नु भएन । राम्रालाई मात्रै सेबोनले आईपीओमा जान दिनुपर्छ । नराम्रोलाई रोक्नुपर्छ ।’
निष्कासनमा गएका अधिकांश कम्पनीहरूको आईपीओमा मागभन्दा बढी आवेदन पर्ने गरेको छ । नेपाली शेयर बजारमा जुनसुकै कम्पनीले आईपीओ ल्याएपनि लगानीकर्ताहरूले आवेदन दिने गरेका छन् । कम्पनीको अध्ययन नै नगरी लगानी गर्ने गरेको टिप्पणी हुँदै आएको छ ।
जसले लगानीकर्ताहरू फस्दै आएका छन् । कम्पनीको विस्तृत अध्ययन नगरी आवेदन नदिन सर्वसाधरण लगानीकर्ताहरुलाई रौनियारको सुझाव छ । लगानीकर्ताको संरक्षण गर्नु सेबोनको कर्तव्य रहेकाले यसमा सेबोनले ध्यान दिनुपर्ने उनको तर्क छ ।
कडाइ गर्दै सेबोन
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ निष्कासनमा कडाइ गर्न लागेको छ । आईपीओ निष्कासनका लागि आवेदन दिने कम्पनीहरूको चाप बढेसँगै नियमावली नै संशोधन गर्ने तयारी थालेको छ ।
सेबोन स्रोतले नेपाल प्रेससँग भन्यो, ‘पछिल्लो समय जस्तोसुकै कम्पनी पनि आईपीओ निष्कासनको अनुमति माग्दै आउने थालेका छन् । हामीले समयसापेक्ष बनाउनु पर्छ भनेर धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशेधनको तयारी थालेका छौँ ।’
सेबोनका प्रवक्ता निरञ्जन घिमिरेले नियमावलीबारे अध्ययन थालिएको भन्दै अध्ययन समिति बनाइएको बताए ।
प्रवक्ता घिमिरेले भने, ‘नियमावली अध्ययन गर्नका लागि समिति बनाएका छौँ । उक्त समितिले अध्ययन गरिरहेको छ । समितिको निष्कर्ष अनुसार अघि बढ्छौं ।’
पाइपलाइनमा धेरै कम्पनी भए पनि कानुनीरूपमा प्रक्रिया पुर्याएकाहरूलाई मात्रै आईपीओ निष्कासन अनुमति सेबोनले दिँदै आएको उनको भनाइ छ ।
‘कुनै कम्पनीले आईपीओ ल्याउँछु भन्दैमा ल्याइहाल्न पाउँदैनन् । हामी जसलाई पनि अनुमति दिँदैनौं । कानून, नियमावलीअनुसार मात्रै अनुमति दिन्छौँ’, प्रवक्ता घिमिरेले प्रष्ट पारे ।

Leave a Reply