धुवाँधार आदिल- जिते समर्थकको दिल

काठमाडौं । भारतको गुवाहाटीमा आसाम टिमविरुद्ध भएको ५ खेलको टी–२० सिरिज नेपाल ‘ए’ टिमले ३–२ ले आफ्नो पक्षमा पार्यो । उक्त सिरिजमा प्रभावशाली प्रदर्शन गर्दै केही खेलाडीले राष्ट्रिय टोलीको ढोकासमेत ढकढक्याएका छन् ।

कुनै पनि देशको ‘ए’ टिमलाई राष्ट्रिय टिमको ब्याकअपका रुपमा पनि हेरिन्छ । त्यस हिसाबले यो सिरिजबाट नेपाली टिमको ब्याकअप वा बेन्च स्ट्रेन्थ बलियो भएको छ । केही खेलाडीले आफूहरु राष्ट्रिय टिमका लागि योग्य रहेको छनक दिएका छन् । जसमध्ये एक हुन् अलराउन्डर आदिल अन्सारी ।

यो सिरिजमा नेपालका समर्थकहरुको आदिलप्रति विशेष नजर थियो । कारण उनले लामो समयको ग्यापपछि अन्तर्राष्ट्रिय क्रिकेटमा कमब्याक गर्दै थिए । फिक्सिङको आरोपमा क्रिकेट संघले निलम्बन गरेपश्चात धरापमा परेको उनको करिअर फेरि पुनःजागृत भएको छ ।

र, यो सिरिजमा आलमले आफूलाई प्रमाणित गरेर देखाए । समर्थकहरुको अपेक्षा अनुसारकै प्रदर्शन गरे । बलिङमा त्यति नचले पनि ब्याटिङमा उनले आफ्नो छाप छोडेका छन् ।

नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका आदिल पुनरागमन गर्ने पर्खाइमा छन् । विश्वकप छनोटका लागि तयार गरिएको ३२ खेलाडीको सूचीमा उनी अटाएका थिए । आदिलले अन्तिम स्क्वाडमा अटाउनका लागि भारतमा आत्मविश्वासी प्रदर्शन गरे । ४ खेलमा उनले कुल ८५ रन बनाए ।

यो ठूलो अंक होइन । विशेष चाहिँ उनको स्ट्राइक रेट हो । आदिलले २ सयभन्दा बढीको स्ट्राइक रेटमा ब्याटिङ गरे, जुन टि २० मा विशेष मानिन्छ । प्रत्येक खेलमा उनको ब्याटिङ छोटो तर प्रभावशाली रहयो । विशेषतः उनी एउटा पावरफुल सिक्स हिटरका रुपमा देखा परे ।

पहिलो खेलमा ब्याटिङ गर्ने पालो नपाएका आदिल दोस्रो खेलमा ८ बलमा १४ रन बनाएर आउट भए । त्यति छोटो इनिङमा उनले २ छक्का प्रहार गर्न भ्याएका थिए । तेस्रो खेलमा छैटौं नम्बरमा ब्याटिङ गर्न आएका आदिलले १६ बलमा ३५ रन ठोके । २१८ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै उनले एक चौका र ४ छक्का प्रहार गरेका थिए ।

चौथो खेलमा ७ बलमा ११ रन बनाएका आदिल पाँचौं तथा अन्तिम खेलमा ११ बलमा २५ रन बनाएर अविजित रहे । उक्त खेलमा उनले ३ छक्का प्रहार गरे । ४ खेलमा उनले १० छक्का र २ चौंका प्रहार गरेका छन् । रन धेरै नहाने पनि उनले अन्तिम समयमा आएर टोलीको रनरेट उकास्न महत्वपूर्ण भूमिका खेले ।

क्रिजमा आउनेवित्तिकै आक्रमण गरिहाल्न जतिसुकै विष्फोटक ब्याट्सम्यानका लागि पनि चुनौति हुन्छ । आदिलले त्यो आत्मविश्वास र कौशल देखाएका छन् । उनले आफ्नो सिग्नेचर हेलिकोप्टर सट हानेर फ्यानहरुलाई खुशी दिए ।

२०७९ मा भएको नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ को आरोप लागेका आदिलले २०८१ मा सफाइ पाएका थिए । राष्ट्रिय टीमबाट खेल्न थालेको छोटो समयमै आदिल प्रतिवन्धमा परेका थिए । त्यसपछि उनको करिअर लथालिंग भयो । प्रतिवन्धमा पर्नुअघि उनलाई खासगरि टि–२० मा आशालाग्दा अलराउन्डरको रुपमा हर्न थालिएको थियो ।

मध्यक्रममा आएर आक्रमक ब्याटिङ गर्ने उनी मध्यम गतिको बलिङ पनि गर्छन् । उनको बलिङ भने यो प्रतियोगितामा त्यति जमेन ।

आदिलले कम समय राष्ट्रिय टोलीबाट खेले पनि आफ्नो छाप छोड्न सफल भएका थिए । २०७८ को अन्तिमतिर टीयू क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२०आई सिरिजअन्तर्गत पीएनजीविरुद्ध उनले डेब्यू गरेका थिए । डेब्यू खेलमै आदिलले उत्कृष्ट प्रदर्शन गरे । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका उनले विष्फोटक शैलीमा खेल्दै ११ बलमा ३१ रन बनाए । उनले एक चौका र ३ छक्का प्रहार गरेका थिए । यही म्याचमा उनले प्रहार गरेको ‘हेलिकोप्टर सट’ अहिलेसम्म उनको पहिचान बनिरहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *