वेब सिरिज ‘थातथलो’ आउँदै, किराँत सम्यता र सांस्कृतिक पहिचानमा केन्द्रित

काठमाडौं । जीवन थापा ‘क्षितिज’को लेखन तथा निर्देशनमा ‘थातथलो’ नामक वेब सिरिज आउने भएको छ ।

मौलिक नेपाली संस्कार तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको सिरिजले विशेषगरी किराँत सभ्यता र किराँत राई समुदायको सांस्कृतिक पहिचानलाई उजागर गर्ने थापाले बताए ।

उनका अनुसार किराँत राई समुदायको सभ्यता, संस्कार र सांस्कृतिक आयाममा आधारित विषयवस्तु भएकाले सिरिजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

भोजपुरको टेम्केमैयुङको मैयुङ, हाँसपोखरी र पाङखाङ गाउँमा छायाङ्कन गरिएको ‘थातथलो’ सिरिजमा कविता आले, श्याम राई, सन्तोष बन्बो तामाङ, अस्मिता राई, रूपक रम्तेल, शिला खनाल, बबिता श्रेष्ठ, टेक परियार, पूजन खरेल, सूर्य राई र मिस्टर नाती लगायतका कलाकारको अभिनय देख्न पाइनेछ ।

सिरिजको थिम गीत पनि सार्वजनिक भइसकेको छ, जसमा श्रवण मुकारुङको शब्द, मनोज थापा मगरको संगीत तथा मेलिना राई र मनोज थापा मगरकै स्वर सुन्न सकिन्छ । सिरिजको छायांकन नारायण जिसीले गरेका छन् भने सह-निर्देशकको भूमिकामा सुमित राई रहेका छन् ।

दिवज राई किराँती निर्माता रहेको यस सिरिजमा भीएफएक्स र कलरको काम असिम चित्रकारले गरेका छन् भने सम्पादन बुद्ध महर्जनले गरेका छन् । पहिलो चरणको छायांकन सकेर हाल सम्पादनको अन्तिम चरणमा रहेको ‘थातथलो’ शीघ्र प्रसारण गरिने तयारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *