काठमाडौं । गत वर्षजस्तै यस वर्षको दशैंमा पनि नेपाली चलचित्रहरुबीच ‘मारामार’ हुने देखिएको छ । निर्माताद्वय दीपकराज गिरि र सन्तोष सेन फेरि एक पटक फेसबुकमा आमनेसामने भएका छन् ।
यस वर्षको फूलपातीमा तीन नेपाली चलचित्र ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनमा आउँदैछन् । तीनै चलचित्रले प्रचारप्रसारलाई तीव्रता दिइरहँदा फेसबुकमा जुहारी चल्न थालेको हो । यसको सुरुवा माइतीघरका निर्माता रोहित अधिकारीले गरेका थिए ।
माइतीघरको शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ…’ को भिडिओमा केही नकारात्मक कमेन्टहरू आएपछि अधिकारीले सेनलाई आरोपित गरे । नकारात्मक कमेन्ट गर्ने आइडीबाट ‘बलिदान’ को तारिफ गरिएको स्क्रिन सट राख्दै उनले सेनले नै खटाएको आशंका व्यक्त गरेका थिए ।
उनले सेनलाई मेन्सन गर्दै लेखेका छन्, ‘इनबक्समा पनि गाली आएको छ सन्तोष सेन जी, यो झोले तपाईँको होइन ? तपाईँबाट परिचालित छैन भनेर कसरी विश्वास गरूँ ?’
अधिकारीले प्रताप मल्ल नामक व्यक्तिले धम्की दिएको म्यासेजको स्क्रिनसट र अपशब्द प्रयोग गरिएको कमेन्टको स्क्रिनसट सेयर गरेका छन् । यो ह्याण्डलबाट ‘बलिदान’को भने टिजर सेयर गरिएको छ ।
अधिकारीलाई साथ दिए अभिनेता दीपकराज गिरीले । गत वर्ष ‘१२ गाउँ’ सँग भिडेका गिरीको सहानुभूति यसपालि ‘माइतीघर’ प्रति देखिएको छ ।
उनले बिहान स्टाटस लेखे, ‘आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्मलाई गाली गर्न लगाउने काम बन्द गरौँ । आफ्नो हिरो बाघ ! अरूको हिरो स्याल ! याद गरौँ, बाघ पनि जनावर नै हो !’
यो स्टाटस सन्तोष सेनप्रति नै लक्षित हो भनेर जो कसैले बुझ्न सक्छन् । सेनले ‘बलिदान’ का समीर भट्टलाई ‘बाघ’ भनेर परिचित गराउने गरेका छन् । त्यसपछि सन्तोष सेन गिरीमाथि आक्रामक तवरले खनिए ।
सेनले गिरीलाई नै फेसबुकमा मेन्सन गर्दै लेखेका छन्, ‘दीपकराज गिरी, तिम्रो सोचमा नै पाप छ । कसैलाई कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गर्ने जुन तुच्छ सोच पालेका छौँ, त्यो काम नगर । यी दर्शकको मायाले तिमी आज यहाँसम्म आइपुगेका छौँ, त्यसैले उनीहरूको भावनालाई कुल्चने अधिकार कसैलाई पनि छैन । हाम्रो बलिदानको पोष्टमा आउने नकारात्मक प्रतिक्रिया के तिम्रो समूहको हो ? तिमीलाई हार स्वीकार्य छैन, त्यसैले हामीले ठूला चुनौतीहरू मोलेर सिर्जना गरेका कामलाई पचाउन नसक्नु तिम्रो कमजोरी हो । दर्शकको भावनामा चोट पुर्याउँदै फेक अकाउन्ट बनाएर घटिया कमेन्ट गर्ने अनि उल्टै हामीलाई आरोप लगाउने सोचले कहिल्यै अगाडि बढाउँदैन । कलाकार र सिर्जनाकर्ताहरू बीच प्रतिस्पर्धा हुनुपर्छ, तर त्यो सिर्जनामा, कामको गुणस्तरमा ।’
यी दुई चलचित्रकर्मी बीचको लफडा भने गत वर्षबाटै सुरु भएको थियो । गत वर्ष दशैंको फूलपातीमै गिरीको ‘छक्का पन्जा ५’ र भट्टको ‘१२ गाउँ’ भिडेका थिए । त्यसबेला छक्का पन्जा टिमले सामाजिक सञ्जालमा हदसम्मको खेदाइ भोगेको थियो । आफूहरूलाई यसरी लखेटिनुमा कतै न कतै सेनको हात रहेको बुझाइ उनीहरूको छ ।
सेनले कालीमाता र पशुपतिनाथको कसम खाँदै आफूले अहिलेसम्म अरूलाई गिराएर आफैँलाई अगाडि बढ्ने पापी सोच नपालेको पनि उल्लेख गरेका छन् । सेनको स्टाटस लगत्तै गिरीले अर्को स्टाटस लेखे, ‘चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्यो चोरले । बिचरो न त व्यङ्ग्य बुझ्छ, न त बौद्धिकता थाहा छ । बुरुक्क बुरुक्क साँढे उफ्रे झैँ उफ्रिन्छ । माया लाग्छ ।’
यी दुई चलचित्रको ‘वाकयुद्ध’को बीचमा ‘हरिबहादुरको जुत्ता’ भने मौन देखिन्छ ।

Leave a Reply