बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाअन्तर्गत कोल्टी आधारभूत अस्पताललाई स्वास्थ्य खबर पत्रिकाको १६औं वार्षिकोत्सव तथा १३औं हेल्थ अवार्ड कार्यक्रममा ‘उत्कृष्ट स्वास्थ्य संस्था’ विधामा पुरस्कृत गरिएको छ ।
स्वास्थ्य सेवामा निरन्तर सुधार र सक्रिय नेतृत्वका रहेको भन्दै अस्पताललाई अवार्ड दिइएको हो ।
नगर प्रमुख जनक कुमार बोहराले पदभार सम्हालेदेखि नै स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने प्रतिवद्धता गरेका थिए । सोही अनुसार नगरपालिकाले स्वास्थ्य सेवामा सुधारात्मक कदम चालेको थियो ।
नगरपालिकाको पहल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको सहकार्यमा कोल्टी अस्पतालमा स्त्रीरोग विशेषज्ञ, ओटी नर्स, डिजिटल एक्सरे, रक्तसञ्चार सेवा, एमडिजिपी, एनेस्थेसिया, फार्मासिस्ट, रेडियोग्राफर, डेन्टल हाइजिनिष्ट, अप्थाल्मिक असिस्टेन्टलगायतका जनशक्ति थपिएको छ । गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सरे सेवा, प्रयोगशाला डिजिटलीकरण, अनलाइन प्रतिवेदन प्रणाली, डिजिटल बिलिङ सेवा लगायतका सुविधा सञ्चालनमा आएका छन् ।
यससँगै अस्पताललाई प्राथमिक स्वास्थ्य केन्द्रबाट आधारभूत अस्पतालमा स्तरोन्नति गर्दै आँखा सेवा, दन्त सेवा, आकस्मिक प्रसूति सेवा, अस्पताल फार्मेसी, फोहोर व्यवस्थापन संरचना, भवन मर्मत, खानेपानी तथा विद्युत सेवा व्यवस्थापन जस्ता महत्वपूर्ण पहल भएका छन् ।
नगर प्रमुख जनक बोहरा, स्वास्थ्य शाखा प्रमुख ओम जुङ शाही, अस्पताल प्रमुख डा. रणजीत शाह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा समाजसेवीहरुको संयुक्त प्रयासका कारण कोल्टी अस्पतालले दुर्गममा भएपनि सुगमको जस्तो स्वास्थ सेवा दिइरहेको छ । निरन्तर स्वास्थ सुधारमा लागेको भन्दै मेयर बोहरालाई सम्मान गरिएको थियो ।


Leave a Reply