अमेरिकामा ‘बलिदान’ ले हजार शो पाएको दाबीमा सन्देह, सन्तोष सेनले सेयर गरेको तस्बिर ‘फेक’

काठमाडौं । आउँदो फूलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बलिदान’ का निर्देशक सन्तोष सेनले अमेरिकाको सबैभन्दा ठूलो सिनेमा चेन एएमसीमा समेत रिलिज हुने भन्दै हिजो स्टाटस लेखे । उनको स्टाटसले नेपाली चलचित्र क्षेत्रमा सकारात्मक तरंग फैलिएको छ । नेपाली चलचित्र अमेरिकाको मूलधारमै प्रवेश गर्न पाउनु खुसीको समाचार हो ।

सेप्टेम्बर २९ बाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्र एएमसी चेनसँगै अमेरिकाको सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य अमेरिकी सिनेमा हलमा समेत एकसाथ प्रदर्शनमा आउने सेनाले बताएका छन् । यो क्षण ऐतिहासिक भएको उल्लेख गर्दै उनले लेखेका थिए, ‘बलिदान संयुक्त राज्य अमेरिकाका २०० भन्दा बढी हलहरूमा, १००० भन्दा बढी शो सहित प्रदर्शनमा आउने भएको छ । यो ऐतिहासिक क्षणलाई नेपाली चलचित्र प्रेमी अमेरिकी दर्शकहरूको मायाले अझ व्यापक बनाउनेछ ।’

तर, सेनको यस्तो दाबीमाथि सन्देश उत्पन्न भएको छ । कारण, उनले स्टाटसमा प्रयोग गरेको तस्बिर वास्तविक नभएर सम्पादित देखिन्छ । ‘बलिदान’को पोस्टरलाई केन्द्रमा राखेर फोटो खिचिएको छ भने छेउछाउमा अन्य चलचित्रका पोस्टरहरू छन् । प्रायः हलहरूमा आउन लागेको वा प्रदर्शनरत चलचित्रका डिजिटल पोस्टरहरू टाँसिएका हुन्छन् । तपाईँले क्युएफएक्स, आईएनआईका हलहरूमा जाँदा पनि देखेको हुनुपर्छ ।

सन्तोष सेनले सेयर गरेको ठिक यस्तै हलभित्र डिजिटल प्रचारका लागि राखिएको चलचित्रहरूको पोस्टरहरूको फोटो हो, जहाँ ‘बलिदान’ पनि समावेश छ । एउटा फोटोमा ‘बलिदान’ सँगै भएका ‘र्याथ अफ म्यान’ र ‘सेपेरेसन’ को पोस्टर छन् । यी दुई चलचित्रको पोस्टरको मुनि ‘नाउ सोइङ’ (प्रदर्शनरत) लेखिएको छ भने ‘बलिदान’को पोस्टरमुनि पनि ‘प्रदर्शनरत’ नै छ । जबकि ‘बलिदान’ प्रदर्शनमै आइसकेको छैन भने ‘र्याथ अफ म्यान’ र ‘सेपेरेसन’ सन् २०२१ मै प्रदर्शनमा आएका हुन् ।

गाय स्टुआर्ट रिची निर्देशित एक्सन थ्रिलर ‘र्याथ अफ म्यान’ चलचित्र चार वर्षअघि सन् २०२१ मै विश्वव्यापी रूपमा प्रदर्शनमा आएको थियो । ‘फास्ट एण्ड फ्युरियस’ फ्रेन्चाइज स्टारर ज्यसोन स्टाथमले मुख्य भूमिका निर्वाह गरेको यो चलचित्र त्यसवेला बक्स अफिसमा सुपरहिट भएको थियो । सन् २०२१ मै सुपरन्याचुरल हरर चलचित्र ‘सेपेरेसन’ प्रदर्शनमा आएको थियो । विलियम व्रेन्ट बेल निर्देशित यो चलचित्रले बक्स अफिसमा भने उस्तो कमाल गर्न सकेको थिएन ।

‘सेपेरेसन’ अप्रिल ३०, २०२१ मा प्रदर्शन भएको थियो भने एक सातापछि मे ७ मा ‘र्याथ अफ म्यान’ प्रदर्शन भएको थियो । ४ वर्षअघिको चलचित्रको पोस्टर अहिलेसम्म कुनै हलले किन राख्छ रु

अर्को फोटो छ, अमेरिकन हल रेगलको । यहाँ पनि ‘बलिदान’ को पोस्टर राखिएको छ । फोटोमा देखिएका चलचित्रहरू त झनै ८ वर्ष पुराना हुन्, सन् २०१७ मा प्रदर्शन भएका । यस फोटोमा राखिएका ‘जिओस्टोर्म’ नामक चलचित्र अक्टोबर २०, २०१७ मा अमेरिकामा प्रदर्शन भएको थियो । डिन डेभलिन निर्देशित यो चलचित्र बक्स अफिसमा हिट साबित भएको थियो । यो चलचित्र अहिले नेटफ्लिक्समा उपलब्ध छ ।

त्यस्तै फोटोमा अर्को चलचित्रको पोस्टर छ, ‘ब्लेड रनर: २०४९’ । रायन गोस्लिङ अभिनीत यो साइन्स फिक्सन चलचित्र सन् १९८२ मा प्रदर्शित ‘ब्लेड रनर’को सिक्वेल हो । फोटोमा देखिएको अर्को चलचित्र ‘लेट देअर बी लाइट’ पनि सन् २०१७ कै हो । संयोग के छ भने यी तिनै चलचित्र अक्टोबर महिनामा प्रदर्शनमा आएका थिए । त्यसवेलाको पोस्टर तानेर बीचमा ‘बलिदान’को पोस्टर घुसाएको देखिन्छ ।

अर्को फोटोमा एनिमेटेड चलचित्र ‘द स्पोन्गेबोब मुभीः स्पोन्गे अन द रन’को पोस्टर छ । अर्को चाहिँ फ्यान्टासी ड्रामा चलचित्र ‘मुलान’को पोस्टर छ । यी दुवै चलचित्र सन् २०२० मा प्रदर्शनमा आएका थिए । यो एनिमेटेड चलचित्र चाहिँ नेटफ्लिक्समा समेत उपलब्ध छ ।

सेनाले पुराना हलिउड फिल्महरुको पोस्टरमा आफ्नो फिल्मको पोस्टर घुसाएर भ्रम छर्न खोजेको देखिन्छ । यदि साँच्चै बलिदान अमेरिकामा प्रदर्शन हुने निश्चित भएको हो भने सबैका लागि खुसीको कुरा हुन्छ । तर, यसरी फेक तस्बिरहरू बनाएर सेयर गर्दा शंका उत्पन्न भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *