काठमाडौं । बबुल गिरी पछिल्लो समयको चल्तापूर्जा संगीतकार हुन् । लगातार हिट गीतहरु दिएपछि चलचित्र संगीतमा उनको माग उच्च छ । गत वर्ष प्रदर्शित ‘छक्का पन्जा ५’ को ‘ब्रेकअप सङ’पछि बबुलले पछाडि फर्केर हेर्नु परेको छैन ।
बेलाबेला बबुल स्वयंले पनि गीतमा स्वर भर्ने गरेका छन् । गाउन पनि आफैं लोभ गर्ने गरेको भन्दै उनको आलोचना समेत हुने गरेको छ । यस विषयमा बबुलले एक स्टाटस लेख्दै दुखेसो पोखेका छन् ।
उनले लेखेका छन्, ‘१० वटा गीत बनाउँदा ९ वटा गीत अरुलाई गाउन लगाएर बढीमा एउटा गीत संगीतकार, गीतकार आफैंले गाउनुहुन्छ । त्यति गर्दा पनि फलानो आफैं गीत गाउने भएको छ रे… तर ती ९ जना गायक गायिका ज्युहरुलाई कुनै प्रोजेक्ट मिल्यो भने आफैं संगीत भरेर गाउन थाल्नुहुन्छ ।’
उनले थप प्रश्न गरेका छन्, ‘अनि संगीतकार, गीतकार चाहिँ कसरी बाँच्ने भनेर सोच्नु पर्दैन ?’
प्रोजेक्ट खोसिने मात्रै होइन, पाएको प्रोजेक्टबाट पनि संगीतकारहरुलाई खाली हात हुने गिरीको दुखेसो छ । उनले थप लेखेका छन्, ‘बल्ल बल्ल एउटा प्रोजेक्ट हात पार्यो, सबैलाई तिर्दातिर्दै लाखको बिटो खोलेर लास्टमा पैसा बाँध्ने रबर मात्रै फेला पर्छ ।’
उनले यो पीडा आफ्नो मात्रै नभएर समग्र संगीतकारहरुको पीडा भएको समेत उल्लेख गरेका छन् । बबुलको पछिल्लो गीत ‘सुतेर उठेको पैसामा’लाई दर्शकरस्रोताले रुचाइरहेका छन् । यो गीत ‘माग्ने राजा’ चलचित्रको शीर्ष गीत पनि हो ।

Leave a Reply