काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालीबीच अन्तरसंघर्ष चलिरहेको बेलामा आइतबार असन्तुष्ट नेताहरूले छुट्टै भेला गरे । पार्टीका पूर्वसचिव जीवनराम श्रेष्ठले अगुवाइ गरेको भेलामा करिब ५० जना नेता सहभागी भएको दाबी गरिएको छ ।
सम्मानित नेता खनाल र महासचिव घनश्याम भुसालसँग निकट रहेका नेताहरू भेलामा गएका थिए । पार्टीले सञ्चालन गरेको ‘सुशासन र रोजगारी समाजवादको तयारी’ शीर्षकको आन्दोलन कार्यक्रमबारे छलफल गरिएको बताइयो ।
तर, भेलाले माओवादीसँग तत्काल एकता नगर्ने निष्कर्ष निकालेको छ । अध्यक्ष माधव नेपाल माओवादीसँग एकता गर्न नरम सुनिन्छन् । एकता गरिहालेमा आफूहरू त्यसमा सहभागी नहुने भेलाको निष्कर्ष छ ।
भेलामा सहभागी स्थायी कमिटी सदस्य डा. विजय पौडेल, पोलिटब्युरो सदस्य रामकुमारी झाँक्री, धर्मराज निरौलाले विशेष महाधिवेशनको आयोजना गर्नुपर्ने पक्षमा आफ्ना कुरा राखेका थिए । उनीहरूले भ्रष्टाचार मुद्दा लागेको अध्यक्ष रहेसम्म जनताबीच जान समस्या भएको भन्दै विशेष महाधिवेशनको समेत माग गरेका थिए ।
यो भेलालाई निरन्तरता दिने उनीहरूको तयारी छ । यो भेला बस्नुको कारण, भेलाको निष्कर्ष, माओवादीसँग एकताको चर्चालगायत विषयमा केन्द्रित रहेर नेकपा एसका प्रचार विभाग उपप्रमुख समेत रहेका दामोदर अर्यालसँग गरिएको कुराकानी-
– पार्टीभित्र अन्तरसंघर्ष चलिरहेको बेलामा आइतबार पार्टीका केही नेताहरूको भेलाको किन बस्यो ?
हाम्रो र माओवादीका बीचमा समान धारणा विकास गर्ने, समाजवादी मोर्चालाई अझै प्रभावकारी कसरी बनाउने भनेर प्रदेशस्तरमा केन्द्रीय र पोलिटब्युरो सदस्यहरूबीच छलफल भएको थियो । त्यसको उद्देश्य दुई पार्टीका बीचमा सम्बन्ध सुधार गर्ने र समाजवादी मोर्चालाई अझ राम्रो कसरी बनाउने भन्ने नै हो ।
प्रदेश स्तरको भेलामा विभिन्न कारणले भाग लिन नपाएका पोलिटब्युरो र केन्द्रीय सदस्यहरूले छुट्टै बसेर त्यही विषयमा छलफल गर्नुभएको हो । समाजवादी मोर्चालाई कसरी राम्रो गर्ने, माओवादी र एकीकृत समाजवादीको बीचमा सम्बन्ध अझ कसरी राम्रो बनाउने भन्ने सन्दर्भमा छुट्टै बसेर छलफल गर्नुभएको हो ।
– त्यो भेलालाई सम्मानित नेता खलनाथ खनाल र महासचिव घनश्याम भुसालनिकट नेताहरूको भनिएको छ नि ?
होइन, त्यो कुरामा सत्यता छैन । बाहिर अनेक खालका चित्रण गरिन्छन् । माओवादीका प्रदेश स्तरको नेता र एकीकृत समाजवादीका प्रदेश स्तरको नेताहरूको सातै प्रदेशमा भेलाहरू भए, त्यसमा भाग लिन नपाएका साथीहरूले छलफल गर्नुभएको मात्रै हो । समाजवादी मोर्चालाई प्रभावकारी बनाउन योगदान दिन नपाएकाहरूले अब कसरी अघि बढ्ने भन्नेबारे करिब ५० जना जति बस्नुभएको हो ।
– यो भेलाको निष्कर्ष चाहिँ के रह्यो ?
भेलाको निष्कर्ष समाजवादी मोर्चालाई अझ बलियो बनाउने भन्ने नै हो । माओवादीसहित विभिन्न वामपन्थी पार्टीहरूबीचको सहकार्यलाई अझ राम्रो, क्रान्तिकारी बनाउनुपर्छ भन्ने ५० जनाको भेलाले निष्कर्ष निकाल्यो ।
– भनेपछि तपाईँहरूको भेलाले माओवादीसँग एकतामा जानु हुँदैन भन्ने निष्कर्ष निकालेको हो ?
माओवादीसँग तत्काल एकता प्रक्रियामा जान हुँदैन भन्ने हाम्रो पार्टीकै नीति छ । त्यो कुनै छुट्टै भेला राख्नै पर्दैन नि । माओवादीसँग तत्काल एकता प्रक्रियामा जानको लागि अहिलेसम्म औपचारिक रूपमा कुनै पत्र पनि पठाएको छैन । हामीले पनि अहिलेसम्म केही पत्र पठाएका छैनौँ । त्यही पनि अहिले माओवादीसँग एकता गर्ने कुनै वातावरण नै छैन । विचार, सिद्धान्तका कुरा छन्, माओवाद भन्ने नै हामी मान्दैनौँ ।
हाम्रो १० औँ महाधिवेशनले समाजवादी कार्यक्रम भनेको छ । माओवादीहरूले गाउँबाट सहर घेर्ने भन्ने विचार अझै बोकेरै हिँडिरहेका छन् । त्यसैले हाम्रो पार्टी तत्काल एकता गर्ने मुडमै छैन । दुवै पार्टीबाट अहिलेसम्म एकताको प्रस्ताव नै नगरेकाले तत्काल एकता हुने कुरा छँदै छैन । त्यो भेलाले पनि माओवादीसँग एकता गर्ने कि नगर्ने भन्नको लागि बसेको पनि होइन ।
– तर, अध्यक्ष माधव नेपाल माओवादीसँग एकता गर्न हतारिएको बुझिन्छ ?
त्यो उहाँको मनमा लागेको कुरा हुनसक्छ। अहिलेसम्म पार्टीको कुनै कमिटीको बैठकमा यो कुरा भन्नुभएको पनि छैन । तर, उहाँको मनमा के छ भन्ने कुरा नभनी थाहा हुने कुरा भएन। तर, माओवादीसँग एकता गरेर जाऔँ भनेर अहिलेसम्म पार्टी बैठकमा भन्नुभएको छैन । यो सबै अनुमानको कुरा हुन् ।
– माओवादीसँग एकता गर्दा अधिकांश नेता एमालेमै फर्किन्छ भन्ने तपाईँहरूको बुझाइ हो ?
एमालेबाट विद्रोह गरेर आएको हुन्, एमालेमा नै फेरि किन फर्किन्छन् ? कुनै भुँइचालो आएर माओवादीसँग एकता भइहालेछ भनेपनि जाँदैनन् । एक त त्यो छलफल बहसको विषय नै भइसकेको छैन पार्टीमा ।
विचार, सिद्धान्त र इतिहासलाई हेर्ने दृष्टिकोण नमिलीकन एकता गरेछन् भने त्यो एकता होइन, पार्टी प्रवेश हुन्छ। एकीकृत समाजवादी पार्टी आफ्नो बाटोमा निरन्तर अगाडि बढ्छ। र यही पार्टीलाई बलियो बनाउनको लागि एकीकृत समाजवादीका मान्छेहरू लागिरहन्छन् ।
– भेलामा पार्टीभित्र अध्यक्ष र सम्मानित नेताबीचको अन्तरसंघर्षबारे पनि छलफल भयो ?
उहाँहरूको बीचमा त्यस्तो ठूलो अन्तरसंघर्ष नै छैन नि । उहाँले (झलनाथ) ले हामीले जुन औचित्यका साथ विद्रोह गरेको थियौँ त्यो उद्देश्य अझै पूरा भएको छैन भन्ने सन्दर्भमा कतै बोल्नुभयो । अध्यक्षले त्यसको जवाफमा औचित्य पूरा भएको छ भनेर कतै बोल्नुभयो ।
बाहिर बोलेका कुराहरू न हुन् । यसबारे पार्टीको कुनै कमिटीमा आएका छैनन् । कमिटीमा नै नआइसकेपछि त्यसमा छलफल, बहस हुने कुरा नै भएन नि आधिकारिक ढङ्गले। मिडियामा आ-आफ्नो ढङ्गले बोलेको कुरालाई के अन्तरविरोध हुन्छ र ? छलफल बहस हुनको लागि त कमिटीमा आउनुपर्यो होला नि !
– अन्तरसंघर्षसँगै अध्यक्षमाथि मुद्दा चलिरहेको बेलामा विशेष महाधिवेशनको माग भेलाले गरेको हो ?
अहिलेसम्म विशेष महाधिवेशनको औपचारिकरूपमा कसैले पार्टीमा माग गरेको छैन । कसैले मनमा लागेको कुरा बाहिर भन्दै हिँडेको छ भने थाहा छैन । त्यो भेलाले त्यसबारे छलफल गरेको पनि होइन ।
जहाँसम्म पार्टी अध्यक्षको नैतिकताको प्रश्न हो, नैतिकता भनेको त पार्टीले निर्णय गर्ने कुरा होइन । व्यक्ति आफैँले महसुस गर्ने कुरा हो । कसैमाथि नैतिकताको प्रश्न उठेको छ भने त्यो पार्टीमा छलफल किन हुन्छ ? त्यो आफैँले प्रदर्शन गर्ने होला नि । त्यो कुनै बहुमत र अल्पमतको विषय पनि होइन । त्यो नितान्त व्यक्तिगत कुरा हो ।
– भनेपछि अध्यक्षले नैतिकताको आधारमा अध्यक्षले पद छाड्दा हुन्छ भन्ने तपाईँहरूको बुझाइ हो ?
अहिलेसम्म पार्टीभित्र औपचारिक रूपमा कसैले राखेको छैन । आउने बैठकहरूमा उठ्न पनि सक्छ। अहिले नै उठ्छ उठ्दैन भन्न सकिँदैन। अब पार्टी कमिटीमा कुरा उठे छलफल होला ।

Leave a Reply