रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको सल्लाहकार परिषद बैठकमा विद्या भण्डारीको सदस्यतालाई निरन्तरता दिन केही सहभागीले सुझाव दिएका छन् ।
उनको सदस्यता विवादबारे बैठकमा विषय प्रवेश भएपनि ती सदस्यहरुले आफ्नो नाम सार्वजनिक गरेका छैनन् । सहभागी केही सदस्यहरूले भण्डारीको विगतको योगदानलाई मूल्यांकन गर्दै सदस्यता खारेज गर्नु अनुचित हुने र निरन्तरता दिनुपर्ने सुझाव दिएका हुन्।
बैठकमा १२ जना सदस्यहरूले धारणा राखेका थिए। उनीहरूमध्ये केहीले मौखिक त केहीले लिखित रूपमा सुझाव दिएको सहभागी एक सदस्यले जानकारी दिए। सहभागीहरूले पार्टीमा बारम्बार विवाद सिर्जना हुनु राम्रो नभएको र अध्यक्ष तथा पदाधिकारीहरूलाई अनावश्यक किचलोमा नजान आग्रह गरेका थिए।
बैठकका एक सहभागीले पार्टी विधानमा तोकिएको ७० वर्ष उमेर हदको विषयलाई समेत गम्भीरतापूर्वक विचार गर्नुपर्ने धारणा राख्दै महाधिवेशनले गरेको निर्णयलाई बीचमै परिवर्तन गर्नु उचित नहुने बताए। उनका अनुसार स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीले पटक–पटक निर्णय उल्ट्याउने हो भने महाधिवेशनको निर्णयको अर्थ नै हराउने चिन्ता व्यक्त भएको छ।
सदस्यहरूले भण्डारीले राज्यले दिएको मासिक सुविधा त्यागेर जनताको सेवामा आउन खोज्दा पार्टीले नै अवरोध गर्नु नहुनेमा जोड दिएका थिए।
सल्लाहकार परिषदका अध्यक्ष मोती पाण्डेले सदस्यता निरन्तरताको विषय विवाद बन्नु नपर्ने भन्दै, पार्टी विधानमै ७० वर्ष उमेर हद राख्दा सक्रिय नेताहरू निस्क्रिय बन्ने अवस्थाले पार्टी कमजोर हुने सुझाव आएको जानकारी दिए।
उनका अनुसार सबै सदस्यहरूको साझा धारणा पार्टी एकढिक्का बनाउनुपर्नेमा केन्द्रित थियो। नेपाल प्रेससँग कुरा गर्दै उनले भने–‘केही सदस्यले भण्डारीको सदस्यताका विषयमा कुरा उठाउनुभएको हो, धेरैले होइन तर त्यहाँ त्यो विषय आवश्यक थियो वा थिएन भन्ने हो, मैले सबै साथीहरुका कुरा सुनेपछि पार्टीमा नेतृत्वको आकांक्षा राख्न क्रमवद्ध आउनुपर्छ, अध्यक्षपछि वरिष्ठ उपाध्यक्षको पालो आउनुपर्ने कुरा अघि आएको भए नैतिक कुरा हुनेथियो, उहाँ आफै नेतृत्वमा महत्वाकांक्षा राखेको देखियो जुन उचित समय होइन ।’
लुम्बिनीमा पहिले विद्या भण्डारी पक्षमा रहेका नेताहरु पनि पार्टीले औपचारिक निर्णय गरेपछि च्यानलभन्दा बाहिर बोलेका छैनन् ।

Leave a Reply